सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

चर्कंदो हङकङ आन्दोलन

विनोद नेपाल
3 weeks ago
19/11/2019

विनोद नेपाल

विश्वमा झन्डै २ सय मुलुक छन् । तीमध्ये कतिपय सधैं शान्त छन् भने कहीँ आतंकले र कतै अन्य विभिन्न कुराले र बाह्य तŒवले पनि पिरोलिरहेको छ । केहीमा चाहिँ आन्तरिक कारणले आन्दोलन भइरहेका छन् । वर्तमानको कुरा गर्दा इरान, इराक, बोलिभिया, लिबिया, चिली आदि मुलुकमा आन्दोलन भइरहेका छन् । इरानमा पेट्रोलको मूल्य वृद्धिको विरोधमा आन्दोलन भइरहेको हो भने उता इराकमा चाहिँ भ्रष्टाचार र बेरोजगारी आदि विषयलाई लिएर जनता सडकमा ओर्लिएका छन् । बोलिभियामा राष्ट्रपति इभो मोरालेसको राजीनामापश्चात् गठित अन्तरिम सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । त्यहाँ प्रहरी र सैनिकको प्रदर्शनकारीका साथ भएको हिंस्रक झडपमा केही प्रदर्शनकारी मारिएका छन् । लिबियामा विद्रोही समूह र सरकारबीचको द्वन्द्व जारी छ । उता दक्षिण अमेरिकी मुलुक चिलीमा लोकतान्त्रिक संविधानको माग गर्दै महिना दिनदेखि चर्किएको आन्दोलनको आगोले पनि यसै साता समाचारमा ठाउँ लियो, जुन हालै जनमत संग्रहको सहमतिमा टुंगिएको छ ।
आन्दोलनहरूमा सबैतिर हिंस्रक झडप भएका छन्, जसमा कतिपयको मृत्युसमेत भएको छ । यसरी विश्वका विभिन्न मुलुकमा हिंस्रक आन्दोलन भइरहेका छन् । कतै भने वैयक्तिक स्वतन्त्रता र नागरिक हक–अधिकारका लागि राजनीतिक आन्दोलन पनि भइरहेका छन् ।

यसअघि पनि विभिन्न मुलुकमा विभिन्न विषयका आन्दोलन हुँदै आएका र मत्थर हुँदै गएका उदाहरण छन् । तर, केही आन्दोलन यस्ता हुन्छन्, जो निकै लामो समयसम्म चलिरहन्छन् । यस्तै, आन्दोलनमध्येको एक भएको हो, हङकङमा जारी आन्दोलन । हङकङमा लोकतन्त्रको माग गर्दे विगत २४ सातादेखि हरेक सप्ताहान्तमा प्रदर्शन हुँदै आएको छ । त्यहाँ गत जुनदेखि प्रारम्भ भएको आन्दोलन अहिलेसम्म जारी छ । प्रस्तावित सुपुर्दगी विधेयक, जुन यस आन्दोलनको प्रमुख कारक थियो । त्यो हङकङ सरकारले फिर्ता लिइसकेको छ । तर, आन्दोलनकारी अझैं थामिएका छैनन् । उनीहरू त्यहाँका कार्यकारी प्रमुखको पदमुक्ति तथा नागरिक स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको माग गर्दै आन्दोलनमा होमिएका छन् ।
गत शुक्रबार प्रदर्शनकारी सडकमा उत्रिए र कडा प्रदर्शन गरे । हङकङमा जारी हिंस्रक प्रदर्शन तथा बन्द जारी रहँदा त्यहाँ विद्यालयहरू पनि प्रभावित हुन पुगे । प्रदर्शनकारीमा चीनको सरकारविरुद्ध ठूलो आक्रोश छ । यस आन्न्दोलनको असर लन्डनसम्म पुगेको त्यहाँ एक उच्च अधिकारी लोकतन्त्र समर्थक प्रदर्शनकारीको निसाना बनेको बताइएको छ । लोकतन्त्र समर्थक प्रदर्शनकारीको आन्दोलन रोकिने लक्षण देखिएको छैन । उता बेइजिङले यसप्रति आफ्नो कडा प्रतिक्रिया दिएको छ ।

