शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

वायु प्रदूषणको च्याम्वर बन्दै उपत्यका : श्वासप्रश्वास, उच्च रक्तचाप र आँखासम्बन्धी रोगको अत्याधिक जोखिम

सविन शर्मा
3 weeks ago
18/11/2019

काठमाडौं । मौसम परिवर्तन भएसँगै उपत्यकामा प्रदूषणको मात्रा बढ्दो क्रममा छ । हरेक वर्ष प्रदूषणको विषय उठे पनि सरकारले न्यूनीकरणका लागि प्रभावकारी योजना ल्याउन सकेको छैन । प्रदूषणका कारण उपत्यकावासी आक्रान्त बनिरहेका छन् ।
प्रदूषण बढ्दै जाँदा उपत्यकामा बिरामीको संख्या बढ्दो क्रममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले सार्वजनिक गरेको तथ्यांकले पनि नेपालमा वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहेको देखाएको छ । वायु प्रदूषणको मापन गर्ने विषयमा सरकार सचेत भए पनि त्यसलाई न्यूनीकरण गर्ने विषयमा सरकारको योजना देखिँदैन । स्थानीय तहहरूले प्रदूषण न्यूनीकरणका लागि कुनै योजना बनाएका छैनन् ।

भारतको नयाँ दिल्ली र आसपासमा फैलिएको प्रदूषित वायुको प्रभाव नेपालमा समेत प¥यो । नेपालको पश्चिम तराईका भू–भागमा दूषित वायुको प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग मातहतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनदेखि पश्चिमतर्फका तराईका भूभागमा भारतीय वायुको आंशिक प्रभाव परेको छ । उद्योग, कलकारखाना र सवारीबाट निस्कने धुलो, धुवाँ, घरायसी र अन्य प्रयोजनका लागि बालिने आगोका कारण यो मौसममा वायु प्रदूषण बढ्ने गरेको विज्ञहरू बताउँछन् ।

दक्षिण एसियामा वायु प्रदूषणको कारण हुने मृत्युदर नेपालमा सबैभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ । साथै वायु प्रदूषण पनि उच्च छ । हेल्थ इफेक्ट्स इन्स्टिच्युट र इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनले युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियासँग मिलेर विश्वमा हावाको अवस्थासम्बन्धी रिपोर्ट २०१८ सार्वजनिक गरेको छ । जसअनुसार नेपालमा प्रति १ लाख मृत्युमा २१५ वायु प्रदूषणका कारण हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ । यो दक्षिण एसियाकै उच्च हो । दोस्रो स्थानमा पाकिस्तान छ, त्यहाँ १ लाखमा २०७ को वायु प्रदूषणका कारण मृत्यु हुन्छ । बंगलादेशमा १९८, भारत १९४ छ । सबैभन्दा कम भुटानमा छ, त्यहाँ १ लाख मृत्युमा वायु प्रदूषणका कारण ११४ छ । नेपालमा वायु प्रदूषणका कारण हुने मृत्युको दर चीनको भन्दा पनि बढी पाइएको छ । चीनमा यो दर ११७ रहेको विश्वमा हावाको अवस्थासम्बन्धी रिपोर्टले जनाएको छ ।

नेपालको पनि विशेष गरी काठमाडौं उपत्यका बढी प्रदूषित सहरका रूपमा रहेको पाइएको छ । लिडर्स नेपालका महासचिव धीरज पोखरेलका अनुसार वायु प्रदूषण बढ्दो हुनुको मुख्य कारण काठमाडौंको प्रदूषित हावा नै हो । उपत्यकाको प्रदूषणको मुख्य कारक भनेको नै सवारीसाधन भएको उनी बताउँछन् । प्रदूषणको मात्रा बिहान र बेलुकाको समयमा बढी देखिने गरेको पाइएको छ । प्रदूषणको मात्रा बिहान ६ बजेदखि बढ्दै जान्छ । १२ बजेपछि बिस्तारै घट्दै जान्छ । फेरि साँझ ६ बजेदेखि राति ११ बजेसम्म क्रमशः बढ्दै जाने गरेको वातावरण विभागले जनाएको छ । यो समयमा नेपालको वायुको गुणस्तरसम्बन्धी मापदण्डभन्दा २ गुणाभन्दा बढी हुने गरेको पाइएको छ । नेपालले पीएम २.५ सम्मको धुलोको कणको मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटरलाई सामान्य मानेको छ ।

