शुक्रवार २९ कार्तिक, २०७६ (Friday, 15th November 2019)
२९ कार्तिक, २०७६ (15 November 2019)

कश्मिर मुद्धा र नेपालकाे दृष्टिकोण

मनोज हमाल
2 months ago
11/09/2019

 

भारतले कश्मिरको बिशेसाधिकार खोसेको एक महिना भर्खर पुगिसकेको छ। केहि दिन अघि भारत सरकारले आफूले कश्मिरमा चालेको कदमबारे नेपाललाइ ब्रिफ़िङ्ग गरेको थियो भने पाकिस्तान सरकारले नेपाल सरकारसंग कश्मिर मुद्धाबारे स्पष्ट धारणा मागेको थियो । कश्मिर मुद्धामा नेपालको स्पष्ट भूमिका खोजेको थियो। दक्षिण एशियाका अन्य देश बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सले कश्मिर मुद्धालाई भारतको आन्तरिक मामिला भनिसकेका छन्। जबकि सरकारले केहि दिन अघि मात्रै बडो कुटनीतिक  तरिकाले कश्मिर विवादबारे आफ्नो धारणा राखे पनि त्यसपछि माल्दिव्समा भएको सम्मेलनमा भाग लिन गएका नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कश्मिर भारतको आन्तरिक मामिला भएको धारणा राखेको समाचार पनि बाहिर आएको थियो। । झन्डै एक महिना अघि भारत सरकारले कश्मिरको विशेषाधिकार खारेज गरेपछि पाकिस्तान र भारत सरकारबीच कश्मिरको मामलालाई लिएर दक्षिण एशियामा फेरी तनाब उत्पन्न भएको छ। तनाब गहिरो यो कारणले पनि छ कि भारत र पाकिस्तान दुवै नै परमाणु शक्तिसम्पन्न मुलुक हुन् र यदि केहि गरी दुवै देश बिचमा युद्ध भए र परमाणु अश्त्रको प्रयोग भए यो कुराले पुरै दक्षिण एशिया मै नसोचेको क्षती हुनेछ। पाकिस्तान कश्मिरको मुद्धालाई अन्तराष्ट्रिय स्तरमा जोड-तोडले उठाइरहेको छ भने भारतले यो मामलालाई आन्तरिक मामला भन्दै टारिरहेको छ।

कश्मिर विवादको जरो

प्राचिन कालदेखि हिन्दु र बौद्ध धर्मको केन्द्र रहेको कश्मिर सन् १३३९ मा मुस्लिम शाशकको नियन्त्रणमा आयो। पछि यो क्षेत्र सन् १५८६ देखि १७५१ सम्म मुगल साम्राज्यको अधिनमा रह्यो भने त्यसपछि सन् १८२० सम्म अफगानी शासकको नियन्त्रणमा रह्यो। पछि यो छेत्रलाई सिख राजा रन्जीत सिंहले आफ्नो नियन्त्रणमा लिए। लगत्तै सन् १८४६ मा जब प्रथम सिख-अंग्रेज युद्धमा सिख महाराजा पराजित हुन पुगे, कश्मिर ब्रिटिश इस्ट इंडिया कम्पनीको नियन्त्रणमा आयो। पछि राजा गुलाब सिंहले अंग्रेजसंग तत्कालिन ७५ लाखमा उक्त छेत्र हात पारे र त्यहाँ अंग्रेजको छत्रछायामा शाशन गर्न थाले।

अत्यधिक चर्को कर र मुसलमान बहुसंख्यक जनतालाई गरिएको विभेदका कारण सिख महाराजाहरुको शाशन काश्मिरका जनता बीच लोकप्रिय रहेन। लगत्तै दोस्रो विश्वयुद्ध पछि भारतले  अंग्रेजबाट स्वतन्त्रता पायो तर अंग्रेजले जादाजादै भारतलाई धर्मका आधारमा दुई नया मुलुक हिन्दुस्तान र पाकिस्तानमा बिभाजन गरेर गयो र त्यँहा रहेका सम्पूर्ण राज्यहरुलाई भारत वा पाकिस्तानमा मिल्ने वा स्वतन्त्र रहने अधिकार भयो। कश्मिरका राजाले भने तेस्रो विकल्प रोजे र स्वतन्त्र रहे।

