शनिवार २८ मंसिर, २०७६ (Saturday, 14th December 2019)
२८ मंसिर, २०७६ (14 December 2019)

श्रीलङ्काको नयाँ राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार राजापाक्षे विजयी

एजेन्सी
4 weeks ago
17/11/2019

श्रीलङ्का । श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बनेका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित भएका छन् ।

झण्डै दश बर्ष अगाडी रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका राजापाक्षेले झण्डै ५३ प्रतिशत मत प्राप्त गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।

उनले सत्तारुढ दलका तर्फबाट उम्मेदवार बनेका सजिथ प्रेमादासलाई पराजित गरेका हुन् । उनको स्पष्ट जित भएको छ, हामी धेरै खुशी छौँ, गोटा नयाँ राष्ट्रपति बन्नु भएको छ,’ राजापाक्षेका प्रवक्ता केहेलिया राम्बुक्वेलाले भने ।

उनले सपथग्रहण कार्यक्रम एक दुई दिनमा हुनसक्ने बताए । राष्ट्रपतिमा नवनिर्वाचित राजापाक्षे पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् ।

प्रभावशाली तथा विवादास्पद नेता महेन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपति बनेका थिए । सोही कार्यकालमा गोटाबाया रक्षाामन्त्री थिए । नयाँ राष्ट्रपतिमा निर्वाचित राजापाक्षे ७० बर्षका हुन् भने उनसँग प्रतिश्पर्धा गर्ने प्रेमादास ५२ बर्ष हुन् ।

राजापाक्षे निर्वाचित भएको नतिजालाई उनका प्रतिश्पर्धी प्रेमादासले पनि सार्वजनिक रुपमा स्विकार गरिसकेका छन् । निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशाप्रियाले शनिबार भएको मतदानका क्रममा कुल मतदाता मध्ये झण्डै ८० प्रतिशत मतदाता सहभागी भएको बताए ।

निर्वाचनका बेला उम्मेदवारहरुले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्युनिकरण, सार्वजनिक सेवाको सुधार लगायतका विषयलाई मुख्य एजेण्डा बनाएका थिए । मतदानका लागि देशभरी १२ हजारभन्दा बढी मतदान केन्द्र राखिएको थियो भने ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

राष्ट्रपति चयनका लागि एक करोड ६० लाख मतदाता रहेका थिए भने ३५ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा थिए । सन् २००९ मा गृहयुद्ध अन्त्य भएपछि भएको यो तेस्रो निर्वाचनमा वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेना भने यस निर्वाचनमा सहभागी भएनन् ।

सात महिना अघि २ सय ५३ जनाको ज्यान जानेगरी भएको भएको घटनामा उनको आलोचना भएकाले उनी अहिले उम्मेदवार नबन्नु भएको विश्लेषण गरिएको छ ।

इस्लामिक स्टेट्स समूहसँग सम्बद्ध व्यक्तिले श्रीलङ्का गिर्जाघर र होटलमा शृङ्खलावद्ध विस्फोटन गराउँदा कम्तीमा २ सय ५३ व्यक्तिको मृत्यु भएको थियो ।

सरकारले त्यो घटना हुनुमा गुप्तचरी निकाय तथा सुरक्षा निकायको कमजोरी रहेको स्वीकारेको छ । त्यसैले अहिले श्रीलङ्कामा राष्ट्रिय सुरक्षा सबैभन्दा ठूलो मुद्दा बनेको छ भने उम्मेदवारले अल्पसङ्ख्यको समानता, बेरोजगारी, अन्य सामाजिक विषय, गरिबी अन्त्य, गुणस्तरीय घर निर्माणलगायतका विषयलाई चुनावी एजेण्डा बनाएका थिए ।

अन्तर्राष्ट्रिय विषयमा भने राजापाक्षले श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्नेमा जोड दिएपनि प्रेमादासले भारत र अमेरिकासँग थप सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । –रासस/एएफपी

(Visited 55 times, 1 visits today)
Loading comments...