क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक डा. आमोद पोखरेलका अनुसार उक्त वायु प्रदूषणको मुख्य स्रोतमा पूर्ण रूपमा जल्न नसकेको दाउरा, कोइला, डिजेल, पेट्रोल, मट्टीतेल बाल्दा निस्कने धुवाँ नै हो । बच्चा तथा वृद्धहरूमा यसको असर एकदमै बढी हुने गरेको उनको भनाइ छ । यसले गर्दा श्वासप्रश्वाससम्बन्धी समस्या, उच्च रक्तचाप तथा आँखासम्बन्धी समस्या देखापर्ने गरेको उनले जनाए । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार यसले बच्चाको दिमागमा पनि असर गर्ने गर्दछ । यसबाट उनीहरूको क्षमता वृद्धिमा पनि यसले नकारात्मक असर पार्ने गरेको पाइएको छ ।

सुरक्षित ठाउँ

जमिनबाट २५० मिटर माथिसम्म प्रदूषित हावाको तह रहिरहेका कारण काठमाडौं उपत्यकाका भित्री भाग त वायु प्रदूषणबाट सुरक्षित छैनन् । तर, छेउछाउका भू–भाग वायु प्रदूषणबाट कम प्रभावित छन् । उद्योग कलकारखाना नभएका, इँटाभट्टा नभएका, रूखबिरुवा भएका, जंगलनजिकका र मध्य खाल्डोभन्दा केही माथिका, सवारीसाधनको कम चाप भएका ठाउँ वायु प्रदूषणबाट कम प्रभावित छन् ।

यसरी रोक्न सकिन्छ प्रदूषण

यसका लागि सबैभन्दा पहिले काठमाडौंको प्राकृतिक वातावरण पहिलेकै जस्तो बनाउन पहल गर्नुपर्छ । प्राकृतिक र भौगोलिक भू–बनावट मानिसले फेर्न सक्दैन तर भएको प्रदूषण घटाउन, उत्सर्जन घटाउन र यसबारे जनचेतना जगाउन सकिन्छ । सरकार, नीति निर्माता यसबारे जानकार हुनुपर्ने वातावरणवीद्को तर्क छ । कुनै पनि उद्योगधन्दा, भौतिक संरचना, विकास निर्माणका काम गर्नुभन्दा पहिले हामीले फेर्ने हावा र वातावरणमा त्यसले के–कस्तो असर पार्ला भन्ने विचार गरेर मात्रै गर्नु पर्ने उनीहरुको सुझाव छ ।

वायु प्रदूषणका हटस्पट

काठमाडौं उपत्यकाको वायु प्रदूषणमा विद्यावारिधिको शोध अध्ययन गरेका त्रिभुवन विश्वविद्यालयका रिसर्च ल्याबोरेटोरीका प्रमुख वैज्ञानिक डा. रामप्रसाद रेग्मीका अनुसार एयरपोर्टदेखि काभ्रेका बनेपा र पनौतीसम्मका भेग वायु प्रदूषणका हटस्पट हुन् । ‘दिनहुँ जम्मा हुँदै बस्दै गरेको उपत्यकाको वायुमण्डलको वायु प्रदूषण दिउँसो बाहिरिने बाटो भएका कारण एयरपोर्टदेखि उतापट्टि भक्तपुर, नगरकोट, बनेपा र पनौती क्षेत्र सबैभन्दा प्रभावित छन्,’ उनले भने, ‘त्यसबाहेक अत्यधिक सवारीसाधन गुड्ने क्षेत्र पनि धेरै प्रभावित क्षेत्र हुन् ।’

