मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

निगमको भावी सुधार कार्ययोजना : एक वर्षमा २ अर्ब १७ करोड नाफा गर्ने लक्ष्य

मधुजंग पाण्डे
2 weeks ago
07/11/2019

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमले अब विभिन्न उपाय अवलम्बन गरी आगामी एक वर्षभित्र २ अर्ब १७ करोड रुपैयाँ बचत गर्ने भएको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बुधबार भावी सुधार कार्ययोजनाबारे जानकारी गराउँदै यस्तो बताएका हुन् । उनले खासगरी खर्च कटौती र गन्तव्य विस्तारका माध्यमबाट सो बचत एवं नाफा हुने आँकलन गरिएको बताए । खरेलका अनुसार अब विमानले अतिरिक्त इन्धन बोकेर हिड्न नपर्ने गरी व्यवस्थापन मिलाइएको छ । यसले गर्दा हवाई किटको मूल्य कटौती गर्न सघाउ पुग्ने उनको दाबी छ ।

यसैगरी, उनले हाल सञ्चालित विभिन्न गन्तव्यमा हुने विमान उडानको रुट व्यवस्थापनका माध्यमबाट पनि ठूलो परिणामको खर्च कटाइएको दाबी गरे । अब निगमले डलर फेयर हटाउने भएको समेत जानकारी गराउँदै उनले आन्तरिक उडानमा विदेशी र नेपालीलाई फरक–फरक भाडा दर कायम गर्दा विभेद गरेजस्तो हुने भएकाले भाडादर समान कायम गरिएको बताए ।

बुधबार पत्रकार सम्मेलन गरी कार्यकारी अध्यक्ष खरेलले इन्जिनियरिङ क्यामो, जीएसए, ईएमडी, कर्पोरेट, सेफ्टी, इन्धन, रुट, यात्रुको होटल व्यवस्थापनलगायतमा भइरहेको खर्च कटौती गर्दै एक वर्षमा यतिधेरै रकम बचत गर्ने बताएका हुन् ।

उनले नेपाली र विदेशी यात्रुका लागि भाडादर समान कायम गरिएको जानकारी दिए । यस्तो निणर्यपछि अब आन्तरिक उडानमा स्वदेशी र विदेशी दुवै यात्रुको हवाई टिकटको भाडादर बराबर हुनेछ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा समान भाडादर लागू गर्न वायुसेवा कम्पनीहरूसँग आग्रह गरेका थिए । मन्त्रीको आग्रहपछि सरकारी स्वामित्वमा सञ्चालित निगमले केही दिनअघि मात्रै भाडादर समान गर्ने निर्णय गरेको थियो । यसअघि आन्तरिक उडानमा स्वदेशी र विदेशीका लागि फरक–फरक भाडादर लिँदै आइएको थियो । जसका कारण अब निगमले विदेशी हवाई यात्रुसँग डलरमा भाडा नलिने भएको छ ।

‘इन्जिनियरिङ विभागका माध्यमबाट अब धेरै काम स्वदेशी जनशक्तिबाटै हुन थालेको छ । यसले गर्दा पनि खर्च घटाउन भूमिका खेलेको हो,’ उनले भने । उनले केही समय अघिदेखि पुनः थालनी गरेको जापान उडान क्रमशः नाफामा जाने क्रममा रहेको र अन्य गन्तव्यमा निगम नाफामै उडेको दाबी गरे ।

अहिले आफूहरूले निगमको शाख थप उचाइमा पु¥याई नाफामा लैजान इमानदारिताका साथ काम गरिरहेको दाबी गर्दै खरेलले भने, ‘अहिले हामीले निगमको अनावश्यक खर्च कटौतीलाई तीव्र बनाएका छौं ।’ यो नै आफ्नो कार्यकालमा भएको ठूलो सफलता भएको बताउँदै उनले  आगामी मार्चसम्म जापानको नारिता, साउदीको रियाद र चीनको ग्वाङ्झाउ उडानको तयारीमा निगम व्यवस्थापन लागिरहेको जानकारी दिए ।

