शनिवार २८ मंसिर, २०७६ (Saturday, 14th December 2019)
२८ मंसिर, २०७६ (14 December 2019)

नेपाल स्काउटको जग्गा निजी कम्पनीको कब्जामा : पदाधिकारीकै संलग्नतामा १६ रोपनी जग्गा अतिक्रमण

केशवप्रसाद पाण्डे
2 months ago
19/10/2019

काडमाडौं । नेपाल स्काउटका तत्कालीन पदाधिकारी र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको मिलेमतोमा लैनचौरस्थित स्काउटका नाममा रहेको १६ रोपनी जग्गा अतिक्रमणमा परेको खुलासा भएको छ । स्काउटका तत्कालीन पदाधिकारीलाई प्रभावमा पारेर कम्पनीले स्काउटको जग्गा कब्जामा लिएर आफ्नो स्वार्थअनुसार प्रयोग गरिरहेको पाइएको हो ।
काठमाडौं महानगरपालिका–२९ लैनचौरस्थित स्काउटको प्रधान कार्यालयसँगै रहेको सरकारी जग्गा भाडामा लगाउने क्रममा यस्तो अनियमितता भएको खुलेको हो । कम्पनीले भाडामा लिने क्रममा ३ रोपनीमा सम्झौता गरेको थियो तर स्काउटकै पदाधिकारीको मिलेमतोमा अवैध रूपमा अन्य ११ रोपनीभन्दा बढी जग्गासमेत उपयोग गर्दै आएको पाइएको छ ।

अवैध रूपमा उपयोग गरिँदै आएको सो जग्गाअन्तर्गत पाँच रोपनी नौ आनामा कम्पनीले लैनचौर बैंक्वेट नामको पार्टी प्यालेसको संरचना निर्माण गरी सञ्चालनमा ल्याएको छ । त्यस्तै, पार्टी प्यालेसका साथै माई च्वाइस रेस्टुरेन्ट एन्ड बारसमेत सञ्चालन गरी खाली स्थानलाई पार्किङका रूपमा उपयोग गरिरहेको छ भने पार्किङबापत रकम असुलिरहेको छ । स्काउटले सोही जग्गा भाडामा लगाएर आन्तरिक स्रोत व्यवस्थापन गर्दै आइरहेको जनाएको छ । लैनचौरमा स्काउटको नाममा २६ रोपनी जग्गा रहेको छ । विवादित १६ रोपनीबाहेकका जग्गामा बनेका संरचनासमेत खड्का ल्यान्डले भाडामा लिएको देखिन्छ ।

 

–तीन रोपनी भाडामा लिएर थप १३ रोपनी जग्गा उपयोग
– स्काउटका पदाधिकारीको संलग्नतामा अवैध रूपमा पाँच वर्ष म्याद थप
–आर्थिक चलखेलको आशंका

जग्गाका सम्बन्धमा विवाद बढेपछि सम्पर्क मन्त्रालय युवा तथा खेलकुद मन्त्रालयले समेत गत माघ महिनामा छानबिन गरी सम्झौताभन्दा बढी जग्गा अवैध रूपमा उपयोग गरेको ठहरसहितको प्रतिवेदन तयार पारेको थियो । सोही प्रतिवेदनका आधारमा मन्त्रालयले सम्झौता गरेको भन्दा बढी क्षेत्रफलमा बनेका संरचना भत्काउन, अतिक्रमणमा परेका जग्गा खाली गर्न र संलग्न पदाधिकारीलाई कारबाही गर्न निर्देशन दिएको थियो । तर, हालसम्मका पदाधिकारीहरूले यसबारे चासो नदिएको पाइएको छ । स्काउटका निर्देशक रामप्रसाद भट्टराई करार अवधि सकिएपछि जग्गा स्काउटकै उपयोगका लागि प्रयोग गर्न लागिएकोमा कम्पनीले अवरोध गरेको बताँउछन् । ‘१० वर्षसम्म कम्पनीले सम्झौता गरेको भन्दा बढी जग्गा उपयोग गर्दै आएको देखिन्छ । तर, यसअघिका पदाधिकारीले यसबारे कुनै चासो दिएको पाइएन,’ भट्टराई भन्छन् ।
स्काउटको नाममा रहेको २६ रोपनी जग्गा स्काउटले २०६५ सालमा टेन्डर आह्वान गरी १ भदौ २०६६ बाट लागू हुनेगरी १० वर्षका लागि जग्गा भाडामा दिने सम्झौता गरेको थियो । सम्झौताको अवधि गत साउन मसान्तमा सकिएको छ । तर, कम्पनी र स्काउटका तत्कालीन पदाधिकारीहरूको संलग्नतामा अवैध रूपमा गुपचुप रूपले पाँच वर्ष थप गरिएको पाइएको छ ।

तत्कालीन पदाधिकारीहरूको शंकास्पद भूमिका

राजधानीलाई प्राप्त प्रमाणअनुसार सम्झौताको तीन वर्षपछि २१ साउन २०६८ मा बसेको स्काउट पदाधिकारी बैठकबाट सम्झौता अवधि बाँकी हुँदै पाँच वर्ष समय थप गरेको पाइएको छ । यसरी थप गर्दा ठूलै चलखेल भएको अनुमान गरिएको छ । स्रोतका अनुसार यस निर्णयमा तत्कालीन प्रमुख आयुक्त श्रीराम लामिछाने, निर्देशक गौतम अधिकारीलगायतको शंकास्पद भूमिका पाइएको छ । २१ साउनमा बसेको बैठकको ४ नम्बर बुँदामा सो जग्गाको लिज अवधि १५ वर्ष उल्लेख गरेको पाइएको छ । कम्पनीले सोही आधारमा सम्झौता बाँकी रहेको भन्दै ठाउँ खाली गर्न अटेर गर्दै आएको छ ।

कम्पनीले यसैलाई आधार मानेर जिल्ला अदालतमा मुद्दा दाएर गरेको थियो । अदालतको आदेशबाट १५ वर्ष करार अवधि सदर गरेको छ । स्काउटले भने जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । ‘हामीले अदालतको आदेशबाहेक ११ रोपनीभन्दा बढी जग्गा खाली गर्न भने पनि कम्पनीले मानेको छैन,’ निर्देशक रामप्रसाद भट्टराईले राजधानीसँग भने । यसबारे बुझ्न खोज्दा कम्पनीका प्रतिनिधिसँग सम्पर्क हुन सकेन ।

(Visited 96 times, 1 visits today)
Loading comments...