तर स्वतन्त्रताको केहि समयमै त्यँहाको महाराजालाई नसोचेको परिस्थिति आइलाग्यो। पाकिस्तानले कश्मिर मुस्लिम बहुल राज्य भएको कारणले कश्मिर पाकिस्तानमै मिसिन आउछ भन्ने उसको बिचार तब टुक्रियो जब कश्मिरका महाराजले स्वतन्त्र रहने निर्णय गरे। त्यसको केहि समय लगत्तै जब पाकिस्तानले मुस्लिम गुर्रिल्लाहरुलाई हतियार र तालिम दिएर कश्मिरमा पठायो, स्थिति महाराजको नियन्त्रण बाहिर गयो र उनी भारतलाई सहयोग गुहार्न पुगे।  भारतले पनि महाराजालाई कश्मिर भारतमा आउन शर्त राख्यो र महाराजा पनि शर्त मान्न बाध्य भए। तर बदलामा कश्मिर छुट्टै स्वतन्त्र राज्य रहने, कश्मिरको आफ्नै स्वतन्त्र झन्डा र संविधान रहने, भारतीय कानुन र भारतीय सर्वोच्च अदालतको फैसला कश्मिरमा नरहने र कुनै पनि भारतीयले कश्मिरमा जग्गा खरिद गर्न नपाउने जस्ता सहमतिहरु महाराजा हरि सिंह र भारतीय पक्षसंग भए जुन हालसम्म पनि कायम रहेको थियो यद्धपि बिचमा कश्मिर धेरै समय अस्थिर र द्वन्दबाट गुज्रिरह्यो।

कश्मिरको वर्तमान अवस्था

पहिले छुट्टै स्वतन्त्र राज्य रहेको कश्मिरको भूभाग मध्ये झन्डै ४५% भारतको नियन्त्रणमा रहेको छ भने करिब ३५% पाकिस्तानको नियन्त्रणमा रहेको छ। बाँकी भूभाग या चीनको नियन्त्रणमा छ या विवादित छ। कश्मिरको बिषयलाई लिएर भारत र पाकिस्तान बीच चार पटक युद्ध पनि भएको छ। हालैमात्र भारतले कश्मिरलाई दिएको बिशेष सुबिधा र स्वशासित राज्यको दर्जा कटौती गर्दै कश्मिरलाई दुई टुक्रा बनाएको छ र उक्त भूभागलाई केन्द्र शाशित छेत्र अन्तर्गत राखेको छ।  भारतले यसलाई पूर्णता: आन्तरिक मामिला भनेको छ भने पाकिस्तानले भारतको यो कदमको बिरोध गर्दै यो मुद्धाको अन्तराष्ट्रियकरणमा लागिपरेको छ। मोदी सरकारको उक्त निर्णय लागू भएको झन्डै एक महिना बितिसक्दा पनि कश्मिर पहिलाको जस्तो सामान्य स्थितिमा आउन सकेको छैन। बिद्यालय र पसलहरु पूर्णरूपमा खुलेका छैनन् भने सार्बजनिक सवारिसाधनहारू पूर्णरूपमा चल्न सकेका छैनन्। भर्खरै घटेका रोचक घटना त के छन् भने भारतको सर्वोच्च अदालतले मोदी सरकारलाई यो कदमको कारण देखाउ आदेश दिदै बिपक्षी दल र विदेशी विद्यार्थीलाई कश्मिरमा जान दिन भनेको छ भने पाकिस्तान सरकारका एक जना मन्त्रीले सो घटनाका कारण पाकिस्तानले भारत माथि युद्ध गर्न सक्ने जानकारी दिएका छन्।