बेइजिङले लन्डनमा भएको घटनालाई अत्यन्त गम्भीर रूपमा लिएको बताएको छ । उसका अनुसार यो सामान्य आक्रमण होइन, यो भयावह स्थिति हो । चीनले बेलायतमाथि प्रदर्शनलाई सहयोग गरेको आरोप लगाएको छ भने लन्डन प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । आफू हङकङमा कुनै पनि प्रकारको हिंसाविरुद्ध रहेको भन्दै बेलायत सरकारले चीन र हङकङसँग यस संकटको राजनीतिक समाधान निकाल्ने प्रयास गर्न आग्रह गरेको छ । स्मरणीय छ, चीनका राष्ट्रपति सी चिनफिङले हालै दिएको चेतावनीपछि पनि आन्दोलन थामिएको छैन । बरु यसपछि आन्दोलनको स्वरूप केही फरक र व्यापक भएको छ ।
यसअघि हङकङमा बेइजिङ समर्थक एक नेतामाथि चक्कु प्रहार गरिएको थियो । सो आक्रमणबाट उनी गम्भीर रूपमा घाइने भए । आक्रमणकारीसमेत तीन जना घाइते भएका सो आक्रमणको भिडियो व्यापक रूपमा फैलिएपछि चीनले यस विषयलाई लिएर कडा प्रतिक्रिया दिएको थियो । चीनले यो घटना हङकङमा हुन गइरहेको स्थानीय निर्वाचनलाई प्रभावित पार्ने कदम भएको बताएको छ । हङकङ तथा मकाउ मामिलाका प्रवक्ता जु लुइङले यसै घटनालाई लिएर यो एक गम्भीर आपराधिक कृत्य भएको टिप्पणी गरेका थिए । उनका अनुसार यो विशुद्ध चुनावी हिंसा हो । उनले निर्वाचनका समयमा कानुन व्यवस्था सुदृढ बनाउने जिम्मेवारी प्रहरीको भएको र प्रहरीले त्यसो गर्ने पनि बताएका थिए । वास्तवमा हङकङमा जारी विरोध प्रदर्शनका क्रममा गत साता बहुतले पार्किङ भवनबाट खसी एक विद्यार्थीको मृत्यु भएपछि यहाँ विरोध प्रदर्शन उग्र भएको हो । यसपछि नै प्रदर्शनकारी राजनीतिकर्मीमाथि पनि जाइलाग्न थालेका बताइन्छ ।

 

चीन सरकारका तर्फबाट कुनै किसिमको सकारात्मक संकेत प्राप्त नहु“दा संघर्षको स्वरुपसहित प्रदर्शनकारीले गत सोमबार आफ्नो रणनीति परिवर्तन गर्दै सबैतिर अवरोध पु¥याउने कदम चालेका छन्

त्यहा“का जनताले हालसम्म जेजस्ता स्वतन्त्रताको उपभोग गरे, त्यसको निरन्तरता एवं समय र परिवेशअनुरुप त्योभन्दा बढी लोकतान्त्रिक अधिकार चाहेको देखिन्छ

लगातारको प्रदर्शनपछि हङकङमा आर्थिक मन्दी उत्पन्न भएको बताइन्छ । केही महिनायता लगातार गरिएका सरकारविरोधी प्रदर्शनका कारण हङकङमा एक दशकयता पहिलोपटक आर्थिक मन्दी छाएको हो । स्मरणीय छ, हङकङले गत जुलाईदेखि लगातार आन्दोलनको सामना गर्दै छ र सेप्टेम्बरसम्मको अवधिमा विगतको तुलनामा देशको अर्थतन्त्र ३.२ प्रतिशतले ओरालो लागेको अनुमान छ । विरोध प्रदर्शनका कारण हङकङको जनजीवन प्रभावित भएको, पर्यटकको आगमन तथा आर्थिक कारोबार निकै घटेको र व्यवसाय निरन्तर घाटामा गएको पनि जनाइएको छ । सरकारद्वारा जारी विज्ञप्तिअनुसार आन्तरिक समस्याका कारण उपभोग्य वस्तु उत्पादन तथा लगानीका क्षेत्र निकै प्रभावित भएको छ । हिंसा अन्त्य गरी शान्ति स्थापना नै अर्थतन्त्र सुधारको प्रमुख सर्त भएको पनि विज्ञप्तिमा उल्लेख छ । पछिल्ला प्रदर्शनमा विवादास्पद विधेयक खारेज, कार्यकारी प्रमुख क्यारी लामको राजीनामा, प्रहरी दमनको स्वतन्त्र छानबिनलगायतका माग राखिँदै आएको छ ।
चीनले हङकङ मामिला आफ्नो आन्तरिक भएको बताउँदै आएको छ । उसले अन्य राष्ट्रलाई यसप्रति चासो नराख्न र प्रदर्शनकारीलाई नउक्साउन चेतावनी पनि दिएको छ । खासगरी बेलायत र अमेरिकालाई यस्तो चेतावनी दिएको र तिनकै कारण आन्दोलन उग्र भएको उसको दाबी छ । स्मरणीय छ, सन १९९७ मा बेलायतबाट फिर्ता लिँदा चीनले ‘एक देश दुई व्यवस्था’ सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो । यसअघि सन् २०१४ मा पनि निर्वाचनताका त्यहाँ नागरिक चीनको हस्तक्षेपविरुद्ध आन्दोलनमा उत्रिएका थिए, जुन आन्दोलन ११ साता चलेको थियो । हङकङलाई चीनले आफ्नो ‘विशेष प्रशासकीय क्षेत्र’ बताउने गर्छ । यसअन्तर्गत मुख्य भूमि चीनको तुलनामा हङकङका बासिन्दाले उच्च स्वतन्त्रताको अभ्यास गर्दै आएका छन् ।

