शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

अभिनेत्री प्रियंका भिडियो निर्देशनमा

राजधानी समाचारदाता
3 weeks ago
19/11/2019

काठमाडौं। अभिनेत्री प्रियंका कार्कीको हातमा पछिल्लो समय प्रशस्त सिनेमा छैन । उनी चलचित्रबाट निकै फुर्सदिलो छिन् । यो वर्ष उनले चलचित्र लक्का जवानमा काम गरिन् । त्यसपछि उनी हाल नयाँ फिल्ममा अनुबन्धित भएकी छैनन् ।

यसरी ठूलो पर्दाबाट विस्तारै फुर्सदिलो भएकी अभिनेत्री प्रियंका अहिले सानो पर्दा केन्द्रित भएकी छन् । उनले पछिल्लो समय युट्युब च्यानलका लागि आफ्नो प्रेमी आयुष्मान देशराज जोशी र आफ्नै मुख्य भूमिकामा वेभ सिरिज पनि निर्माण निर्देशन गरिरहेकी छन् । अहिले उनी विभिन्न विज्ञापनमुखी लघु चलचित्रमा व्यस्त छिन् । शुभ मिडियाले निर्माण गर्ने विज्ञापन फिल्ममा उनी नियमित प्रस्तुत हुँदै आएकी छन् ।

यसै क्रममा अभिनेत्री प्रियंका कार्कीले म्युजिक भिडियो निर्देशन गरेकी छन् । उनले निर्देशन गरेको भिडियो सोमबार सार्वजनिक भएको छ ।

प्रियंकाको यो पहिलो भिडियो निर्देशन हो । बालगायिका आयुष्का खनियाँको मेरै लाहुरेले… गीतको भिडियो अभिनेत्री प्रियंकाले निर्देशन गरेकी हुन् ।

उनको यो भिडियोको डेब्यु निर्देशन हो । गीतको भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय रहेको छ । यो भिडियोबाट उनी भिडियो निर्देशनतर्फ पनि आकर्षित भएकी छन् । अब निर्देशनको पाटोलाई पनि सँगै अघि बढाउने अभिनेत्री प्रियंकाले बताएकी छन् ।

लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । बालगायिका आयुष्का खनियाँको स्वर रहेको गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । काठमाडांैको पार्क भिलेज रिसोर्टमा छायांकन गरिएको भिडियोलाई सुदीप बरालले छायांकन गरेका हुन् । म्युजिक भिडियोको सम्पादन सन्देश शाह तथा रङ संयोजन रेनिश फागोले गरेका हुन् ।

 

 

(Visited 37 times, 1 visits today)
Loading comments...