तीन ‘ज’ को लडाई

कश्मिर विवादको पहिलो मुख्य पक्ष भनेको पहिलो ‘ज’ अर्थात ‘जमिन’ हो । कुल २,२२,२३६ वर्ग किलोमीटर क्षेत्रफल  भएको कश्मिरको (दुवै भारत र पाकिस्तान प्रशाशित कश्मिर जोडेर)  धेरै जसो भूभाग अफ्ठ्यारो चट्टानी भूभाग, हिमशृंखला र हिउँले ढाकिएको छ। यो भूभागमा समथर र खेतियोग्य जमिन कम भएपनि यहाँ रहेका हिमाल, ताल, नदीनाला, हिमनदी, आदिका मनोरम दृश्यहरुले गर्दा यसको पर्यटकीय सम्भावना अत्यधिक छ। अझ सिधा कुरा गर्ने हो भने यहाको जमिन धेरै र जनसंख्या थोरै – झन्डै एक करोड साठी लाख छ (दुवै भारत र पाकिस्तान प्रशाशित कश्मिर जोडेर)। तसर्थ यो भूभाग दुवै देशको महत्वको बिषय रहेको छ।

अर्को ‘ज’ भनेको चाहि ‘जल’ हो । पाकिस्तानको मेरुदण्ड सिन्धु (इन्दुस) नदि हो। यो नदि तिब्बतको कैलाश पर्वत मानसरोवर छेत्र आसपास उत्पति भई लद्धाख,  भारत प्रशाशित कश्मिर, पाकिस्तान प्रशाशित कश्मिर र पुरै पाकिस्तान हुदै बगेर कराँचीमा हिन्द महासागरमा मिसिन्न्छा। सिन्धु पैस्तान्को सबै वन्द ठुलो, लामो र राष्ट्रिय नदी हो । यो नदि बाहेक बिअस, चेनाब र जेह्लम सिन्धु नदीका मुख्य सहायक नदि हुन् जुन भारत प्रशाशित कश्मिर हुदै बग्छन्। यसर्थ यदी केहि गरेर भारत र पाकिस्तान बीच युद्ध अथवा एकदमै घृणित हदसम्मको वैमनस्यता अायो भने यी नदीहरुको धेरै जसो पानि भारतले आफ्ना राज्यहरु पुन्जब र हर्याना तिर लान सक्क्ष। वा यी नदीहरुमा बाँध बाँधेर आफ्नो अनुकुल पाकिस्तानमा बाढी वा खडेरी जे सुकै पनि ल्याउन सक्छ।यो परिस्थितिले पुरै पाकिस्तानमा भयाबह को स्थिति सिर्जना गर्दिन सक्क्ष। यद्धपि दुवै मुलुक बिचमा पानीको बाँडफाड र उपयोग बारे सन् १९६० मा ‘सिन्धु सम्झौता’ भएको छ।

अर्को ‘ज’ भनेको ‘जुँगा’ हो। कश्मिरको बिबाद र लडाई ‘जुङ्गाको’ लडाई यस मानेमा पनि हो कि यही कश्मिर बिषयलाई लिएर पाकिस्तान र भारतबीच चार-चार पटक युद्ध भैसकेको छ। अझ सन् १९७१ मा कश्मिरलाई लिएर भएको भारत-पाकिस्तान बीचको युद्धको असर यतिसम्म रह्यो कि पाकिस्तानले आफ्नो पूर्बी पाकिस्तान (हालको बंगलादेश) मा चलेको गृहयुद्ध धान्न सकेन र पाकिस्तानबाट बंगलादेश स्वतन्त्र रहन गयो। पाकिस्तानबाट बंगलादेश टुक्रिनुको मुख्य कारण भनेको भारतको बंग्लादेशप्रतिको प्रतक्ष्य र अप्रतक्ष्य सहयोग थियो।  दुवै देशका जनता कश्मिर मुद्धाप्रति ज्यादै नै संवेदनशील छन् र यो मुद्धाले दुवै देशको राजनीति र चुनाबमा समेत ठुलो महत्व राख्दछ। बेलाबेला  दुवै मुलुकका सरकार एक अर्कामा हाबी रहेको तर्क दिईराख्छन । भारत र पाकिस्तान बीच भएका पहिलेका विभिन्न युद्धहरु दुवै देशहरुले आफुले जिते भनेर दाबि गर्नु पनि यसकै उदाहरण हो ।

