शुक्रवार ६ मंसिर, २०७६ (Friday, 22nd November 2019)
६ मंसिर, २०७६ (22 November 2019)

‘टुँडिखेल खुला गर्न सकारात्मक छौं’

राजधानी समाचारदाता
2 weeks ago
08/11/2019

काठमाडौं।  काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगर ‘टुँडिखेल खुला गर्नुपर्छ’ भन्ने अभियानमा सकारात्मक रहेको बताएका छन् ।
काष्ठमण्डप सामुदायिक अध्ययन केन्द्रले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘टुँडिखेल खुला गर्नुपर्छ भन्ने अभियानमा महानगरपालिका सकारात्मक छ तर अभियानको बहानामा केहीले राजनीतिक स्वार्थ पूरा गर्ने र जस लिने होडबाजी गरे भने त्यो राम्रो होइन ।’ ‘टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महŒवलाई जीवन्त राख्ने दायित्व महानगरपालिकाको पनि हो’, शाक्यले भने ।
हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफूले पनि सक्दो प्रयास गर्ने उनले बताए । अभियन्ताहरूले टुँडिखेल अतिक्रमणमा परेको भन्दै अतिक्रमणमुक्त बनाउन २३ कात्तिकमा बिहान ८ देखि १० बजेसम्म मानव साङ्लो बनाएर टुँडिखेल घेर्ने अभियान थालेका छन् । अभियानको बाहनामा राजनीतिक स्वार्थ पूरा गर्ने र जस लिने होडबाजी लिने गरेकोतर्फ इंगित गर्दै मेयर शाक्यले अभियानका नाममा राजनीति नगर्न आग्रह गरे । ‘दरबार हाइस्कुल, धरहरा र वीर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएको हो । ती संरचनाका निर्माण पूरा हुँदै छन् । ती संरचना पूरा हुने बित्तिकै खुलामञ्च खाली हुन्छ’, मेयर शाक्यले भने । उनले आफू काठमाडौ महानगरको स्थायी बासिन्दा भएको भन्दै मेयरको पद अस्थायी भएकाले महानगरवासीको हितलाई सर्वोपरि ध्यानमा राखेर काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

(Visited 31 times, 1 visits today)
Loading comments...