मंगलवार ३ मंसिर, २०७६ (Tuesday, 19th November 2019)
३ मंसिर, २०७६ (19 November 2019)

सार्थक कूटनीतिक पहल जरुरी

राजधानी समाचारदाता
2 weeks ago
08/11/2019

नेपाली भूभाग कालापानी र लिपुलेकलाई भारतले पुनःआफ्नो नक्सामा समावेश गरेपछि नेपालभर त्यसको चौतर्फी विरोध भएको छ । भारतले नेपाली भूमिलाई समावेश गरी नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपाल र भारतबीचको वर्षांैदेखिको सीमा विवाद फेरि सतहमा आएको छ । यद्यपि, यो समस्या पुरानै भएको तर्क पनि गरिँदै छ तर पुरानो समस्या भनेर आफ्नो अतिक्रमित भूमिलाई छोड्न सकिँदैन । नेपालले सार्थक कूटनीतिक पहलमार्फत अतिक्रमित भूमिलाई फिर्ता गराउन सक्नुपर्छ ।

कुनै पनि सार्वभौम मुलुकको लागि आफ्नो सीमाक्षेत्र अन्य मुलुकले अतिक्रमण गर्छ भने त्यो सह्य हुने विषय नै होइन । त्यसैले, नेपालको भूमि अन्य कुनै पनि देशले मिच्दा प्रत्येक नेपालको रगत तात्नु स्वाभाविक हो । अहिले यसै विषयमा देशव्यापी रूपमा सडकमा आन्दोलनले ज्वाराभाटाको रूप लिएको छ । हरेक स्वाभिमानी नेपालीको लागि आफ्नो भूमि प्राणभन्दा प्यारो रहेकाले भूमिको रक्षाका लागि जुनसुकै बलिदानी गर्नसमेत तयार रहेको प्रतिबद्धतासहित नेपाली जनता विरोधमा उत्रिएका हुन् । आमजनताको यो भावनालाई स्यालुट गर्नुपर्छ । सरकारी पक्षले विज्ञप्ति निकालेर सो भूमि नेपालको भएको प्रस्ट पारिसकेको छ । यसले भारतको मिचाहा प्रवृत्ति फेरि पनि उजागर गरेको छ ।

यो समस्या एकाएक आएको नभएर पुरानै समस्या हो । नेपालले विगतदेखि नै कूटनीतिक रूपमा भारतीय पक्षसँग सशक्त पहल र संवाद गर्न नसक्दा वर्षौंैदेखि नेपाली भूभाग अतिक्रमणमा पर्दै आएको हो । यसमा हाम्रा शासकहरूको कूटनीतिक चातुर्य र कौशलताको अभावका कारण पनि भारतीय पक्ष उत्साहित भएर एकपछि अर्को सीमामा अतिक्रमण गर्दै आइरहेको तीतो यथार्थ छ । भारत हाम्रो छिमेकी राष्ट्र हो । नेपालले भारतलाई असल छिमेकी राष्ट्रका रूपमा हेर्दै आएपछि भारतले भने सोहीअनुसारको व्यवहार गर्न नसकेको हो कि भन्ने अनुभूति नेपाली पक्षले गर्दै आएका छन् । विश्वमै ठूलो प्रजातान्त्रिक मानिएको मुलुक भारतले अर्को देशको सार्वभौमिकताको सम्मान गर्न सक्नुपर्छ ।

सर्वसाधारण नागरिकले पनि भारतलाई अनावश्यक गालीगलौज गर्नुभन्दा कूटनीतिक पहलमार्फत नै समस्या समाधान गर्न निरन्तर दबाब दिइरहनुपर्छ । विगतमा हाम्रा कतिपय शासकले भारतीय पक्षसँग आफ्ना समस्याहरू खुलेरै राख्न सक्ने हिम्मत गरेनन् । ती शासकले देश र जनतामाथि गरेको गद्दारीको निकृष्ट कार्य थियो । आफ्नो भूमि मिचिदा कूटनीतिक वार्तामार्फत भारतीय पक्षसँग संवाद गरी मिचिएको भूमि फिर्ता गराउन सशक्त पहल गर्दै आएको भए सम्भवतः भारतीय पक्ष पनि कन्भिन्स हुन सक्ने अवस्था पनि थियो तर त्यस्तो हुन नसक्दा नै नेपाली भूमि एकपछि अर्को गर्दै मिचिन पुगेको हो । अहिले पनि दुबै देशको सीमा क्षेत्रमा धेरै समस्या छन् । नेपाली पक्षले नै बढी समस्या भोग्नुपर्ने अवस्था छ । नेपाल भारत सीमा बैठक हँुदा पनि नेपाली पक्षले आफ्नो भूमिमा भएका अतिक्रमण रोक्नुपर्ने एजेन्डालाई नियमति रूपमा नै उठाउनुपर्छ ।

त्यसैले, यदि भारतले नेपाललाई आफ्नो असल छिमेकी राष्ट्र मान्छ भने उसले नेपाली भूमिलाई आफ्नो देशमा राखेर सार्वजनिक गरेको नक्सा तत्काल सच्याउनुपर्छ । नेपालको परराष्ट्र मन्त्रालयले पनि कागजको खोस्टोमा विज्ञप्ति निकालेर त्यो भूमि हाम्रो हो भनेर औपचारिकता निर्वाह गर्नुभन्दा पनि अतिक्रमित भएको कालापानी र लिपुलेक फिर्ता गराउन छिटोभन्दा छिटो कूटनीतिक पहलको थालनी गर्नुपर्छ र यो पहललाई निरन्तरता दिनुपर्छ ।

(Visited 63 times, 1 visits today)
Loading comments...