हङकङमा गत जुनमा सरकारले विवादास्पद सुपुर्दगी विधेयक पारित गराउने योजना गरेपछि त्यसको विरोधमा प्रदर्शन सुरु भएको हो । विधेयकमा हङकङमा अपराध तथा बलात्कार आरोप लागेकालाई मुख्य भूमि चीनमा सुपुर्दगी गर्ने प्रावधान राखिएको थियो । स्वतन्त्रताविरोधी चिनियाँ न्याय प्रणालीले हङकङमा जनता पीडित हुने भन्दै त्यसविरुद्ध प्रदर्शन हुन थालेका हुन् । लगातारको प्रदर्शनपछि सरकारले सो विधेयक स्थगित गरिसकेको छ । तर, प्रदर्शनकारीले त्यो फेरि आउन सक्ने भन्दै विधेयकको खारेजी हुनुपर्ने माग राखेका छन् । त्यस्तो सुपुर्दगी विधेयकले हङकङको स्वतन्त्रतालाई अवमूल्यन गर्ने तथा स्वतन्त्रता पक्षधरहरू निसानामा पर्ने उनीहरूको दाबी छ । यसैकारण व्यापारी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक समूह तथा प्रजातन्त्र पक्षधर विधेयकको विरोधमा सडकमा उत्रेका हुन् ।

चीनका राष्ट्रपति सी चिनफिङको चेतावनीको बेवास्ता गर्दै हङकङका लोकतन्त्र समर्थकले शुक्रबार लगातार पाँचांै दिन आफ्ना मागलाई लिएर प्रदर्शन गरे । विश्वविद्यालय परिसर प्रदर्शनकारीको केन्द्र बन्यो । प्रदर्शनकारीले सडक जाम तथा मेट्रोमा तोडफोडपछि स्थगित सेवाका कारण कार्यालय जाने मानिसलाई समेत समस्या प¥यो । लोकतन्त्र समर्थकले शुक्रबार १५ नोभेम्बरमा ‘दिउँसोको खाना यहाँसँगै’ अभियान सुरु गरेका थिए, जसमा कार्यालयमा काम गर्ने अधिकांश कर्मचारीले भाग लिए । उनीहरूले हात उठाएर र पाँच औंला देखाउँदै ‘हामी हङकङका साथमा छौं’ भन्ने नारा लगाए ।
पाँच औंलाको अर्थ पाँच मागसँग भएको मानिएको छ, जुन लोकतन्त्र समर्थक गरिरहेका छन् । यसमा हङकङको नेतृत्वकर्ताको स्वतन्त्र निर्वाचन र प्रहरी दमनको स्वतन्त्र जाँच सामेल छ । जनताले शान्तिपूर्ण प्रदर्शन गर्दा बेवास्ता गर्ने सरकारले प्रहरमार्फत आफ्नो शक्तिको सक्दो प्रयोग गर्दै प्रदर्शनकारी नै समस्या हुन् भन्ने गरेकोमा प्रदर्शनकारीको असन्तुष्टि छ । पोलिटेक्निक युनिभर्सिटी अफ हङकङ परिसरलाई आश्रय बनाएका प्रदर्शनकारी त्यहीँ जम्मा भई प्रदर्शन गरिरहेका छन् भने सो आन्दोलन दमन गर्न चीनले जनमुक्ति सेनालाई खटाएको बताइएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङले बिहीबार १४ नोभेम्बरमा हङकङका नेता क्यारी लाम तथा प्रहरीको समर्थन गरेर चेतावनी दिँदै प्रदर्शनकारी ‘एक देश दुई प्रणाली’ सिद्धान्तका लागि खतरा भएको बताएका थिए । हङकङमा यसअन्तर्गत अर्धस्वायत्त शासन हुन्छ । ७५ लाख जनसंख्या रहेको यस सहरमा मानिस चीनको शासनका अन्तर्गत लगातार नियन्त्रण भइरहेको स्वतन्त्रताको विरोध गरिरहेका छन् । खासगरी सी चिनफिङ शासन प्रारम्भ भएपछि हङकङप्रति चीनले कठोर नीति अपनाएको मानिन्छ ।

