शुक्रवार २९ कार्तिक, २०७६ (Friday, 15th November 2019)
२९ कार्तिक, २०७६ (15 November 2019)

रवि, विरोध प्रदर्शन र राजनीति

श्रीकृष्ण सुलु
2 months ago
11/09/2019

 

श्रीकृष्ण सुलु

संचारकर्मी रवि लामिछानेप्रति व्यापक जनउभार देखिएपछि कतिपयले रविलाई राजनीतिमा आउन, प्रधानमन्त्री बन्न र नेपालको इमरान खान बन्न माग गरे । यो सतहमा देखिएको कुरा हो तर धरातलीय यथार्थता भने भिन्दै छ । बजारमा खोटो सिक्काले असल सिक्कालाई विस्थापित गर्छ भन्ने ग्राहम्सको नियम नेपाली राजनीतिमा पनि देखा पर्न थालेको छ । खासगरी खराब संगठित हुने र असल संगठित नहुने, गरीबीका कारण वैचारिक स्वतन्त्रता नहुने, शक्तिमा हुनेले जे पनि गर्ने, अरुले ताली पिटे हुने, जनता सतमा रमाउने, समालोचनात्मक दृष्टिकोण नपच्ने समाजमा रुपान्तरण धेरै गाह्रो छ । त्यसैले यहाँ रविको जनउभारको अन्तर्य, नेपाली राजनीतिका चरित्र र आधार, राजनीति पीडित जनता र देशको नियतिबारे केही विश्लेषण गर्ने प्रयास गरिएको छ ।
मान्छे भौतिक उत्प्रेरणाले मात्र होइन, नैतिक उत्प्रेरणाले चल्छ । रविप्रतिको जनउभार देखिनुको मुख्य कारण रविको निष्ठा र कर्म नै हो । उत्पीडित जनताको पक्षमा बोलेकाले जनउभार उर्लिएको हो । पैसाले मात्र मान्छेलाई काम गराउन सकिन्छ, भीड जम्मा गर्न सकिन्छ भन्ने द्रव्यपिशाची नेताको लागि यो गतिलो झापड हो । मान्छे भौतिक उत्प्रेरणाले मात्र होइन, नैतिक उत्प्रेरणाले काम गर्छ भन्ने यथार्थ नबुझ्दा नेतृत्वले समाज धेरै दूषित पारिसके ।

नेताले ब्रह्मलूट गरिराख्ने अनि अरु चुप लागेर हेरेर बस्नु पर्ने अवस्थाको क्रियात्मक अभिव्यक्ति ससाना र भिन्न घटनाक्रमहरुमा अभिव्यक्त हुन थालेको छ । लोकतन्त्र भनेको नेताले ब्रह्मलूट गरिराख्ने अनि अरु चुप लागेर हेरेर बस्नुपर्ने व्यवस्था नै हो जस्तो गरी व्याख्या गर्न खोज्नेको लागि रविको पक्षमा भएको प्रदर्शन आफैमा ठूलो जवाफ भएको छ ।
रविप्रतिको जनउभार देखिनुको अर्को कारण राजावादीको निरन्तर साथ र सहयोग हो । राजावादीका केही स्वार्थ होलान् तर रविको पक्षमा हरेक हिसाबले राजावादीले सहयोग गरे । नेपाली जनताको बानी छ, जुलुसमा अलि धेरै मान्छे देखिएपछि आफू पनि सहभागी भइहाल्ने । एकदुई हजारको जुलुस देखेपछि त्यमा लाम थपिन थालिहाल्छ ।
ठुलो शक्तिको पछिलाग्ने पुरानोखालको सामन्ती शैली वा भेंडा शैलीको फाइदा पनि यस्ता प्रदर्शनमा देखिन्छ । यो शैलीले रविको समर्थनमा निस्किएको जुलुसमा मान्छे धेरै रहेछन् भनेर भोलि यसैलाई लिएर ठूलो पार्टी निर्माण हुन्छ र रविलाई जिताउन सकिन्छ भन्ने मानसिकताले पनि काम गरेको देखिएको छ । सायद यसैलाई भीडतन्त्र भनिएको होला पनि ।
हतियारको विरोध हतियारले मात्र गर्न सकिन्छ । संगठनको विरोध व्यक्तिले होइन, संगठनले मात्र गर्न सक्छ । राजनीतिको विरोध राजनीतिले मात्र गर्न सकिन्छ । त्यसैले व्यक्तिले दलहरुलाई हराउने र पछि पार्ने गर्न संभव छैन । संगठिक अल्पमतले असंगठित बहुमतलाई शासन गर्छ । दलीय व्यवस्था त्यही हो ।

 

भावनाले होइन, विचारले र आवेगले होइन, विवेकले काम गर्नु सबैको हितमा हुन्छ

संगठिक अल्पमतले असंगठित बहुमतलाई शासन गर्छ । संसदीय व्यवस्था त्यही हो

 

