मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी

कौशिला कुँवर
2 weeks ago
08/11/2019

काठमाडौं । खानी तथा भूगर्भ विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने भएको छ । विभागले टेकुको दोभानमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने तयारी गरेको हो । अन्वेषणका लागि विभागले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेकोे छ ।
एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्याँस रहेको छ ।

विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार अन्वेषणका लागि टेन्डर प्रक्रियामा जाने अन्तिम तयारी भइरहेको छ । अन्वेषणका क्रममा जमिनको सतहमुनि रहेको पानीमा ग्याँसको अनुपात कति छ भन्ने पत्ता लगाइनेछ ।
विभागले यसअघि पनि मिथेन ग्याँस अन्वेषण गरिसकेको छ । अहिले अन्वेषण गर्न लागेको पुरानै क्षेत्रभित्र भए पनि स्थान भने फरक हुनेछ । यसअघि विभागले काठमाडौं उपत्यकाको १४ ठाउँमा अध्ययन गरिसकेको छ । अब गर्न लागेको अन्वेषण १५औं हो ।

५० हजार परिवारलाई २० वर्षका लागि ग्याँस भएको अनुमान

विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख श्रेष्ठले चालू आर्थिक वर्ष २०७६÷७७ भित्र अन्वेषण कार्यक्रम सकाउने लक्ष्यका साथ कामको तयारी भइरहेको बताए ।
विभागको अभिलेखअनुसार सन् १९७८ मा नै काठमाडौं उपत्यकामा मिथेन ग्याँस रहेको पत्ता लागेको थियो । सो अध्ययन अनुसन्धान जापानी सहयोग निकाय (जाइका)को सहयोगमा विभागले गरेको थियो ।
विभागको अभिलेखअनुसार जापानी विशेषज्ञ टोलीले बालकुमारी, शंखमूलसहित भक्तपुरको बालकोट, काठमाडौंको कोटेश्वर, तीनकुने, टेकु हस्पिटल, कुलेश्वर, विष्णुमती किनार, भृकुटीमण्डपलगायत उपत्यकाका विभिन्न १४ स्थानमा सतहमुनिको भौगोलिक अवस्थाको अध्ययन गरेको थियो । सो अध्ययन प्रतिवेदनमा मिथेन ग्याँस उत्पादन गर्न सकिने भन्दै उत्खननको सिफारिससमेत गरिएको थियो । सो अध्ययन प्रतिवेदनमा उपत्यकामा विभिन्न १४ स्थान ग्याँस छ भन्ने तथ्य सर्वजनिक गरेको भए पनि नेपाल सरकारले उत्खनन गरेर प्रयोगमा भने ल्याउन सकेन ।
श्रेष्ठले नेपाल सरकारसँग स्रोत साधन नहुँदा उपत्यकामा भएको मिथेन ग्याँस उत्खनन गर्न नसकेको बताए । जमिनको सतहमुनि रहेको मिथेन ग्याँस उत्खनन गर्न ठूलो लगानी, आधुनिक प्रविधिको आवश्यक पर्छ ।

श्रेष्ठका अनुसार यसअघि जाइकाले गरेको प्राकृतिक ग्याँस अन्वेषण क्षेत्रमा फेरि अन्वेषण गरिदिन सरकारले आग्रह गरेको हो । अन्वेषणको सहयोगका लागि अर्थ मन्त्रालयमार्फत १४ चैत २०७५ मा विभागीय निर्णयअनुसार पत्र पठाइएको थियो ।
विभागले जाइकाको सहयोगमा तीनवटा बल्क गरी पहिले नै अध्ययन गरिसकेको थियो । सोबेला त्रिपुरेश्वर, कोटेश्वर र मनहरा बल्कमा गरेको थियो । २०३७ सालदेखि २०४५ सम्मका त्रिपुरेश्वर क्षेत्रका सात ठाउँमा गरेको अध्ययनले ४ किलोमिटर क्षेत्रफलमा ८५ मिटर मोटाइमा ३५ प्रतिशत ग्याँस पाएको थियो ।