विमानस्थलदेखि विभिन्न स्थान कब्जामा लिएका प्रर्दशनकारीले पछिल्लो समय मुख्यतः साँझको समयमा या सप्ताहान्तमा प्रदर्शन गर्दै आएका थिए ताकि अन्तर्राष्ट्रिय आर्थिक केन्द्रको पहिचान रहेको हङकङमा सामान्य कामकाज प्रभावित नहोऊन् । तर, चीन सरकारका तर्फबाट कुनै किसिमको सकारात्मक संकेत प्राप्त नहुँदा यसको स्वरूप फेरिएको र प्रदर्शनकारीले गत सोमबार आफ्नो रणनीति परिवर्तन गर्दै सबैतिर अवरोध पु¥याउने कदम चालेका हुन् । प्रदर्शनकारीको यस रणनीतिले गत साता पुरै हङकङ प्रभावित भयो । पछिल्लो पाँच दिनको हडतालको सबैभन्दा अधिक असर विश्वविद्यालयमा प¥यो, जो प्रदर्शनकारीका केन्द्र बने । प्रदर्शनकारी र प्रहरी दुबैतर्फबाट भएको हिंसाको कारण अहिलेसम्म त्यहाँ दुई व्यक्तिको मृत्यु भएको छ । राष्ट्रपति सी चिनफिङले गत महिना आन्दोलनकारीको हड्डी भाँचिदिने धम्की दिएका थिए । उनले असन्तुष्टलाई कडा चेतावनी दिँदै ‘चीनलाई टुक्र्याउन खोज्नेहरूलाई नसहने’ चेतावनी दिएका थिए । हाल आएर चिनियाँ सेनाले आन्दोलन असफल बनाउन हङकङको प्रहरीलाई सहयोग गरिरहेको बताइएको छ ।

निश्चय नै हङकङ चीनको आन्तरिक समस्या हो । तर, त्यहाँका जनताले हालसम्म जेजस्ता स्वतन्त्रताको उपभोग गरे, त्यसको निरन्तरता र समय र परिवेशअनुरूप त्योभन्दा बढी लोकतान्त्रिक अधिकार खोज्नु अन्यथा हुन सक्दैन । यस सन्दर्भमा चीनले सो सहर बेलायतबाट फिर्ता लिँदा जनाएको प्रतिबद्धताअनुरूप नै अधिकार प्रदान गर्ने तथा नियन्त्रणमुखी प्रावधानहरू थोपर्न नचाहने हो भने उत्पन्न समस्याको सहजै समाधान हुने देखिन्छ । लामो आन्दोलनले अर्थतन्त्र प्रभावित भएको र नियन्त्रणमुखी व्यवस्थाहरूको आशंकाका कारण विश्वकै नकारात्मक धारणा बन्दै गइरहेको सन्दर्भमा विश्वकै एक साझा बजार र अन्तर्राष्ट्रिय ट्रान्जिटको रूपमा रहेको हङकङको शान्ति, सुरक्षा र सुव्यवस्था विश्वकै सरोकारको विषय हो भन्ने कुरा चीनले हेक्का राख्दा उचित हुनेछ ।

 

(Visited 70 times, 1 visits today)
Loading comments...