राजनीतिमा संगठित अल्पमतले असंगठित बहुमतलाई शासन गर्छ । नेपालमा नेपाली कांग्रेससँग ६ लाख संगठित सदस्य होला, नेकपा सँग ७ लाख होला, मधेसवादी अरु गरेर २ लाख होला । जम्मा १५÷१६ लाख जनता राजनीतिमा संगठित होला । तर त्यही १५÷१६ लाखले ३ करोड जनतालाई चलाउँछ, शासन गर्छ र गरिरहेछ । त्यसैले रविका पक्षका जनाता असंगठित हुनाले ठोस परिणाम ल्याउन गाह्रो छ ।
चुनावले शक्तिको अभिव्यक्ति दिन्छ भन्ने सत्य होइन । चुनाव भनेको घोषणापत्रको लडाइँ वा विचार र व्यवहारको प्रतिस्पर्धा होइन । यो त तैंले धेरै जागीर दिन सक्छस् कि मैले, तैंले धेरै पैसा खर्छ गर्न सक्छस् कि मैले, तेरो धेरै ‘मसल’ छ कि मेरो, तेरो धेरै मिडिया छ कि मेरो भन्ने मनी, मसल र मिडियाको प्रतिस्पर्धा हो । त्यसैले चुनावमा ३६५ दिनै गाली गरिएका नै जितेर आउँछन् । चुनावले शक्तिको अभिव्यक्ति दिन्छ, तर सत्यको अभिव्यक्ति दिंदैन । त्यसैले असलहरुले चुनावमा जित्न गाह्रो छ ।
आर्थिक मुक्ति विनाको मुक्ति झुठ्ठा हुन्छ । काठमाडौंमा हरेक चुनावमा अलि नयाँ परिणाम आउँछ किनभने यहाँका जनता अलि स्वतन्त्र छन्, कुन संगठनलाई मत दिने भन्ने पहिचान गर्न सक्छन् । तर अरु ठाउँमा जहाँ हात मुख जोड्ने समस्या छ, त्यहाँ वाक वा विचार अभिव्यक्तिको स्वतन्त्रता व्यवहारमा हुन्न । माथिकाले जे भन्यो त्यही तलकाको विचार हुन्छ । आर्थिक मुक्तिविना समयको मुक्ति, विचारको मुक्तिका कुरा गर्नु झुठ्ठा हो ।

रविलाई राजनीतिमा स्थान दिन कोही तयार छैनन् ।

रविलाई नयाँ पार्टी खोल्न पनि गाह्रो हुन्छ किनभने अरु ठुलो संख्यामा संगठित छन् । अनि इमान्दार झुठ्मुठमा टिक्न पनि सक्दैनन् । भएकै पार्टीमा पनि रविलाई कसैले सहयोग गर्नेवाला छैन । रविलाई स्थान दिन को तयार होला ? गगन थापा या योगेश भट्टराई कसले छोड्ला रविलाई भनेर । रबिले ५ लाख मत ल्याए ओलीले ५० लाख ल्याउने समाज हो हाम्रो । केही लाख मानिस दोषी छन् देश बिग्रनुमा । आधाभन्दा बढी प्रतिशत मानिस अरुको कुभलो मात्र चिताउँछन् । केही प्रतिशत मानिस तटस्थ हुन्छन् । ज्यादै थोरै प्रतिशतले मात्र सकारत्मक सोच्छन् । मूल कुरा नेतृत्व कस्तो छ भन्नेमा पनि भर पर्छ ।
जनता सबैभन्दा बढी राजनीति पीडित छन् । भूकम्प पीडित, बाढी पहिरो पीडित, आगलागी पीडितभन्दा पनि नेपाली जनता सबैभन्दा बढी राजनीति पीडित छन् । ००७ साल, ०४६ साल, ०६२÷०६३ साल आदिमा देखाएका सपना कहिले पनि नेताले पूरा गरेको छैन । समस्या ज्युँका त्युँ छन् ।

राजा, नेता र रविलाई समेत आफ्नै सहयोगी र सल्लाहाकारले गलत सल्लाह दिंदै गलत क्रियाकलाप गर्न लगाएर डुबाएको देखिन्छ । भावनाले होइन, विचारले र आवेगले होइन, विवेकले काम गरौं । हाम्रो जस्तो देशमा मनि, मसल र मिडियाको प्रभावमा केही मानिसलाई परिचालन गरी निर्वाचनमा विजयी हुने अनि फेरि सत्ताकै आडमा मनि, मसल र मिडिया कब्जा गरेर सत्तामा निरन्तर बसिरहने दुश्चक्र चलिरहन्छ । ३० वटा सिक्काको लोभमा जुदासले आफ्नै गुरुलाई मार्न लगाए जस्तै केही प्रलोभनमा परेर दीर्घकालिन हितलाई छोड्नु ठूलो समस्या हो । आफ्ना मान्छेले जे गरे पनि, जे भने पनि सही भन्ने र समालोचनात्मक दृष्टिकोण नराख्ने पनि अर्को समस्या हो । स्वार्थी नेता, पिछलग्गु कार्यकार्ता, शक्तिको पछि लाग्ने जनाता भएसम्म देश उँभो लाग्दैन । भावनाले होइन, विचारले र आवेगले होइन, विवेकले काम गर्नु सबैको हितमा हुन्छ ।

 

(Visited 213 times, 1 visits today)
Loading comments...