त्रिपुरेश्वरमा ३ सय ५ मिटर गहिराइमा ८३.२५ मिटर ग्याँस भेटिएको थियो ।
त्यसलगतै २०३९÷४० मा टेकु हस्पिटलनजिकै ३ सय १ मिटर ग्रिलिङ गर्दा ८४.४ मिटर ग्याँसको तह पाइएको थियो । सोही वर्ष कुलेश्वरमा ३ सय २ मिटरको गहिराइमा १०२.३८ मिटर ग्याँसको तह पाएको थियो । २०४२÷४३ सालमा गरेको अध्ययनमा ह्युमत ३ सय मिटरभित्र ७४.३४ मिटर ग्याँस भेटिएको थियो । सो वर्षमा ह्युमतकै अर्काे ठाउँमा ४ सय ५४.४ मिटर खन्दा १३४ मिटर ग्याँसको तह भेटिएको थियो । यसैगरी, २०४४÷४५ मा भृकुटीमण्डपमा ५ सय ७०.१३ मिटरमा २१८.३३ मिटर मोटाइ ग्याँस भेटिएको थियो । यसैगरी २०४४÷४५ मै टेकुको मसानमा ३ सय ५८.८ मिटर ग्रिलिङ गर्दा ११३.५१ मिटरमा ग्याँस भेटिएको थियो ।

दोस्रो चरणअन्तर्गत कोटेश्वर तीनकुने खण्डमा २०४५ सालदेखि २०४९ सालसम्म चार ठाउँमा अन्वेषण गर्दा १४ किलोमिटर वरपर ग्याँस हुन सक्ने अनुमान गरिएको थियो । सो क्षेत्रमा लगभग १४ सय मिटरमा १ सय १९ मिटर मोटाइमा ग्याँस पाइएको थियो । सो अध्ययनको क्रममा २०४५÷४७ सालमा शंखमूलमा ४ सय ५५ मिटर गहिराइमा १७२ मिटर ग्याँस भेटिएको थियो । २०४७÷४८ मा गरेको अन्वेषणमा कोटेश्वरमा ३ सय मिटर ग्रिलिङ गर्दा १ यस १६ मिटरको ग्याँस पाइएको थियो । यसैगरी, सो वर्ष २०४८÷४९ मा जडीबुटीमा गरेको अन्वेषणमा ३ सय मिटर खन्दा ८९.२३ मिटर ग्याँस फेला परेको थियो ।
यसैगरी, तेस्रो चरणमा विभागले मनहरा–इमाडोल क्षेत्रको ८ किलोमिटर वरपर ग्याँस अन्वेषण गरेको थियो । जसअन्तर्गत टीकाथली ललितपुरमा २०४९÷५० सालमा गरेको मिथेन ग्याँसको अन्वेषणबाट ९५ मिटर ग्याँस भेटिएको अध्ययन प्रतिवेदन उल्लेख छ । यति ग्याँस ३ सय मिटरभित्र नै पाइएको थियो ।

यसैगरी, सोही वर्ष बालकुमारीमा ३ सय मिटरभित्र ८९.८ मिटर ग्याँस भेटिएको थियो । यसैगरी, इमाडोलमा ३ सय मिटरमा ७० मिटर ग्याँस भेटिएको थियो ।
सरकारले २०४० सालमा टेकुमा मिथेन ग्याँस प्लान्ट बनाई प्रयोगमा ल्याएको थियो ।
२०७२ सालमा भारतले नेपालमा अघोषित नाकाबन्दी गर्दा तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले इमाडोलमा पानीबाट छुट्याएर राखिएको ग्याँसप्लान्टमा जोडिएको चुलोमा आगो बालेर परीक्षण गरेका थिए ।

स्थान ग्याँसको मोटाइ वर्ष
त्रिपुरेश्वर ८३.२५ २०३७÷३८
टेकु ८४.४ २०३९÷४०
कुलेश्वर १०२.३८ २०३९÷४०
ह्युमत ७४.३८ २०४२÷४३
ह्युमत १.३४ २०४२÷४३
भृकुटीमण्डप २१८.३३ २०४४÷४४
शंखमूल १७२.४५ २०४५÷४६
कोटेश्वर ११६.२४ २०४७÷४८
तिनकुने ९९.१२ २०४८÷४९
जडीबुटी ८९.१ २०४८÷४९
टिकाथली ९४.९७ २०४९÷५०
बालकुमारी ८९.८ २०४९÷५०
इमाडोल ७०.२४ २०४९÷५०

(Visited 74 times, 1 visits today)
Loading comments...