मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

भ्रष्ट आचरणको पराकाष्ठा

डा. देवीप्रसाद आचार्य
2 weeks ago
07/11/2019

डा. देवीप्रसाद आचार्य

विश्वविख्यात कार्ल कोरसले समाजमा भ्रष्ट आचरण अत्यन्तै खराब हुने भएको र यसले नैतिक पतन गराउनुका साथै सम्पूर्ण देशको नैतिकता नै ध्वस्त पार्ने उल्लेख गरेका छन् । अहिले राज्यको माथिल्लो तहसम्म पुग्ने राजनीतिक नेतागण, उच्चपदस्थ कर्मचारी एवं आफ्नो दुनो सोझ्याउन घुस दिने सेवाग्राहीको आचरणबाट समाज आन्दोलित बनेको छ । निराश भएको छ । राज्य सञ्चालन गर्ने पदाधिकारी विभिन्न काण्डमा मुछिएका छन् । राज्यका उच्चपदस्थ व्यक्तिहरू वाइडबडी जहाज प्रकरण, सुन प्रकरण, एनसेन काण्ड, फोरजी प्रकरण, बालुवाटार जग्गा काण्ड, अर्बांैका भ्रष्टाचार, जिउँदा मानिसलाई इँटा भट्टामा जलाएर मार्नेलगायतका प्रकरणमा संलग्न भएका समाचार आउने गरेका छन् । यसरी हेर्दा अहिले हाम्रो समाजको अवस्था कार्ल कोरसले भनेझैं नैतिक रूपमा ओरोलो लाग्दै गएको त छैन ?

सन २००४ देखि ट्रान्सपरेन्सी इन्टरनेसनलले हरेक वर्ष प्रकाशन गर्ने भ्रष्ट मुलुकको सूचीअनुसार नेपाल भ्रष्टाचार बढ्दै गइरहेका देशको सूचीमा परेको छ । दक्षिण एसियाका २७ वटा देशमा नेपाल तेस्रो भ्रष्ट मुलुकमा पर्छ । विद्वान् पे्रmड रिग्सले बलियो राजनीतिक संस्थाको अभावमा जतिसुकै राम्रो शिक्षा तथा तालिम पाएका व्यावसायिक कर्मचारी भए पनि तिनीहरूमा राम्रो सेवा दिने प्रेरणा हुँदैन भन्ने धारणा राखेका छन् । हाम्रो देशको सन्दर्भमा फ्रेड रिग्सले भनेझंै इमानदार राजनीतिक व्यक्ति एवं व्यक्तित्वको अभावका कारण प्रशासनतन्त्र भ्रष्टाचार मुक्त हुन सकेको छैन । राज्य इमानदार भएको भए प्रशासनतन्त्र पनि इमानदार हुने थियो । समाजका अन्य निकायहरू अनुशासित हुने थिए ।

जीवमध्ये मानिस नै विशिष्ट प्राणी हो, जसको मस्तिष्क अन्य प्राणीका तुलनामा निकै विकसित छ । पृथ्वीका अन्य जीवहरू प्रकृतिमा नै पूर्ण रूपमा आश्रित छन् । प्रकृतिमा जे जस्ता स्थल वा गुफा छन्, तिनीहरू त्यहीँ बस्छन् । फलफूल र जीवजन्तुको सिकारबाट आहार प्राप्त गर्छन् । अन्य बाह्य साधनको प्रयोग नगरी आफ्नै शरीरका अंगबाट आत्मरक्षा गर्नु तिनको सामथ्र्य हो तर मानिसको सामथ्र्य निकै विशाल छ । उसले आफ्नो ज्ञान र श्रमद्वारा प्राकृतिक संशाधन र स्रोतलाई आफ्नो अनुकूल बनाउँदै आएको छ । उसले आपूmले खाने विभिन्न प्रकारका खाद्यपदार्थको उत्पादन गरेको छ । आत्मरक्षा र अन्य निर्माण कार्यका लागि उसले शस्त्रअस्त्र बनाएको छ ।

