आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

शिक्षकलाई तर्साएर गुणस्तर आउँदैन

नगेन्द्रराज पौडेल
4 weeks ago
18/11/2019

नगेन्द्रराज पौडेल

शिक्षा मन्त्रालय मातहतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विगत १० वर्षदेखि सिकाइको नमुना परीक्षण गर्दै आएको छ । यसो त विगतदेखि एसईई मात्र एउटा त्यस्तो परीक्षा हो, जसलाई तेस्रो पक्ष (थर्ड पार्टी)द्वारा परीक्षा सञ्चालन, परीक्षण र नतिजा प्रकाशन गरिन्छ । यसबाहेक अन्य कक्षाका हकमा विद्यालय र शिक्षक, जसले पठनपाठन गराउँछन् । उनीहरू नै परीक्षण, मूल्यांकनका लागि योग्य मानिने चलन छ । नमुनाका रूपमा भने गुणस्तर परीक्षण केन्द्रले पुनः परीक्षा लिएर नतिजा विश्लेषण गर्ने  चलन छ ।
यस वर्षको नमुना परीक्षणमा नेपालका करिब ३७ प्रतिशत विद्यालयका बालबालिकाको सिकाइ कमजोर रहेको, ३९ प्रतिशतको सामान्य रहेको, २३ प्रतिशतको मध्यम रहेको तथा उच्च सिकाइ १ प्रतिशतको मात्र रहेको निष्कर्ष उक्त केन्द्रको छ । १ हजार ९ सय ९९ विद्यालयमा पुुगेर कक्षा ५, ८ र १० का विद्यार्थीको नमुना परीक्षणपश्चात् केन्द्रले उक्त प्रतिवेदन सार्वजनिक गर्दै सिकाइको स्तर घटेको जनाएको हो ।

किन घट्छ गुणस्तर ?

शिक्षामा गुणस्तर भएन भनेर निकै गुनासो गरिएको पाइन्छ । शैक्षिक गुणस्तर निरपेक्ष पनि हुँदैन र शिक्षामा देखिने परिवर्तन अरू क्षेत्रजस्तो तत्काल हुँदैन । सन् १९९० बाट थालिएको ‘सबैका लागि शिक्षा’को नारासँगै शिक्षाको आधुनिकीकरणमा थुप्रै काम भएका छन् । सबैका लागि शिक्षाले २५ वर्षे यात्रा सन् २०१५ मा बिसाइसकेको छ । तर, पनि त्यसले तोकेका लक्ष्य, प्रतिबद्धता तथा उद्देश्यहरूलाई अन्य अभियानले पनि कुनै न कुनै रूपमा प्रतिनिधित्व गरिरहेका छन् । दिगो विकास लक्ष्यको लक्ष्य नम्बर ४ मा गुणस्तरीय शिक्षा र लक्ष्य नम्बर ५ मा लैंगिक समानताले प्रश्रय पाएको छ भने सहस्राब्दी विकास लक्ष्यमा पनि शिक्षासम्बन्धी केही प्रावधान राखिएका छन् ।
बालमैत्री विद्यालय, विद्यालय शान्ति क्षेत्रजस्ता पक्ष शैक्षिक गुणस्तरका लागि र खासगरी विद्यार्थी टिकाउ र बिकाउ प्रयोजनका लागि निकै प्रयोगमा आएका छन् । अहिले शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि विद्यालय तहसम्म लैजान आवश्यक छ । अब पठनपाठन विद्यालयमा मात्र भन्ने मान्यता सञ्चार र सूचनाका कारणले क्रमशः हराउँदै छ । जहाँ विद्यालय त्यहाँ पढाइ हैन, जहाँ बच्चा त्यहाँ सिकाइ आवश्यक भइसकेको छ । अहिलेको समय भनेको बालबालिका विद्यालय जाने होइन, बालबालिका भएको ठाउँमा विद्यालय आउने हो । यसका लागि प्रविधिमैत्री सिकाइ आजको प्रमुख आवश्यकता हो ।