 

 

निगमले गत आवमा अन्तर्राष्ट्रिय उडानबाट १० अर्ब ७० करोड ४ लाख ४५ हजार ३ सय ४७ रुपैया“ र आन्तरिक उडानबाट २९ करोड ५२ लाख ९५ हजार ३ सय ८४ रुपैया“ आम्दानी गरेको थियो । यसैगरी, ग्राउन्ड ह्यान्डलिंग सेवाबाट ४ अर्ब १४ करोड ४८ लाख २० हजार ६ सय ७० रुपैया“ आम्दानी गरेको छ

 

अहिलेसम्म आफ्नो तर्फबाट सबै तयारी पूरा भए पनि सम्बन्धित मुलुकका कारण त्यहाँको नियमित व्यावसायिक उडानको समय केही पछि सरिरहेको भन्दै उनले अब ती मुलुकले उडान अनुमति दिनासाथ निगमको विमान उड्न तयारी अवस्थामा रहेको बताए ।

जापान उडानको प्रारम्भिक दिनमा भने आफूलाई हतोत्साहित बनाउने काम भएको स्मरण गराउँदै  उनले प्रतिस्पर्धामा रहेका अन्य कम्पनीलाई यसबाट फाइदा भएको समेत बताए ।

उनले विमान उडाएर कुनै पनि गन्तव्यमा रातारात नाफामा जाँदैन तर सुरुकै एक÷दुई उडानको यात्रु संख्या देखाएर केहीले आफूलाई हतोत्साहित बनाउन खोजे पनि अहिले जापान उडानमा राम्रो यात्रु पाइरहेको दाबी गरे । अहिले निगमले अपेक्षा गरेको भन्दा पनि राम्रो यात्रुको साथ पाइसकेको जानकारी गराउँदै उनले निगम सन् २०१९ मा सबैभन्दा धेरै यात्रु बोक्ने नेपालको वायुसेवा बन्ने दाबी गरे ।

उनले गत आर्थिक वर्ष २०७५÷७६ मा निगमले गरेको आम्दानीबारे समेत जानकारी गराएका थिए । कार्यकारी अध्यक्ष खरेलका अनुसार निगमले गत आवमा अन्तर्राष्ट्रिय उडानबाट १० अर्ब ७० करोड ४ लाख ४५ हजार ३ सय ४७ रुपैयाँ आम्दानी गरेको छ । यसैगरी, आन्तरिक उडानबाट भने २९ करोड ५२ लाख ९५ हजार ३ सय ८४ रुपैयाँ र ग्राउन्ड ह्यान्डिलिङ सेवाबाट ४ अर्ब १४ करोड ४८ लाख २० हजार ६ सय ७० रुपैयाँ आम्दानी गरेको छ ।

कार्यकारी अध्यक्ष खरेलले चालू आव २०७६÷७७ मा भने कुल १७ अर्ब २५ करोड १५ लाख ४२ हजार २ सय ६२ रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको बताए । यसअघि निगम सुधारका लागि गठित कार्यदलले भने निगमको कमजोर व्यवस्थापनकै कारण निगम धराशायी भएको र विकल्प खोज्नुपर्ने सुझाव पेस गरेको थियो ।

कार्यदलले दिएको सो सुझावपछि अहिले आफ्नो पद जोगाउनकै लागि भए पनि कार्यकारी अध्यक्ष खरेलले अकस्मात् बुधबार पत्रकार सम्मेलन गरी यस्तो भावी सुधारात्मक कार्ययोजनाबारे जानकारी गराएका हुन सक्छन् भन्नेहरू पनि निगमभित्रै रहेका छन् ।  मोबाइल एप्स, ई–मिटिङजस्ता ससाना काम प्रचार गर्न लागेको निगमभित्रका केही कर्मचारीको भनाइ छ ।

