सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

बौद्धिक बहसका लागि राष्ट्रिय चलचित्र कन्फेरेन्स

राजधानी समाचारदाता
3 months ago
02/09/2019

काठमाडौं। पछिल्लो समय नेपाली चलचित्रको बजार खस्किरहेको छ । चलचित्र चल्न छाडेका छन् । राम्रा चलचित्र बन्ने क्रम घटेको छ । चलचित्रको स्क्रिप्ट, कलाकारको अभिनयभन्दा कलाकारको पहिरन, लोकेसनको सुन्दरता र झकिझकाउलाई बढी महŒव दिन थालिएको छ । यस्ता विविध समस्यामा नेपाली चलचित्र उद्योग गुज्रिरहेको अवस्थामा काठमाडौं तीन दिवसीय ‘राष्ट्रिय चलचित्र कन्फेरेन्स’ आयोजना गरिने भएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईका अनुसार नेपाली चलचित्रबारे प्राज्ञिक बहस हुन सकिरहेको छैन । चलचित्र चलचित्र मनोरञ्जनको साधन मात्र नभएर यो कला र सिर्जना पनि भएकाले बौद्धिकवर्गमा यसको पनि बहस हुन आवश्यक भएकाले यो कन्फेरेन्स राखिएको पनि अध्यक्ष भट्टराईले राजधानीलाई बताए ।

‘नेपाली चलचित्रलाई एकथरीका बौद्धिकवर्गले हेर्ने गरेकै छैनन् । ती बौद्धिकवर्गको नजरमा नेपाली चलचित्र आफूहरूका लागि निर्माण नहुने गरेको टिप्पणी छ ।’ सोही कारण पनि नेपाली चलचित्रबारे बौद्धिकवर्गबीच पनि बहस हुनुपर्छ र उनीहरूका विचार पनि चलचित्रमा आउनुपर्छ भनेर यो कार्यक्रम आयोजना गर्न लागिएको पनि अध्यक्ष भट्टराईले जानकारी गराएका छन् ।

बोर्ड अध्यक्षका अनुसार कन्फेरेन्समा चलचित्र निर्माण, चलचित्रमा विभिन्न विषयको चित्रण र तीनको प्रभावबारे बहस हुनेछ । कन्फेरेन्समा चलचित्रसम्बन्धी कार्यपत्र प्रस्तुति, कार्यपत्रमाथि छलफल तथा चलचित्र क्षेत्रका जल्दाबल्दा विषयमा समूहगत छलफल तीन दिनसम्म चल्नेछ ।

यो कन्फेरेन्स यही २६, २७ र २८ भदौमा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ । चलचित्र विकास बोर्ड र मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा यो कन्फेरेन्स आयोजना हुने भएको छ ।

समीक्षक अनुप सुवेदीको संयोजकत्वमा हुने यो कन्फेरेन्समा चलचित्रकर्मी, चलचित्रका विज्ञ, चलचित्रको अध्ययन–अनुसन्धान गरिरहेका व्यक्ति, प्राध्यापनमा संलग्न व्यक्तिहरूले नेपाली चलचित्रका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यका बारेमा लेखेका एक दर्जन बढी कार्यपत्रको प्रस्तुति र छलफल गरिनेछ । सो अवसरमा वरिष्ठ चलचित्रकर्मीको ‘नेपाली चलचित्रमा अनुभव र अनुभूति’को प्रस्तुतिसँगै डा. हरि शर्माको नेपाली समाजको अर्थराजनीतिमा चलचित्रको महŒवका विषयमा ‘किनोट स्पिच’ समेत प्रस्तुत हुने संयोजक सुवेदीले जनाएका छन् ।

यो कन्फेरेन्समा नेपाल इन्डिपेन्डेन्ट फिल्म मेकर्स सोसाइटी, चलचित्र निर्देशक समाज, चलचित्र समीक्षक समाज, चलचित्र पत्रकार संघ नेपाल, अस्कर इन्टरनेसनल कलेज आदिको पनि सहकार्य रहनेछ । ‘यो कन्फेरेन्सले नेपालको बौद्धिक क्षेत्रका व्यक्तिहरूलाई नेपाली चलचित्रबारे अध्ययन–अनुसन्धान गर्न, बहसमा सहभागी बनाउन र चलचित्रलाई बौद्धिक क्षेत्रको चासोभित्र पार्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएका छौं । नेपालमा चलचित्र बन्न थालेको ६ दशकको इतिहासमा नेपाली चलचित्रबारे गहकिलो बहस, छलफल र विमर्श गर्न पहिलोपटक यस्तो कन्फेरेन्स हुँदै छ,’ संयोजक सुवेदीले भनेका छन् ।

आयोजक पक्षका अनुसार बौद्धिक समुदाय र सबै विधामा कार्यरत चलचित्रकर्मीबीच यस कन्फेरेन्समा विमर्श हुनेछ । यस्तो विमर्शले चलचित्रमा चित्रण गरिने विभिन्न विषय, दृष्टिकोण, विचार, प्रस्तुतीकरण आदिले आममानिसमा पार्ने प्रभावको अध्ययन–अनुसन्धान र त्यसबारे हुने छलफलले परिपक्व र कलात्मक चलचित्र निर्माणको वातावरण बनाउन सहयोग पुग्ने पनि आयोजक पक्षको विश्वास छ ।

‘अर्कोतर्फ नेपाली समाज बुझ्न नेपाली चलचित्रको अध्ययन, विश्लेषणले मद्दत हुने कुरा पनि यस्ता कार्यक्रमले स्थापित गर्नेछ । आममानिसलाई आफ्नो समाज बुझाउन र सौन्दर्य चेतना बढाउन कला साहित्यका अन्य विधासरह चलचित्रको पनि महŒव बुझाउन यस्तो कार्यक्रमले मद्दत पुग्ने विश्वास लिएका छौं,’ सुवेदीले भनेका छन् ।

(Visited 36 times, 1 visits today)
Loading comments...