शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

सुनैनाले देखेको मिथिला कला

ध्रुव लम्साल
2 months ago
19/10/2019

थोरै विद्रोह अलिअलि पारिवारिक सदभाव । सुनैना ठाकुरलाई आफ्नो मनले चाहेको काम गर्ने वातावरण त्यही परिवेशले दियो । छोरी– बुहारीलाई सकेसम्म घुम्टोभित्र राख्न चाहने मधेसी समुदायमा जन्मेकी सुनैनाको चित्रकलाप्रति रुचि थियो । चित्रकारिताका आधारभूत सीप सिक्दै जाँदा ‘लिडरसिप टे«निङ’ पनि लिइन् । ती दुवै प्रशिक्षण एक अर्काका लागि परिपूरक बने ।

‘लिडरसिप टे«निङ’ लिएर मात्रै समग्र महिलाको क्षमता विकास सम्भव थिएन । आफूजस्तै अरूलाई पनि क्षमतावान् बनाउने उनको चाहना थियो । आफूले टे«निङ लिएपछि टे्निरङ आयोजनाका लागि कम्तीमा १५ जना महिला जम्मा गर्नुपर्ने भयो । वल्लो घर । पल्लो घर । नातेदारको घर । हल्का चिनेको घर । सबै ठाउँमा पुगिन् र भनिन्, ‘तपाईंको घरका छोरी–बुहारीलाई तालिममा पठाइदिनुस् न ।’

समाज बुझेर अभिभावकलाई समेत गुहारिन् तर छोरी चेलीको क्षमता वृद्धिको सवालमा धेरै अभिभावक मौन रहे । कतिले त घरभित्र आफ्ना छोरीचेलीलाई हकारे पनि, ‘यस्ता तालिम लिने हैन ।’ सुनैना भन्छिन्, ‘मलाई १० जना जम्मा पार्न पनि निकै मुस्किल प¥यो ।’ त्यति मात्रै होइन ‘यो सुनैनाले मेरा छोरी–बुहारीलाई बिगार्ने भई’ भनेर गाली पनि गरे ।

सुनैना ठाकुरलाई अहिले पनि बेलाबेलामा ती पुराना प्रसंगको सम्झना आउँछ अनि आफंै समीक्षा गर्छिन्, ‘समाज किन पछि प¥यो ? विशेषतः मधेसी महिला अझै किन पीडित छन् ?’ मधेसमा छोरीचेलीलाई सकेसम्म घरबाहिरको काममा नपठाउने पुरानै संस्कार हो । त्यही समाजमा हुर्किएकी सुनैनाले कलाकारितामा लाग्दा एकखालको  ‘विद्रोह’ नै गर्नुपरेको थियो । परिवारका सदस्यले मन कटक्क पारीपारी भए पनि उनको यात्रामा अवरोध गरेनन् । आफूले केही जानेपछि अन्य छोरीचेलीलाई पनि आफू जस्तै बनाउने प्रयास गर्दा भने निकै संघर्ष गर्नुप-यो ।

ललितकलाको विविध विषयमध्ये मिथिला कलाको विशेष महत्व छ । मिथिला कला नेपालको मौलिक र पुरानो कला हो । यो केवल कला मात्रै नभएर व्यवसायसँग पनि जोडिएको छ । मधेसी समुदायको घर सजावटमा मात्रै यो कलालाई निरन्तरता दिने हो भने धेरै स्थानीय रोजगारका हकदार बन्छन् भन्ने लाग्छ सुनैनालाई । कुनै समय घरको सजावटमा मात्रै सीमित यो कलालाई सुनैनाले क्यानभासमा उतारेर विदेशी सहरका महँगा ग्यालरीमा सजाइसकेकी छन् ।

उनी भन्छिन्, ‘मिथिला कलामा एउटा परम्परा र रिवाज छ । तीमध्ये कति कुरा हराइसके । अहिले म तिनै हराएका प्रसंगलाई जिउँदो राख्ने प्रयासमा छु ।’