यसैगरी, २१आंै शताब्दीको दोस्रो दशकसम्म आइपुग्दा विकास भएका विज्ञान र प्रविधिको उपलब्धि हेर्दा मानिसको मगज चामत्कारिक देखिन्छ । औषधि विज्ञानको क्षेत्रमा विभिन्न रोग पत्ता लगाई निदान गर्न पनि मानिस सफल भएको छ । उसका सिर्जनात्मक क्षमता, ज्ञान एवं सीपले वास्तवमा आजको युग चामत्कारिक बनेको छ । वैज्ञानिक भएको छ । मानिसले तर्कशक्तिका आधारमा ठीक र बेठीक छुट्याउन सक्ने सामथ्र्य पनि राख्दछ । परन्तु, विकासले निर्माण गरेका सुविधा उपलब्ध गर्न र गराउन आजको मानिम भ्रष्ट बन्दै गएको दृष्टान्तहरू छरप्रस्ट भएका छन् ।

जसरी मानिसले सिर्जना गर्न सक्छ, त्यसरी नै आफ्नो क्षमतालाई भ्रष्ट बाटो उपयोग गर्न थाल्यो भने यसले व्यक्ति, समाज र सिंगो राष्ट्रलाई तहसनहस पार्न सक्ने खतरा रहन्छ । विश्वजगतमा वैज्ञानिकले धेरै रोगहरूको औषधि पत्ता लगाएका छन् । उनीहरूले मानसिक रोगको औषधि पनि बनाए तर मानिसमा रहेको लोभ, लालच, रिस एवं अपराधीकरणको मापन गर्ने यन्त्र बनाउन सकेका छैनन् । उपचार गर्ने औषधि बनाउन सकेका छैनन् । कोही पनि मानिस देख्दैमा उसको आचरणको मापन गर्न सकिँदैन । मानिसको आचरण, सत्कर्म वा दुष्कर्मको मापन गर्न सकिने माध्यम भनेकै उसको व्यवहार हो । आचरण हो । समाजमा अहिले राजनीतिक नेतृत्व, व्यापारी, व्यवसायी, ठेकेदारलगायत हरेक ठाउँमा संलग्न व्यक्ति एवं व्यक्तित्वमा इमानदारिताको अभाव हुँदै गएको अवस्था देखिन्छ ।

नेपाली समाज धार्मिक, परोपकारी, नैतिकवान्, लोकहितकारी एवं सदभावले भरिएको नमुना मानवबस्तीका रूपमा परिचित थियो । समाज दुष्कर्म गर्न डराउँथ्यो । देशमा संविधान, कानुन नबनेको समयमा पनि मानिसको ईश्वरसँग गहिरो भावनात्मक सम्बन्ध थियो । धार्मिक एवं नैतिक उपदेशका आधारमा समाज चलेको थियो । निर्देशित थियो । स्वर्ग र नर्कको बयानले समाजलाई मर्यादामा बाँध्न महŒवपूर्ण भूमिका खेलेको थियो । अहिले समाजमा उल्लिखित चिन्तन बदलिँदै गए । भौतिकवादी चिन्तन हावी हुँदै गयो । ‘‘मै खाऊँ मै लाऊँ, सुख सयल वा मोज म गरुँ’ को चिन्तनबाट समाज प्रभावित बन्दै गयो । अहिले सामाजिक सम्बन्ध बिग्रँदै गएको छ । सम्बन्ध विच्छेदका घटना बढिरहेका छन् । चोरी, डकैती एवं व्यभिचार बढ्दो छ । आत्महत्या गर्नेको संख्यामा पनि दिन प्रतिदिन बढेको छ । मानसिक रोगीको संख्या वृद्घि हुँदै गएको तथ्यांक छ । प्रजातन्त्रको पुनस्र्थापना पछाडिका तीन दशकको समाजको अध्ययन गर्दा समाजमा भ्रष्ट आचरणको पराकाष्ठाका थुप्रै दृष्टान्त छन् । मानिसमा इमानदारिता खस्कँदै गएको पाइन्छ । यस अवधिमा देशका शिक्षालय पैसा कमाउने थलोका रूपमा फस्टाउँदै गए । महँगो धनराशि तिरेर उत्पादन भएको जनशक्ति इमानदार हुन सकेन । शिक्षा रोजगार र सीपसँग जोडिएन । नैतिक शिक्षाको विषयवस्तुलाई पाठ्क्रमबाट हटाउने काम गरियो । शिक्षा र आत्मअनुशासनको सम्बन्ध नङ र मासुको जस्तो हुन सकेन । फलतः समाजका आदर्श, मूल्य र मान्यताहरू भत्किँदै गए । समाजमा भ्रष्ट आचरणको विकास हुँदै गयो । अनुशासित एवं परोपकारी समाज निर्माण हुन सकेन ।

