बिहिवार ५ मंसिर, २०७६ (Thursday, 21st November 2019)
५ मंसिर, २०७६ (21 November 2019)

एसियन एमेच्योर चेसमा १७ देशका खेलाडी

राजधानी समाचारदाता
2 weeks ago
08/11/2019

१ सय खेलाडीबीच प्रतिस्पर्धा हुने

 

काठमाडौं।  नेपाल बुद्धिचाल संघ र मदन भण्डारी स्पोटर््स एकेडेमीको संयुक्त आयोजना तथा काठमाडौं महानगरपालिकाको सहआयोजनामा २२ देखि २९ कात्तिकसम्म हुने मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिपमा १७ देशका खेलाडीले सहभागिता जनाउने भएका छन् ।

बूढानीकण्ठस्थित पार्क भिलेजमा हुने प्रतियोगिता विश्व बुद्धिचालको अफिसियल इभेन्टमध्ये नेपालमा हालसम्म आयोजना भएको सर्वाधिक ठूलो भएको नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले बताए ।

सो प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । सो समारोहमा एसियन चेस फेडेरेसनका डेपुटी प्रेसिडेन्ट भरत सिं चौहान र विश्व बुद्धिचाल महासंघका अध्यक्षका प्रमुख सल्लाहकार बेरिकबेल्गायिभको सहभागिता रहने बताइएको छ ।

सो प्रतिोगितामा नेपालका ७० सहित १०० खेलाडीको सहभागिता हुने छ । स्विस लिग प्रणालीअनुसार ९ चरणसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका सातै प्रदेशका खेलाडीसहित भारत, चीन, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्सका खेलाडी सहभागी हुनेछन् ।

त्यसैगरी भूटान, मलेसिया, भियतनाम, फिलिपिन्स, काजकिस्तान, किर्गिस रिपब्लिक, म्यान्मा, इरान, हङकङ र जापानका खेलाडीले सहभागिता जनाउनेछन् । विदेशी खेलाडी २२ कात्तिकमा आइपुग्ने बताइएको छ । १३ हजार ५ सय अमेरिकी डलर पुरस्कार राशि रहेको प्रतियोगितामा क्लासिकल तथा ब्लिज दुई फम्र्याटमा खेल सञ्चालन हुने श्रेष्ठले बताए ।

प्रतियोगिताको विजेताले क्यान्डिडेट मास्टर तथा महिलातर्फको विजेताले वुमन क्यान्डिडेट मास्टरको उपाधि प्राप्त गर्नेछन् । क्लासिकतर्फ ३७ र ब्लिजतर्फ ६ खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । नेपालका पुरुष र महिला च्याम्पियनलाई भने संघले सम्पूर्ण खर्च बेहोर्ने बताएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीले १ सय ७५ डलर फि तिर्नुपर्ने हुन्छ ।

 

(Visited 14 times, 1 visits today)
Loading comments...