शुक्रवार ६ मंसिर, २०७६ (Friday, 22nd November 2019)
६ मंसिर, २०७६ (22 November 2019)

प्रधानमन्त्रीको ध्यान यता पनि पुग्ला ? प्रधानमन्त्री कार्यालय र मन्त्रालयको काम पनि छैन चुस्त

केशवप्रसाद पाण्डे
2 weeks ago
11/11/2019

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वकीय सचिवालय तथा सल्लाहकार टिमसँग असन्तुष्ट भइरहेको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासनिक संयन्त्र पनि सशक्त बन्न सकेको छैन । त्यस्तै, सरकारलाई सफल बनाउने मन्त्रालयको प्रशासनिक तथा सिंगो कर्मचारी संयन्त्रले पनि उच्च मनोबलका साथ दिलोज्यान दिएर काम नगरेको पाइएको छ ।

प्रधानमन्त्री कार्यालयको प्रशासनिक संयन्त्र शक्तिशाली र कामयावी हुनुपर्नेमा त्यस्तो हुन नसक्दा अन्य मन्त्रालयको प्रशासनिक संयन्त्रले पनि आक्रामक रूपमा काम गर्न नसकेको प्रशासनविद्को तर्क छ । प्रधानमन्त्री ओलीले आफ्नो स्वकीय सचिवालय तथा सल्लाहकार टिमले आक्रामक काम गर्न नसकेको भन्दै राजीनामा दिन सुझाइसकेका छन् । उनको सुझावअनुसार सबै सल्लाहकारले यही १ मंसिरदेखि लागू हुने गरी राजीनामा बुझाइसकेका छन् ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयका सदस्य, सल्लाहकार टिम मात्रै होइन, सबै मन्त्रालयका मन्त्री, सचिव तथा सिंगो प्रशासनयन्त्रले प्रभावकारी रूपमा काम नगर्दा प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा हुनेमा आशंका सिर्जना हुँदै आएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रशासन संयन्त्रमार्फत हुने गरेको अनुगमन, नियन्त्रण र व्यवस्थापनलाई चुस्त बनाउन नसक्दा सरकारको कार्यसम्पादन प्रभावकारी हुन नसकेको विज्ञहरू बताउँछन् । प्रधानमन्त्री ओलीले प्रशासनसंयन्त्रलाई नै चुस्त, सशक्त बनाउने र काम नगर्ने प्रशासक तथा कर्मचारीलाई कारबाही गर्ने पद्धतिको विकास गर्नुपर्ने प्रशासनविद्को सुझाव छ ।
पूर्वसचिव तथा प्रशासनविद् शारदाप्रसाद त्रिताल कार्यक्षमताभन्दा राजनीतिक निकटताको आधारमा जिम्मेवारी दिने परम्पराका कारण प्रशासन संयन्त्र सशक्त बन्न नसकेको बताउँछन् ।

‘कार्यकारी पदमा रहेकाहरूसँग प्रशासन सुधारको दृष्टिकोण हुनुपर्छ र सोहीअनुसार सुधार थाल्नुपर्छ । कर्मचारीको कार्यक्षमता हेरेर जिम्मेवारी दिने दृष्टिकोण नआएसम्म सुधार सम्भव छैन,’ सचिव त्रितालले भने ।
दैनिक प्रशासन सञ्चालनदेखि योजना कार्यान्वयनमा महŒवपूर्ण भूमिका हुने प्रधानमन्त्री कार्यालयले स्थायी सरकारका रुपमा रहेको प्रशासनिक संयन्त्रलाई चुस्त बनाएर विकास निर्माण, सेवाप्रवाह तथा जनगुनासो सुन्ने र सम्बोधन गर्नेलगायतका कार्य गराउन सकेको छैन ।

प्रधानमन्त्री कार्यालयमा बस्न चाहँदैनन् सचिव–सहसचिव

प्रधानमन्त्री कार्यालय सचिव, सहसचिवलगायत अधिकांश कर्मचारीको आकर्षक स्थान बन्न सकेको छैन् । यहाँ आउने सचिव र सहसचिवहरूले आफूलाई डम्प गरेको महसुस गर्ने गरेका छन् । अहिले पनि प्रधानमन्त्री कार्यालयमा एक जना सचिव र ५ जना सहसचिवको पद रिक्त रहँदै आएको छ । यहाँका अधिकांश कर्मचारी काम गर्नुभन्दा पनि कसरी हुन्छ कमाउ र आकर्षक निकायमा जान लालायित हुने गरेको बताइएको छ ।

