शनिवार २८ मंसिर, २०७६ (Saturday, 14th December 2019)
२८ मंसिर, २०७६ (14 December 2019)

बङ्लादेशका राष्ट्रपतिको चन्द्रगिरि जाने कार्यक्रम रद्द, भ्रमण दलका सदस्य गरे चन्द्रगिरिको अवलोकन

राजधानी समाचारदाता
4 weeks ago
15/11/2019

काठमाडौँ । बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडौँको चन्द्रगिरि हिल्समा अवलोकन भ्रमण गरेका छन् । भ्रमण दलमा रहेका बङ्लादेशका सांसदहरु, राष्ट्रपति कार्यालयका उच्च अधिकारी तथा सल्लाहकार, राजनीतिक दलका नेता, बङ्लादेशकै परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, अन्य विशिष्ट व्यक्तिहरुलगायत २७ जनाले अवलोकन भ्रमण गरेका हुन् ।

उनीहरुलाई चन्द्रागिरि केबलकारमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महाप्रबन्धक अभिषेकविक्रम शाह, सञ्चालक अम्बिकाप्रसाद पौडेललगायतले स्वागत गरेका थिए ।

भ्रमण दलका सदस्यले चन्द्रगिरि हिल्सको केबलकारमार्फत हिल्समा पुगेर प्राकृतिक सौन्दर्यको अवलोकन गरेका थिए । अध्यक्ष ढकालले उक्त लिमिटेडअन्तर्गत निर्मित विविध एकीकृत पर्यटकीय संरचनाका बारेमा जानकारी गराएका थिए ।

भ्रमणमा सहभागी बङ्लादेशका पाहुनाले चन्द्रगिरि क्षेत्रको प्रशंसा गर्दै यस भ्रमणबाट नेपालमा बङ्लादेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे । चन्द्रागिरि हिल्सको अवलोकन भ्रमणका लागि बङ्लादेशका राष्ट्रपति हामिद चन्द्रागिरि जाने पूर्वनिर्धारित कार्यक्रम भने अन्तिम समयमा विशेष कारणले रद्द भएको थियो ।-रासस

(Visited 35 times, 1 visits today)
Loading comments...