सुनैनाको मिथिला कलाको प्रारम्भ आफ्नै घरको भित्तामा देखिने चित्रबाट भएको थियो । उनी सानै थिइन् । मधेसमा कंक्रिटको बोलवाला थिएन । माटोको भित्तो र टायलको छाना । प्रायः एकै प्रकृतिका घर हुन्थे । त्यही माटोको भित्तामा उनका आमा र हजुरआमाले विभिन्न आकृति बनाउँथे । ती आकृतिमा कलासँगै आमा र हजुरआमाको भावना पनि अभिव्यक्त हुन्थे । आमा र हजुरआमाले जस्तै सुनैनाले पनि प्रारम्भमा त्यही गिलो माटोले मनलाई चित्रमा उतारिन् । उनलाई थाहा थिएन । घरको भित्तोमा उनले बनाएको मान्छे, हात्ती, चरा र फूल कला भयो कि भएन ? अहिले उनले क्यानभासमा उतारेका त्यही परम्परागत मिथिला चित्र उम्दा कला बनेर विदेशका महँगा ग्यालरीमा  सजिएका छन् ।

 

सुनैनाको मिथिला कलाको प्रारम्भ आफ्नै घरको भित्तामा देखिने चित्रबाट भएको थियो । उनी सानै थिइन् । मधेसमा कंक्रिटको बोलवाला थिएन । माटोको भित्तो र टायलको छाना । प्रायः एकै प्रकृतिका घर हुन्थे, कुनै समय घरको सजावटमा मात्रै सीमित मिथिला कलालाई सुनैना ठाकुरले क्यानभासमा उतारेर विदेशी सहरका महंगा ग्यालरीमा सजाइसकेकी छन्

 

उनमा कलाप्रति गहिरो अभिरुचि थियो । तर, कसरी सुरु गरेर अन्त्य गर्ने भेउ पाएकी थिइनन् । कक्षा ९ मा पढ्दै थिइन् । एउटा पाठ थियो, मिथिला कला । त्यही बेला दुई दिने कला वर्कसपमा भाग लिइन् । वर्कसपको अन्तिम दिन प्रतिस्पर्धात्मक कार्यक्रममा प्रथम भइन् । आज यो स्थानमा आउनुमा त्यो दुई दिने वर्कसपले एउटा दिशा दिएको उनको बुझाइ छ । उनलाई लाग्यो, ‘अब म कला क्षेत्रमै लागेर केही गर्छु ।’ उनको भेट भयो मीना शर्मासँग । शर्मा वुमन लिडरसिप ट्रेनिङ दिन्थिन् । शर्माले भनिन्, ‘ठीक छ, तिमी अघि बढ, म सघाउँछु ।’

कलाकारितासँगै लिडरसिप ट्रेनिङ लिएकी र दिएकी सुनैनालाई नेपालकै पुरानो कला मानिने मिथिला कलाबारे राज्यले अझै चासो दिएजस्तो लाग्दैन । कलाको एक मात्र औपचारिक शिक्षालय ललितकला क्याम्पसमा अहिले पनि मिथिला कलाबारे कुनै चर्चा हुँदैन । हिजो एकात्मक राज्य थियो । सिंहदरबारले मिथिला कलाबारे बुझेन वा बुझ्न चाहेन । संघीय सरकारले समेत आफ्नै आँगनको कलावबरे चासो नदिएकोमा उनलाई अचम्म लागेको छ ।

अमेरिका, जापानलगायतका मुलुकमा सुनैनाले आफ्नो कला प्रस्तुत गरेकी छन् । ती प्रदर्शनी उनले आफ्नै पहलमा सम्पन्न गरेकी हुन् । सुनैनाको अनुभवले भन्छ, ‘मधेसमा मिथिला कलाबारे जानकारी राख्नेहरू धेरै छन् ।

गाउँगाउँमा कलाकार भेटिन्छन् तर तिनको कला घरको गेटबाहिर पुग्न सकेको छैन । ‘वास्तवमै यो कलाको विकास गर्ने हो भने गाउँगाउँका कलाकार जम्मा पारेर प्रशिक्षण दिनुपर्छ ।’

उनी भन्छिन्, ‘मिथिला कलामा संलग्नलाई व्यवस्थित गराउने हो भने धेरैलाई आत्मनिर्भर बनाउन सकिन्छ ।’
जनकपुरको जानकीमन्दिर र काठमाडौको ठमेलमा ग्यालरी स्थापना गरेकी सुनैनाले केही महिलालाई काम पनि दिएकी छिन् । आफ्नै प्रयासले मात्रै समग्र मिथिला कलाको प्रचार सम्भव छैन भन्नेमा उनी सचेत छिन् । उनलार्ई लाग्छ ‘एउटा कार्यालयमा एउटा पेन्टिङ झुन्ड्याउने व्यवस्था गर्ने हो भने कलाको प्रचार र कलाकारलाई रोजगारी दुवै सम्भव छ ।’

 

(Visited 77 times, 1 visits today)
Loading comments...