 

समाजका हरेक क्षेत्रमा देखापरेको भ्रष्ट आचरणको विसर्जन गरी अनुशासित, मर्यादित, परोपकारी एवं लोकहितकारी समाज निर्माणमा लागौं

हाम्रो देशको सन्दर्भमा फ्रेड रिग्सले भनेझंै इमानदार राजनीतिक व्यक्ति एवं व्यक्तित्व अभावका कारण प्रशासनतन्त्र भ्रष्टचारमुक्त हुन सकेको छैन । राज्य इमानदार भएको भए प्रशासनतन्त्र पनि इमानदार हुने थियो

 

राजनीतिक वा प्रशासनिक पहुँच भएको वर्गले राज्यको सुविधामा डकार्ने, अनियमिता वा भ्रष्टाचारलाई प्राथमिकता दियो । प्रजातन्त्रका लागि जनताले गरेको बलिदान जनताको हितमा उपयोग हुन सकेन । राजनीति पैसा कमाउने माध्यम जस्तो देखियो । यसो भएपछि क्रमशः अरू क्षेत्र पनि भ्रष्ट हुँदै गए । राजनीति मूल नीति हो । देशको मूलनीति नै अनुशासित नभएपछि यसको असर जताततै पर्दै जानु अस्वाभाविक होइन । त्यसो त सबै राजनीतिक दल, नेतागण, कर्मचारीलगायतका सबै नागरिकलाई एउटै डालोमा हालेर हेर्ने काम गर्नु न्यायोचित हुँदैन । राजनीति, प्रशासन र समाजमा केही इमानदार मानिस नभएका होइनन् । तथापि, समाजको बेथिति हेर्दा भ्रष्टहरूको हालीमुहाली ज्यादा देखिन्छ । इमानदारहरू छायामा पर्दै गएका छन् ।

समाजमा भ्रष्टाचार गर्ने र गराउनेहरू नै देश विकासका बाधक भएका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेशमा घुस लिने र दिने दुवै देशका शत्रु हुन् भन्ने लेखिएको छ । यसरी हेर्दा घुस लिने मात्र होइन, आफ्नो स्वार्थ पूरा गर्न घुस दिनेहरू पनि भ्रष्ट आचरणका व्यक्तिहरू नै हुन् । समाजमा व्याप्त बेथिति, विसंगति, भ्रष्टाचार र पछौटेपनको अन्त्य गर्न भनी कार्ययोजनासहित जनताबाट निर्वाचित भएर राज्यको बागडोर सम्हाल्न पुगेकाको आचरण भ्रष्ट भएपछि समाजका अन्य क्षेत्रहरू पनि तहसनहस भएको जानकारहरू बताउँछन् ।

अहिले हाम्रो देशका शिक्षालय धनआर्जन गर्ने व्यापारी केन्द्र बनेका छन् । अस्पतालहरू धनकमाउने स्रोत केन्द्रका रूपमा सञ्चालित छन् । कुनै पनि आयोजना वा परियोजनामा कमिसनको ठूलो चलखेल हुने गरेका समाचार आउने गरेका छन् । हरेक क्षेत्रमा भ्रष्ट आचरण भएका मानिसको तीव्र वृद्घि भएको देखिन्छ । दिन प्रतिदिन समाजमा सदभाव, प्रेम, दया, माया र बसुधैव कुटुम बकमको भावनामा ह्रास आइरहेको छ । समाजमा ठगी एवं भ्रष्टाचार हुने गरेका समाचारमा हेडलाइन बन्ने गरेका छन् । यही होइन र समाजमा भ्रष्ट आचरणको पराकाष्ठा ?
अन्त्यमा मानिस किन नकारात्मक कर्म, दानवीय स्वभाव, भ्रष्ट आचरण एवं अपराधजन्य कार्यमा उद्दत छ ? यसरी समाजका हरेक तह र तप्कामा भ्रष्ट आचरण मौलाउँदै जाने हो भने समाज भौतिकवादी बन्दै जान्छ । समाजले पैसाको मूल्य ज्यादा सम्झन थाल्छ । यसर्थ, समाजका हरेक क्षेत्रमा देखापरेको भ्रष्ट आचरणको विसर्जन गरी अनुशासित, मर्यादित, परोपकारी एवं लोकहितकारी समाज निर्माणमा लागौं ।

 

(Visited 81 times, 1 visits today)
Loading comments...