प्रधानमन्त्री कार्यालयको निर्देशनकै बेवास्ता

प्रधानमन्त्री कार्यालयले समय–समयमा विभिन्न मन्त्रालयमार्फत भइरहेको कामको अनुगमन गर्ने गरेको छ । भइरहेको कामबारेको उपलब्धि तथा ढिलासुस्तीबारे जानकारी लिएर सम्बन्धित कार्यालयलाई प्रभावकारी बनाउन सुझाव तथा निर्देशन दिँदै आएको छ । तर, ती निकायले प्रधानमन्त्री कार्यालयको सुझाव र निर्देशनलाई पालना गर्न तदारुकता देखाउन सकेका छैनन् ।
प्रधानमन्त्री कार्यालयले अनुगमन गरेर सुझाव दिए पनि सोहीअनुसार कार्यान्वयन भए÷नभएको जानकारी लिएर आवश्यक कारबाही गर्नुपर्नेतर्फ भने चासो दिन सकेको छैन ।
प्रधानमन्त्री कार्यालयले राजधानीका विभिन्न स्थानका सडक, धुलोधुँवा, जामलगायत जनचासोका विषयमा समय–समयमा अनुगमन गरेर आवश्यक निर्देशन दिए पनि सम्बन्धित निकायले निर्देशन पालनामा कुनै चासो दिएको देखिँदैन । प्रधानमन्त्री कार्यालयले विभिन्न समयमा अनुगमन गरेर तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिएका चावहिल–साँखु सडकखण्ड, यातायातसम्बन्धी समस्या समाधान हुने संकेत अझै देखिन सकेको छैन ।

प्रधानमन्त्री कार्यालयमा कर्मचारीको आकर्षण कम

प्रधानमन्त्री कार्यालय प्रभावकारी कार्यसम्पादन गर्ने र परिणाम दिन चाहने कर्मचारीका लागि आकर्षक र शक्तिशाली मानिन्छ । यस्तो महŒवपूर्ण कार्यालयमा सरुवा र बढुवा भएर जाने कर्मचारीहरूको तँछाडमछाड हुनुपर्नेमा प्रधानमन्त्री कार्यालय भने कर्मचारीको आकर्षणमा पर्ने निकायका रूपमा गणना हुँदैन ।
सेवा सुविधालगायत अनावश्यक राजनीतिक दबाबमा काम गर्नुपर्ने भएकाले प्रधानमन्त्री कार्यालयमा जान चाहने कर्मचारीको संख्यामा कमी हुने गरेको प्रशासनका जानकार बताउँछन् । पूर्वसचिव त्रिताल प्रधानमन्त्री कार्यालयले प्रशासन संयन्त्रलाई चुस्त राख्न राजनीतिक हस्तक्षेपलाई हटाउनुपर्ने र योग्यतालाई आधार मान्नुपर्ने बताउँछन् ।

मन्त्रीका सल्लाहकार टिम पनि जागिरे मात्रै

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सल्लाकार टिमलाई राजीनामा दिन आग्रह गरेसँगै ओली सरकारमा रहेका मन्त्रीका सल्लाहकार टिम र स्वकीय सचिवालयका टिममाथि पनि प्रश्न सिर्जना भएको छ । मन्त्रीको सचिवालयमा रहेका कर्मचारी र सल्लाहकार पनि जागिर खानकै लागि भर्ना भएकाले मन्त्रालयको काम प्रभावकारी नभएको तर अनावश्यक खर्च भइरहेको भन्दै विरोध हुन थालेको छ ।
मन्त्रीहरुले जागिर खुवाउनकै लागि सल्लाहकार तथा स्वकीय सचिवालयमा असंख्य टिम राख्ने गरेका छन् । वर्षौंदेखिको यस्तो परम्परालाई दुई तिहाइ बहुमत प्राप्त सरकारका मन्त्रीहरुले पनि अवलम्बन गर्दै आउँदा सरकारको कामकारबाही प्रभावकारी देखिन नसकेको प्रशासनविद्को तर्क छ ।

(Visited 35 times, 1 visits today)
Loading comments...