प्रदूषणको कारक

काठमाडौं उपत्यकाको वायु प्रदूषण गराउने कारकमा अध्ययन गरिरहेको स्वच्छ ऊर्जा नेपाल (सीईएन)का अनुसार गएको काठमाडौं उपत्यकामा बिक्री हुनेमध्ये दुई तिहाइ इन्धन नै प्रमुख भएको सिइएनका कार्यक्रम संयोजक प्रशान्त खनालले बताए । जुन लगभग ७१ हजार किलोलिटर हुन आउँछ ।
त्यस्तै, सवारीसाधन र कहिले बनेर नसकिने सडकबाट उड्ने धुलो पनि मुख्य कारक मानिन्छ । सन् २००६ को एक अध्ययनअनुसार काठमाडौंमा त्यतिबेलाको वायु प्रदूषणको प्रमुख कारक सडकको धुलो र सवारीसाधनबाट निस्कने धुवाँ नै थियो । यस ८ वर्षको अवधिमा सवारी साधनको संख्या लगभग ३ गुणाले बढिसकेको अनुमान गरिन्छ । हाल काठमाडौं, भक्तपुर र ललितपुरमा इँटाभट्टाले वायु प्रदूषण बढाएको छ ।
अध्ययनअनुसार उपत्यकाको प्रदूषण सबैभन्दा बढी सवारीसाधनबाट ३८, सडकको धुलोबाट २५, कृषिबाट १८, इँटाभट्टाबाट ११, घरायसी र कलकारखानाबाट ३÷३ प्रतिशत र बाँकी अन्य कारणले भएको देखाएको छ । तर, हरेक ५ वर्षमा दोब्बर हुने उपत्यकाका सवारी साधनका कारण अहिले सवारीसाधनलगायत सबै प्रदूषणका कारण बढेर गएको वातावरणविद् भूषण तुलाधार बताउँछन् ।

 

पीएम २.५ मा प्रदूषणको मात्रा
धुलिखेल ः ४५ माइक्रोग्राम प्रतिघनमिटर
भक्तपुर ः ६४ माइक्रोग्राम प्रतिघनमिटर
पुल्चोक ः ४४ माइक्रोग्राम प्रतिघनमिटर
भैंसेपाटी ः ७७ माइक्रोग्राम प्रतिघनमिटर
रत्नपार्क ः ६७ माइक्रोग्राम प्रतिघनमिटर
शंखपार्क ः २४ माइक्रोग्राम प्रतिघनमिटर

 

वायु प्रदूषणको अनुसन्धाकर्ता एनएचआरसीले भने हटस्पट किटान गरेको छैन । यद्यपि, धेरै सवारीसाधन गुड्ने, इँटाभट्टा, कलकारखाना, सडक भत्काएर निर्माण गरिनसकेका क्षेत्र धेरैमा अन्यत्रभन्दा धेरै वायु प्रदूषण भइरहेको उसको आँकलन छ । काठमाडौं उपत्यकाको वायु प्रदूषणबारे विस्तृत र पूर्ण अध्ययन भने अझै पनि नभएको वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए ।
यसबाहेक काठमाडौं उपत्यकामा प्राकृतिक कारण र यसको भौगोलिक बनावटका कारण पनि यहाँको वायु प्रदूषण अन्यत्र जान नपाउने हुँदा दिनहुँ प्रदूषण थपिँदै गइरहेको काठमाडौंको वायु प्रदूषणमा अनुसन्धान गरेका डा. रामप्रसाद रेग्मी बताउँछन् । ‘बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म मात्र त्यो पनि कम मात्रामा मात्रै उपत्यकाको हावा पूर्वी बाटो बाहिरिन्छ,’ उनले भने, ‘अर्कोतिर चिसो हावा तल, तातो हावा माथि र डाँडाहरूको उचाइअनुसार बन्ने वायुमण्डलीय स्थिर अवस्थाले प्रदूषित वायु माथि जाने प्रक्रिया बिर्को लगाए जस्तै गरी बन्द हुन्छ ।’

 

(Visited 754 times, 1 visits today)
Loading comments...