राजधानी समाचारदाता
2 months ago
0
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले वर्तमान शिक्षा प्रणालीका कारण बेरोजगारको संख्या बढेको दाबी गरेका छन् ।
मुख्यमन्त्री गुरुङले सुन्दरबजार नगरपालिका– ९ को भोटेओडारबजार स्थित भक्ति आदर्श बहुमुखी क्याम्पसले आयोजना गरेको शैक्षिक धार्मिक तथा साँस्कृतिक महाहोत्सव श्रीमद्भागवत विराट ज्ञान महायज्ञको उद्घाटन गर्दै त्यस्तो बताएका हुन् । ‘नेपालको शिक्षा नीति तथा प्रणाली ठिक नहुँदा हामीले दुःख पाएका हौं, भन्दै अहिलेको शिक्षा पद्दती उत्पादन गर्ने केन्द्र बनेको छ’, उनले भने ।
मुख्यमन्त्री गुरुङले भने, ‘नेपालको शैक्षिक प्रणाली समयको माग अनुसार परिर्वतन हुन नसक्दा विद्यार्थीहरूको हातमा सर्टिफिकेट मात्रै छ, सीप छैन, बेरोजगारको सख्या प्रतिदिन बढ्दै छ । समय अनुसार शिक्षा प्रणाली परिवर्तन गर्दै लैजानुपर्छ । हामी त्यसप्रति सचेत छौं ।’ गुरुङले विज्ञान र प्रविधिले फड्को मारेको वर्तमान समयमा समयसापेक्ष रुपमा प्रदेश सरकारले काम गर्ने बताए ।
उनले प्रदेश सरकारले स्थापना गर्न लागेको प्रादेशिक विश्वविद्यालयले सीपमुलकका साथ रोजगारमुलक शिक्षा दिने बताए । पाँच वर्षभित्रको छोटो अवधिमा बेरोजगारी समस्या समाधान सम्भव छैन भन्दै उनले डोनाल्ड ट्रम्प, चिनको सि जिनपिङले गर्न नसकेको काम नेपालका केपी ओली, पृथ्बीसुब्बा गुरुङले गर्न सक्छ ? भन्ने प्रतिप्रश्न गरे ।
कार्यक्रममा नेकपाका गण्डकी प्रदेशका प्रमुख सचेतक एवम् प्रदेशसभा सदस्य मायानाथ अधिकारी, प्रदेशसभा सदस्य धनन्जय दवाडी, नेपाल बौद्ध महासंघका उपाध्यक्ष खेन्पो कमल भण्डारी, महायज्ञका प्रमुख कथा वाचक बालयोगेश्वर महाराज लगायतले शुभकामना व्यक्त गरेका थिए ।
उक्त क्याम्पसका अध्यक्ष एवम् भक्ति आदर्श बहुमुखी क्याम्पस महायज्ञ मूल आयोजक समारोह समितिका संयोजक धु्रवबहादुर कुवँरले क्याम्पसको निर्माणाधीन भवनलाई सम्पन्न गरी स्नातोकोत्तर तह संचालन गर्ने, शैक्षिक गुणस्तर वद्धि गर्ने र क्याम्पसलाई कम्पाउण्डिङ गर्ने उद्धेश्यले महायज्ञ संचालन गरिएको जानकारी दिए ।