कुुबेलामा शिक्षक बिदाइ गर्ने प्रयास

अहिले शैक्षिक गुणस्तरका लागि शिक्षकलाई गाली गर्ने नराम्रो चलन भित्रिएको छ । स्थायी भई लामो समयसम्म कार्यरत शिक्षकलाई बदलिँदो परिस्थितिअनुसार अंग्रेजी माध्यममा पठनपाठन गराउन नसकेको आरोपमा बिदाइ गर्न विद्यालय व्यवस्थापन समिति आत्तुर देखिन्छन् । एउटा परिस्थितिमा सेवा प्रवेश गरेको शिक्षकलाई बदलिँदो परिस्थितिको भारी बोकाउन मिल्ने कि नमिल्ने ? कुनै पनि शिक्षक, सेवा प्रवेश गर्दा नेपाली भाषा पढेर, पढाएर परीक्षा दिएर उत्तीर्णसमेत भएर विद्यालयमा आएको हो । उसको सेवासर्तविपरीत उसलाई बिदाइ गर्ने प्रसंग उपयुक्त हुँदै होइन ।

 

 

शिक्षकले महिनावारी बुुझ्न ४ महिनापारिको चौमासिक  कुर्नुपर्छ ? भोको पेटबाट हामी गुणस्तरीय शिक्षाको परिकल्पना कति दिनसम्म गरिरहन सकौला ?

 

ऊ सेवामा प्रवेश गर्दा अंग्रेजी माध्यम थिएन । अहिले संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्ने निहुँमा सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गर्न, गराउन थालेका छन् । ४ कक्षाबाट मात्र अंग्रेजी पढेर शिक्षक भएकाले जतिसुकै मिहिनेत गरे पनि पठनपाठनका लागि अंग्रेजी मध्यममा आफूलाई अब्बल साबित गराउन सक्दैनन् । यसैका आधारमा उनीहरूलाई अयोग्य भन्दै राजीनामा गराउन दबाब दिने, मानसिक रूपमा तनाव दिने कुुनै पनि हालतमा राम्रो काम हुँदै होइन ।
नेपालको संविधानको धारा ६ ले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा भनेको छ । संविधानकै धारा ३१(५) ले ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ’ भनी उल्लेख गरेको छ । मातृभाषामा पठनपाठन गर्न सकिने व्यवस्था पनि गरेको छ । अहिले नेपालमा १२३ जति भाषा छन् भनिन्छ । २० वटाभन्दा बढी भाषामा त पाठ्यपुुस्तक नै छापिइसकेका छन् । यही पारा हो भने भोलि कुनै समुदायको विद्यालयले हामीले गुरुङ भाषामा पढाउँछौं । गुरुङ भाषामा पठनपाठन गर्न नजान्ने वा नसक्ने शिक्षकलाई घर जा भन्यो भने के हुन्छ ? किनभने गुरुङ भाषा पढेर, पढाएर र यही भाषामा परीक्षा दिएर आएका शिक्षक त आजसम्म कुनै पनि छैनन् । तसर्थ, आजको जनशक्तिलाई आगतको आवश्यकतासँग अद्यावधिक बनाउँदै लैजानुचाहिँ पर्छ तर त्यसैका आधारमा उसको रोजगारीका सर्त तलमाथि पारिनुुहुँदैन ।

शिक्षक योग्य पनि छन्

अहिले शतप्रतिशत शिक्षक तालिम प्राप्त छन् । पहिल्यै तालिम लिएकाहरूलाई पनि समयसमयमा, पुनर्ताजगी लगायतका विभिन्न तालिम दिइएको छ । नवप्रवेशीका हकमा तालिम अनिवार्य गरिएको छ । शिक्षक हुनका लागि अध्यापन अनुमतिपत्र लिनुपर्ने केहीअघिको अनिवार्यता र अहिले केही विषयमा शिक्षा विषय अध्ययन नगरे पनि ती विषयमा शिक्षक हुन सकिने प्रावधान छ । तर, तालिम कक्षाकोठामा कति पुुग्यो कति पुुगेन यसको समीक्षा हुन भने बाँकी नै छ ।