अन्तराष्ट्रीय कुटनीति : बलियो भारत   कमजोर पाकिस्तान

भारतले जब आफू काश्मिर राज्यको विशेष दर्जा खारेज गर्दै केन्द्र प्रशाशित छेत्र भनेर घोषणा गर्यो, त्यसको केहि समयमा नै पाकिस्तानले यो घटनाको अन्तराष्ट्रियकरण गर्यो। यद्धपी सोचेअनुरुप सफल हुन सकेन। चीन, अरबियन राज्य र संयुक्त राष्ट्र संघले केहि चासो देखाए पनि विश्वका धेरैजसो देश भारतकै पक्ष्यमा उभिएको देखिए। यस्मा मुख्यतया दुई कारण छन् : एक भारतको बलियो परराष्ट्र कुतिनिती र विश्वका विभिन्न देशहरुसंग भारतको ब्यापारिक सम्बन्ध। अर्को चाहि पाकिस्तानको कम्जोर कुटनीति र पाकिस्तानलाई आतंकबादसंग जोडेर विश्वले हेर्ने नजर। यद्धपी पाकिस्तानले आफ्नो देशको आतंकबादी संगठनसंग कुनै साँठगांठ  नरहेको दाबि गर्दै आएको छ।

 कश्मिर मुद्धामा नेपाली चासो

कश्मिर विवाद नेपालका लागि अभिन्न चासोको बिषय हो। कश्मिर छेत्र दक्षिण एशियाको एक महत्वपुर्ण छेत्र रहेकोले त्यस छेत्रको शान्ति, विकास र प्रजातन्त्रमा नेपाल प्रतक्ष्य अप्रतक्ष्य दुवै रूपमा जोडिएको छ। नेपालले कश्मिर मामिलालाई तीन नजरले हेर्न जरूरी छ।

पहिलो कश्मिरमा झन्डै एक लाख भन्दा बढी नेपालीहरु/नेपाली मुलका मानिसहरु बस्दै आइरहेका छन्। उनीहरुको सुरक्षा र आबश्यकता पनि नेपाली चासोको बिषय हो। अर्को छ, भारतीय सेनामा भर्ति भएका हजारौ गोर्खा सैनिकहरु जो भारत र पाकिस्तान बीच युद्ध भैहाल्यो भने प्रतक्ष्य रूपमा प्रभावित हुनेछन र फलस्वरूप नेपाल पनि प्रभावित रहनेछ।

र तेस्रो, नेपाल सार्कको एक महत्वपुर्ण सदस्य हो र सार्कको सचिबालय पनि काठमाडौँमा नै छ। तसर्थ नेपालले यो मामिलामा समदूरीको सिद्धान्त अपनाउदै तटस्थ बसी पाकिस्तान र भारत बीचको आपसी समझदारी र वार्तालाई जोड दिदै  सिंगो  दक्षिण एशियाको  शान्ति, बिकाश र प्रजातन्त्रमा जोड दिनुपर्छ। र यसको लागि नेपाल निकै नै संयम, कुटनितिक र चनाखो हुन जरूर छ। यसलाई नेपालले भारतको आन्तरिक मामिला र पाकिस्तान को निजि मामिला भनेर नकार्न मिल्दैन।

(अंग्रेजी शिक्षाशास्त्र राजनीति शास्त्रमा स्नातकोत्तर गरिरहेका हमाल निमा पुस्तक प्रकाशनका वरिष्ठ सम्पादक हुन्)

(Visited 283 times, 1 visits today)
Loading comments...