बिहिवार ५ मंसिर, २०७६ (Thursday, 21st November 2019)
५ मंसिर, २०७६ (21 November 2019)

म्यान्मासँग नेपाल पराजित

राजधानी समाचारदाता
2 weeks ago
08/11/2019

काठमाडौं। नेपालको राष्ट्रिय फुटबल टोलीलाई म्यान्माले ३–० ले पराजित गरेको छ । सन् २००८ को एएफसी च्यालेन्ज कपमा म्यान्माले नेपाललाई ३–० ले नै पराजित गरेको थियो । बिहीबारको खेलमा पनि त्यसले निरन्तरता पायो ।

नेपाल पहिलो हाफमा नै २–० ले पछाडि परेको थियो । म्यान्माले तेस्रो मिनेटमै अग्रता लिएको थियो । म्यानमारले फ्रिकिकमार्फत पहिलो गोल गरेको थियो । झन्डै ३० यार्डबाट आएको फ्रिकिकलाई नेपाली खेलाडीले क्लियर गर्न नसक्दा सिक्स यार्ड बक्स नजिक अनमार्क रहेका खेलाडीले गोल गरेका थिए ।

दोस्रो गोलमा पनि डिफेन्सकै कमजोरी रह्यो । म्यान्माका फरवार्डले तीन डिफेन्डरलाई पेनाल्टी बक्सभित्र छक्काएर गरेको प्रहार गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गरेका थिए । तर, रिबाउन्डमा डिफेन्स चनाखो नहुँदा म्याम्माले अग्रता दोब्बर गरायो ।

दोस्रो हाफमा नेपालले केही सुधारिएको खेल पस्केको भए पनि गोल गर्न सकेन । दोस्रो हाफमा म्यान्माले अर्काे एक गोल थप्यो । अन्तिम गोल म्यान्माले खेलको ६९औं मिनेटमा गरेको थियो । विश्व कप छनोटअन्तर्गत ३ मंसिरमा कुवेतविरुद्ध हुने खेलको तयारीका लागि नेपालले म्यान्मासँग मैत्रीपूर्ण खेल खेलेको हो । सन् २०२३ मा चीनमा हुने एएफसी एसिया कप छनोटका रूपमा समेत यो खेल रहेको छ । विश्वकप छनोटको समूह ‘बी’मा नेपाल रहेको छ ।

विश्वकप छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौथो स्थानमा छ । यसअघि कुवेतसँग अवे खेलमा नेपाल ७–० ले पराजित भएको थियो । नेपालले चाइनिज ताइपेलाई २–०ले पराजित गरेको थियो । जसमा अन्जन विष्टले दुई गोल गरेका थिए । अर्काे खेलमा अस्ट्रेलियासँग नेपाल ५–० ले पराजित भएको थियो । त्यसैगरी जोर्डनले नेपालाई ३–० ले हराएको थियो ।

नेपाल–कुवेतको खेल काठमाडौंमा नहुने

फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतविरुद्ध हुने खेल काठमाडौंमा नहुने भएको छ । दशरथ रंगशाला तयार भइनसकेकाले सो खेल नेपालमा नहुने भएको हो । एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै कुवेतविरुद्धको खेल नेपालमा नहुने बताएको हो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार दशरथ रंगशाला तयार नभएकाले भन्दै एसियाली फुटबल महासंघका प्रतियोगिता समितिका प्रतिनिधि

देङ् सिओ लोङले निरीक्षणपछि आफूले यस्तो रंगशालामा प्रतियोगिता गर्न सिफारिस गर्न नसक्ने बताएका थिए । नेपालले सो प्रतियोगिता भुटानमा गराउने प्रस्ताव राखेको छ ।

(Visited 15 times, 1 visits today)
Loading comments...