शिक्षक सुविधा

शिक्षाको विकास शिक्षककै लगनशीलता र समर्पणबाट मात्र सम्भव छ । गुणस्तरीय सिकाइका लागि शिक्षकको विकल्प अझै राम्रो शिक्षक हुन सक्ला, अरू हुनै सक्दैन । खोज विधिले विद्यार्थी स्वयं सक्रिय नभएसम्म सिकाइ हुँदैन भन्छ । तर, खोज विधिको प्रयोगका लागि विद्यार्थीलाई शिक्षकले नै प्रेरित गरिदिनुपर्छ । तसर्थ, शिक्षकको सम्मान र मर्यादाबाट मात्रै विद्यार्थीको सिकाइ प्रभावकारी हुन्छ ।
सरकारले निजामतीसरह शिक्षकलाई सेवा, सुविधा दिन थालेको धेरै भयो । सुरुमा अन्य कर्मचारीको तलब वृद्धि हुँदा शिक्षकको हुँदैन्थ्यो । संघर्ष नै गर्नुपथ्र्यो । पेन्सनका हकमा पनि शिक्षकहरूले धेरै संघर्ष गरिआएका हुन् । अहिले निजामतीसरह तलब, सेवा, सुविधा र निवृत्तिभरणसमेतको व्यवस्था छ । अझै पनि शिक्षकलाई जति सेवा सुविधा दिनुपर्ने हो त्यति उपलब्ध नभएको अवस्था सही सत्य हो । एउटा शिक्षा शाखाको कुनै निजामती कर्मचारी सरकारी कामकाजकै सन्दर्भमा एक दिन कुनै विद्यालय जान्छ भने उसले नियमानुसारको दैनिक भ्रमण भत्ताको सुविधा पाउँछ । उही विद्यालयको शिक्षक उही शिक्षा शाखामा महिनामा दुईपटक कामकाजकै सिलसिलामा आउँदा उसले अतिरिक्त सुविधाका नाममा एक पैसा पनि पाउँदैन । दैनिक भ्रमण भत्ताको त कुरै छाडिदिऊँ । एउटा निजामती सरुवा भई जाँदा पाँच जना परिवारसमेतको दैनिक भ्रमण भत्ता पाउँछ तर उहीसरहको शिक्षक सरुवा हुँदा कुनै पनि रकम पाउने व्यवस्था छैन । यसरी सेवामा विभेद गरेर उच्चस्तरीय कार्यसम्पादन मात्र खोज्ने प्रवृत्ति कति सान्दर्भिक छ सोचांै ।
शिक्षकको वृत्ति विकासको पाटो पनि ओझेलमा छ । निजामतीमा आएको २४ (घ) शिक्षकका लागि एकपटक मात्र आएर थन्कियो । आवधिक बढुवा निरन्तर हुनैपर्छ । कुर्चीको हानाथाप नहुने, रकममा पनि खासै अन्तर नआउने तर काम गर्नेलाई सम्बलन प्राप्त हुने आवधिक बढुवालाई हरेक पाँच÷पाँच वर्षका अन्तरालमा कार्यान्वयन गरिनुपर्छ र मात्र शिक्षकमा जोस, जाँगर र हौसला आउँछ ।

आजको युुग विज्ञान र प्रविधिको युुग हो । शिक्षकलाई विज्ञान र प्रविधिसँग परिचित हुन जरुरी छ । यसका लागि शिक्षकलाई ल्यापटप किन्न प्रेरित गरेको देखिन्छ । तर ८०÷९० हजारको ल्यापटप किनेर अपडेट हुन जुन निजामतीले शिक्षकलाई सल्लाह दिन्छ । उसैले आफूले विद्यालयमा जाँदा निरीक्षण पुस्तिकामा लेख्ने कलमसमेत आफ्नो नभई सरकारी (कार्यालयको) हुन्छ । हामीमा लाज छैन । ७० रुपैयाँको पाइलट पेन अफिसबाट माग फाराम भरेर लिन्छांै, हामीले नै तिनै शिक्षकहरूलाई निजी खर्चमा ल्यापटप किनेर पठनपाठनमा प्रयोग गर्ने सल्लाह दिन पछि पर्दैनौं ।

महिनावारी सधंै पारी

कुनै पनि सरकारी निकाय त्यस्तो नहोला जहाँ कर्मचारीले तलब खानलाई प्रत्येक महिनाको २५ गते काट्नुपरोस् । २५ गतेभित्रै तलब खाने बानी परेका हामी निजामतीहरू नै शिक्षकका लागि चौमासिक निकासा दिन्छौं । एउटा शिक्षकले महिनावारी बुुझ्न चार महिनापारि कुर्नुुपर्छ । चार महिनापारिलाई कहिलेसम्म महिनावारी भन्नुपर्ने हो ? भोको पेटबाट हामी गुणस्तरीय शिक्षाको कोरा कल्पना कति दिन गर्ने हो ? यसबारेमा पनि शैक्षिक गुणस्तरका लागि शिक्षकलाई दोष दिनेले सोच्नुपर्ने देखिन्छ ।

 

(Visited 12,880 times, 4 visits today)
Loading comments...