शुक्रवार ६ मंसिर, २०७६ (Friday, 22nd November 2019)
६ मंसिर, २०७६ (22 November 2019)

उपनिर्वाचनको तयारीमा आयोग, कांग्रेस र राजपाबाहेकले दल दर्ता गर्नुपर्ने

महेश्वर गौतम
3 months ago
03/09/2019

५१ स्थानमा उपनिर्वाचन हुँदै
भदौ मसान्तसम्म दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । उपनिर्वाचनका लागि तयारी तीव्र बनाएको आयोगले दलको सहभागिताका लागि दर्ता आह्वान गरेको हो । आयोगले विभिन्न ५१ पदमा हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनका लागि भदौ मसान्तसम्म दल दर्ताका लागि समय दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपनिर्वाचनमा भाग लिन चाहने दलहरूले भदौ मसान्तसम्म आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गराउनुपर्ने बताए । २०७४ सालमा सम्पन्न तीनै तहका निर्वाचनमा भाग लिएका तर नाम फेरबदल नगरेका दलले भने उपनिर्वाचन प्रयोजनका लागि पुनः दर्ता गर्नुनपर्ने उनले जानकारी दिए ।
‘उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न भदौ मसान्तसम्म समय तोकिएको छ । २०७४ सालमा सम्पन्न तीनै तहका निर्वाचनमा भाग लिएका तर नाम फेरबदल नगरेका दलले भने उपनिर्वाचन प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्दैन,’ प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

आयोगको तथ्यांकअनुसार हाल निर्वाचन आयोगमा १ सय ३२ दल दर्ता छन् । त्यसमध्ये गत निर्वाचनमा चार दल राष्ट्रिय दलका रूपमा छन् भने प्रदेश स्तरमा ११ दलको प्रतिनिधित्व छ । यसैगरी, स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ वटा दल छन् ।
यसमध्ये नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले भने उपनिर्वाचन प्रयोजनका लागि आयोगमा पुनः दल दर्ता गर्नुपर्दैन । तर, उनीहरूले लेखापरीक्षण प्रतिवेदन भने बुझाउनु पर्नेछ ।
आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार २०७४ सालको निर्वाचनपछि एकीकरण भई नयाँ नाम कायम भएका र नयाँ दर्ता भएका दलले भने उपनिर्वाचन प्रयोजनका लागि अनिवार्य रूपमा दल दर्ता गराउनु पर्नेछ ।
दल दर्ताका लागि राजनीतिक दलले पार्टीको नाम, आयोगमा दर्ता भएको मिति, दलको पछिल्लो महाधिवेशन भएको मिति र स्थान तथा केन्द्रीय कार्यालय रहेको ठेगाना खुलाएर निवेदन दिनुपर्नेछ ।

 

पनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न भदौ मसान्तसम्म समय तोकिएको छ । २०७४ सालमा सम्पन्न तीनै तहका निर्वाचनमा भाग लिएका तर नाम फेरबदल नगरेका दलले भने उपनिर्वाचन प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्दैन
दिनेश थपलिया
प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयोग

यसैगरी, दलको केन्द्रीय पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन, केन्द्रीय महाधिवेशनको मिति, भाग लिन चाहेको उपनिर्वाचन (प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तह), यसअघि निर्वाचनमा प्राप्त गरेको चुनाव चिन्हको सट्टा अर्को चिन्ह लिन चाहे कुनै तीनवटा चुनाव चिन्ह र राजनीतिक दलको संगठनात्मक स्वरूप खुलाएर तोकिएको समयभित्र निवेदन दिन आयोगले दलहरूलाई अनुरोध गरेको छ ।

आयोगले दल दर्ता गर्न जाँदा दलको विधान, घोषणापत्र, निर्वाचन चिन्हको नमुना र सोको विद्युतीय प्रति, दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि आदि समावेश गर्न पनि अनुरोध गरेको छ ।
आयोगका अनुसार हाल प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४२ गरी कुल ५१ रिक्त पदका लागि उपनिर्वाचन गराउनुपर्ने देखिन्छ । आयोगले संकलन गरेको पछिल्लो तथ्यांकअनुसार उपनिर्वाचन गराउँदा ३६ जिल्लामा उपनिर्वाचन गराउनुपर्ने देखिन्छ । आयोगले उपनिर्वाचनका लागि कतिपय आवश्यक सामग्री पहिले निर्वाचनमा प्रयोग गरिएकालाई नै प्रयोग गर्न सकिने समेत जनाएको छ ।
यसैगरी, उपनिर्वाचन गराउन आयोगले करिब ३९ करोड रकम आवश्यक पर्ने बताउँदै आएको छ । हाल अर्थ मन्त्रालयले उपनिर्वाचनका लागि २५ करोड निकासा गरिसकेको छ । उपनिर्वाचनको तयारीका क्रमममा मतदाता नामावलीलाई अन्तिम रूप दिने कार्यमा आयोग अघि बढिरहेको प्रवक्ता खरेलले जानकारी दिए ।

(Visited 65 times, 1 visits today)
Loading comments...