यस्ता छन् खरेलका सुधार योजना

‘हामीले तालिकाअनुसारको गन्तव्यमा उडान भर्दै आएका छौं । विमान जति कम उचाइमा उडान भ¥यो त्यति नै इन्धन कम खपत हुन्छ । तर, केही ढिला भने हुन्छ । पूर्वपश्चिम हावाको वेगले इन्धन खपतमा प्रभाव पार्छ । यस्ता कुरालाई मध्यनजर गर्दै हामीले उडान भर्ने योजना बनाएका हौं,’ उनले भने ।

यो योजनाअनुसार निगमलाई १० करोड रुपैयाँ बचत हुनेछ । कुनै पनि गन्तव्यमा उडान भर्ने विमानमा (न्यारोबडी र वाइडबडी) क्षमताअनुसारको इन्धनबाहेक अनावश्यक इन्धन बोक्न प्रतिवन्ध लगाइएको छ ।

अहिले विमानको प्रकृतिअनुसार थप हवाई इन्धनसहित उडान हुँदै आएको छ । यसैगरी, एयरबस ३२० ले एकटनको परिणाममा थप इन्धन बोक्न पाउँछ भने एयरबस ३३० ले दुई टनको परिणाममा थप इन्धन बोक्न पाउँछ । आवश्यक इन्धन मात्र लिएर उडान गरेर खर्च कटौती योजना बनाएको छ ।  अहिले इन्धन कम भएका कारण कुनै समस्या आएमा प्रमुख गन्तव्य छेउछाउका विमानस्थलमा अवतरण उडान भर्ने व्यवस्था मिलाइएको छ । यसले नेपालको महँगो इन्धन किन्नुपर्दैन ।

अहिले हामीले यहाँको हवाई इन्धन महँगीलाई मध्यनजर गर्दै फ्युल ट्यांकरिङको व्यवस्था सुरु गर्न लागेका छौं । अन्तर्राष्ट्रिय उडान भर्दै आएको गन्तव्यमा सस्तो मूल्यमा हवाई इन्धन खरिद गर्दा आधा मूल्य सस्तो पर्न आउँछ । हाम्रो अनुमानमा यसरी फ्युल ट्यांकरिङ गर्दा वार्षिक ९३ करोड रुपैयाँ जोगिनेछ ।

अहिले हामीले लामो दूरीमा रुहेको गन्तव्यको रुट पुनः पहिल्याएका छौं ।  यसरी काठमाडौं–दोहा उडानको रि–रुटिङ गर्दा प्रत्येक उडानमा १ सय ६० डलर फाइदा हुनेछ । रुट परिवर्तन गरेर उडान गर्दा निगमले दुई किसिमको विमानमार्फत् वार्षिक करिब २ करोड जोगिनेछ ।

यसैगरी, अहिले हामीले गरेको नयाँ व्यवस्थाअनुसार चालकदल होटल बसोबास खर्च कटौतीबाट वार्षिक २ करोड रुपैयाँ जोगिनेछ । निगमले खर्च न्यूनीकरणका लागि आफ्नै हवाई सुरक्षा व्यवस्थापन संस्था (क्यामो) स्थापना गर्नेछ ।

हाल सञ्चालनमा रहेका राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोगमा रहेका विमान (एयरबस, चिनियाँ जहाज) मर्मतसम्भार र अध्ययनका लागि यो संस्था स्थापना गर्न लागिएको हो । यही क्यामोमार्फत निगमको वार्षिक १८ करोड १७ लाख रुपैयाँ खर्च जोगिनेछ । यसैगरी, कर्पोरेट सेफटी डिभिजनमार्फत पनि निगमले अब वार्षिक ५८ लाख ५५ हजार ८ सय रुपैयाँ जोगाउने योजना बनाएको छ ।

 

 

 

(Visited 43 times, 1 visits today)
Loading comments...