शनिवार २८ मंसिर, २०७६ (Saturday, 14th December 2019)
२८ मंसिर, २०७६ (14 December 2019)

कालोसूचीमा राख्ने चेतावती पछि ८ बर्षमा बन्यो दोर्दीखोलाको पुल

नवराज पहाडी
4 weeks ago
15/11/2019

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाको प्रवेश नाकाको दोर्दीखोलामा निर्माण कार्य थालिएको ८ बर्षपछि मोटरेवल पुल निर्माण भएको छ । उक्त पुलको निर्माण कम्पनीले ढिला गरेका कारण कालोसूचीमा राख्ने चेतावती पछि पुलको निर्माण कार्य पुरा भएको हो ।

सो पुलले बेसीशहर नगरपालिका– ११ को चिती स्थित चित्रे र दोर्दी गाउँपालिका– ४ नौथर शेरा गाउँलाई जोड्ने काम गरेको छ । निर्माण थालिएको २ बर्षमा निर्माण सम्पन्न हुनुपर्ने पूल ठेकेदार कम्पनीको लापरबाहीका कारण निर्माण कार्यमा ढिलाई हुँदै आएको थियो । लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले ठेकेदारलाई कालोसूचिमा राख्ने चेतावनी दिएपछि पछिल्लो समय पुल निर्माण कार्यले गति लिएको बताए ।

दोर्दी गाउँपालिका– ४ नौथर सेराका मोहनप्रसाद घिमिरेले निर्माण सुरु गरेको लामो प्रतीक्षापछि पूल निर्माण सकिएको बताए । जिल्ला विकास समितिका पूर्वसदस्य समेत रहेको घिमिरेले भने ‘दोर्दीखोलामा पुल नबन्दा सिंगो दोर्दी गाउँपालिकालाई समस्या थियो । ठेकेदारको हेल्चक्र्याईले निराश कनाएको थियो ।’ उनका अनुसार यतिबेला पुलको निर्माण कार्य पुरा भएको भनेर गाडी गुड्न दिइएको छ । यसले मानिसलाई आवतजावत गर्न मात्र हैन गाडीमा गाउँसम्म खाद्यन्न लगायतका सामग्री ढुवानी गर्न सजिलो भएको छ ।

उक्त खोलामा पुल नबन्दा बर्षा याममा खोलाले मानिस समेत बगाएर ज्यान जाने गरेको दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले बताए । उनले भने, ‘यो पुल बनेसँगै अब सिंगै दोर्दी गाउँपालिकाका स्थानीयबासीलाई आवत जावतमा सहज भएको छ ।’ उक्त पुलबाट दोर्दी गाउँपालिकाको १ र २ नंबर वडाबाहेक सबै वडाबासी लाभान्वित हुनेछन् । त्योसँगै पुल बनेपछि स्थानीय तथा दोर्दीखोलामा निर्माणधीन जलविद्युत आयोजनाका निर्माण सामग्री ढुवानीमा समेत सहज हुने भएको छ ।

उक्त मोटरेवल पुल २०७० असार मसान्तमा निर्माण सक्ने सम्झौता २०६८ चैतमा शिलान्यास भएको थियो । निर्माणको जिम्मा हेटौंडाको सपना निर्माण सेवा र धादिङको जयबाबा निर्माण सेवाले लिएका थिए । दुई करोड ८० लाख रुपैयाँमा निर्माण सम्झौता भएको थियो । निर्माण कम्पनीलाई हालसम्म ७५ प्रतिशत बढी रकम भुक्तानी गरिसकिएको कार्यालयले जनाएको छ । डिभिजन कार्यालयका अनुसार पूल निर्माणमा ढिलाई गरेपछि निर्माण कम्पनीलाई सम्झौता रकमको १० प्रतिशत जरिवाना गरिएकोे छ । जरिवाना रकम करीब २८ लाख रुपैयाँ हुन आउछ ।

पुलको निर्माण लगभग सकिएको सडक डिभिजन दमौलीका ईन्जिनियर ठाकुरप्रसाद भण्डारीले बताए । उनका अनुसार पुलको दायाँबायाँ छेउमा डेढ सय मिटर ग्याविन लगाएपछि पुल निर्माणको कार्य सम्पन्न हुनेछ । सो पुलको लम्बाई ६० मिटर र चौडाई ६ मिटर छ । दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले उक्त पुलको निर्माण कार्य अलपत्र हुँदा मन्त्री, सांसद, सीडीओ, सडक डिभिजनसम्म पटक–पटक गुहार गरेर निर्माण सम्पन्न गराउनु परेको दुखेसो पोखे ।

(Visited 23 times, 1 visits today)
Loading comments...