बिहिवार ५ मंसिर, २०७६ (Thursday, 21st November 2019)
५ मंसिर, २०७६ (21 November 2019)

ककपिटमा यात्रुलाई बस्न दिएपछि…

एजेन्सी
2 weeks ago
07/11/2019

बेइजिङ । विमानको ककपिटमा बसेकी युवतीको तस्बिर भाइरल बनेपछि एक चिनियाँ विमान चालकलाई उडान गर्न प्रतिबन्ध लगाइएको छ ।

आन्तरिक उडानमा रहेको एअर ग्वेयलिनको विमानभित्र गत जनवरीमा सो तस्बिर खिचिएको चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ ।

तर, गत साता चिनियाँ सामाजिक सञ्जालमा सो तस्बिर भाइरल भएपछि विमानसेवाले ती विमानचालकलाई विमान उडान आजीवन प्रतिबन्ध लगाइएको घोषणा ग¥यो । तस्बिर खिच्दा ती महिला हँसिलो मुद्रामा देखिन्छिन् र उनको अगाडि खानेकुरा पनि देखिन्छ ।

एअर ग्वेयलिनले एउटा विज्ञप्तिमार्फत ककपिटमा ‘असम्बन्धित मानिसलाई लगेको’ भन्दै पाइलटले उड्डयन सुरक्षाका नियमहरू उल्लंघन गरेको जनाएको छ । ती महिलाले राखेको तस्बिरको स्क्रिनसट माइक्रोब्लगिङ साइट विबोमा थेरैले सेयर गरेका थिए । सो पोस्टमा ती महिलाले तस्बिरसँगै ‘क्याप्टेनलाई धन्यवाद, निकै खुसी’ लेखेकी थिइन् ।

चिनियाँ समाचार संस्थाको वेबसाइटका अनुसार ती महिला ग्वेयलिन विश्वविद्यालयकी प्रशिक्षार्थी विमान परिचारिका हुन सक्ने अनुमान गरिएको जनाएको छ । विमानसेवाले सो तस्बिर उडान हुँदा हुँदै खिचिएको हो कि होइन, त्यो स्पष्ट पारेको छैन ।

तर, चिनियाँ विमानचालक तथा समीक्षकले विमान उडिरहेकै बेला फोटो खिचिएको हुन सक्ने बताएका छन् । आजीवन प्रतिबन्धको कारबाही खेपेका विमानचालकको परिचय भने गोप्य राखिएको छ ।

तर, उनी विमानसेवाका सबैखाले भूमिकाबाट हटाइएका हुन कि होइनन् भन्ने स्पष्ट छैन । चीनको नागरिक उड्डयन प्रशासनका अनुसार यात्रुलाई विशेष स्वीकृति वा ‘आवश्यक’ अवस्थामा बाहेक ककपिटमा लैजान पाइँदैन ।

त्यसमा संलग्न अन्य कर्मचारीलाई अनुसन्धान पूरा नहुँदासम्मका लागि निलम्बन गरिएको छ । गत वर्ष चीनकै डोंगाई विमानसेवाले एक विमानचालकले श्रीमतीलाई ककपिटमा प्रवेश गर्न दिएपछि उनलाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।

 

 

(Visited 65 times, 1 visits today)
Loading comments...