शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

भवन शिलान्यासमा अध्यक्षले अवरोध गरे, अब हामी चुप लागेर बस्दैनौँ : वडा अध्यक्ष

दिनेश थापा
2 weeks ago
19/11/2019

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले पालिकाको बजेटमा आफुखुसी गरेका वडा अध्यक्षहरुले आरोप लगाएका छन् । गाउँपालिका अध्यक्षले आफुहरुलाई व्यापक पेलेर अघि बढेकाले अब आफुहरु चुप लागेर नबस्ने वडा अध्यक्षहरुले चेतावनी दिएका छन् । हामी जनतालाई गाउँमा नै सुविधा दिन खोजिरहेका छाैँ, तर अध्यक्षले त्यसमा अवरोध सिर्जना गर्नुभयो’, भोटेकोशी गाउँपालिका–१ का अध्यक्ष मुके शेर्पाले भने ।

गाउँपालिकाको पाँच वडा मध्ये चार वडाका अध्यक्षहरुले आफुहरु फरक पार्टीबाट चुनाव जितेको भन्दै बजेटै नदिने गरेको आरोप समेत लगाएका छन् । भोटेकोशी गाउँपालिका–२ का वडा भवन शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्षले पालिका कब्जा गरेको र आफु हुँदो मात्रै विकास बजेट बाँडाफाँड गर्ने गरेको आरोप वडा अध्यक्षहरुले लगाएका छन् ।

‘गाउँपालिका अध्यक्षले गरेको व्यवहार हामीलाई चित्त बुझेको छैन, हामी अब टेबुल ठोकेर हुन्छ कि बैठकमा अवरोध गरेर हुन्छ अध्यक्षलाई एकलौटी गर्न दिने छैनौँ’, वडा अध्यक्ष शेर्पाले भने । अन्य गाउँपालिकामा विकासका धेरै कामहरु भइरहेपनि अन्तराष्ट्रिय सीमा जोडिएको गाउँपालिकामा अध्यक्षले केही काम नगरेको अर्का वडा नम्बर–३ का अध्यक्ष साङदोर्जे शेर्पाले आरोप लगाए ।

‘हाम्रो गाउँपालिका अध्यक्ष विकासको पक्षपाती भन्दा पनि विकास विरोधी भए, वडा भवन निर्माण गरेर जनतालाई सेवा दिन खोज्दा अध्यक्षले नै अवरोध गरे’, वडा अध्यक्ष शेर्पाले भने । स्थानीय तहको निर्वाचनको समयमा पालिकाबाट केही सुविधा लिन्न भनेको र पछि गाउँपालिकाको बैठकमा समेत सेवा सुविधा लिन्न भनेर माइन्युट नै गरेपनि अहिले भने करोडौको सुविधा लिएको प्रति चारै वडा अध्यक्षहरुले सार्वजनिक रुपमा नै गाउँपालिका अध्यक्ष पौडेलेको विरोध गरेका छन् । ‘आफ्नो तलब भक्ताबाट स्कुलका विद्यार्थीहरुलाई स्टेशनरी र झोला वितरण गरेको भनेर अध्यक्षले प्रचार गरिरहेका छन् तर त्यो सबै गाउँपालिकाको बजेट बाट वितरण गरिएको हो’, वडा अध्यक्ष शेर्पाले भने ।

गाउँपालिकामा कार्यरत शिक्षकहरुले अध्यक्षकै कारण विगत ६ महिनादेखि तलब सुविधा नै नपाएको वडा अध्यक्षहरुले बताएका छन् । राजनीतिक आस्था हेरेर शिक्षकहरुलाई सरुवा बढुवा गर्दा पालिका भित्रका सयौ बालबालिकाहरुको भविष्यमाथी खेलवाड गरेको वडा अध्यक्ष शेर्पाले आरोप लगाए ।

वडा भवन निर्माणमा अध्यक्षको अवरोध
भुकम्पले वडा कार्यालय क्षतीग्रस्त भएपछि निर्माणका लागि गाउँपालिकामा अनुरोध गर्दा पनि गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले अटेर गरेको भोटेकोशी गाउँपालिका–२ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले गुनासो गरे । ‘अस्थाई टहरोमा बसेर जनतालाई सेवा दिन सकिएन, वडा कार्यालय निर्माण गरौ भनेर धेरै अनुरोध गरे तर अध्यक्षले सधै अवरोध मात्रै सिर्जना गर्नु भयो’, वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले भने ।

तत्कालीन नेकपा माओवादीबाट निर्वाचीत वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले नेकपाका नेताहरुसँग भवन निर्माणमा सहयोग गरिदिन आग्रह गरेपनि कसैले सहयोग नगरेको बताए । ‘सीमा जोडिएको वडा कार्यालय भएकाले टहरोमा काम गर्न समस्या भयो सबै नेताहरुलाई भने तर सहयोग होइन , असहयोग मात्रै भयो’, श्रेष्ठले भने ।

४५ मेगावाटको भोटेकोशी पावर कम्पनीसँग भवन निर्माणका सहयोग माग गरिएपनि गाउँपालिकाले अवरोध गरेको श्रेष्ठको भनाई थियो । ‘हामीलाई जसरी पनि भवन चाहिएको थियो, कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सञ्चारमन्त्री मोहन बस्नेतसँग अनुरोध गरे, उहाँले सहयोग गर्छु भन्नुभयो त्यसपछि मात्रै भवन निर्माण सुरु गरिएको हो’, वडा अध्यक्ष श्रेष्ठले भने ।

भवन निर्माणमा सहयोग गर्ने घोषणा गर्न आएका भोटेकोशी पावर कम्पनीका प्रतिनिधिहरुलाई नेकपाका नेताहरुले बिच बाटोबाटै फर्काइदिएको वडा अध्यक्ष श्रेष्ठले आरोप लगाए । भवन शिलान्यास कार्यक्रमलाई असफल बनाउन कसैलाई पनि कार्यक्रममा नजानका लागि उर्दी जारी गरेपनि आफुहरुले भवन शिलान्यास गर्न सफल भएको वडा अध्यक्ष श्रेष्ठले बताए ।

चुनाव नेकपाबाट जिते प्रमुख अतिथी कांग्रेसलाई बनाए
भोटेकोशी गाउँपालिकामा अध्यक्ष,उपाध्यक्ष सहित दुई वडामा नेकपाले चुनाव जितेको थियो । भोटेकोशी–२ का वडा अध्यक्ष तत्कालिन नेकपा माओवादी बाट चुनाव जितेपनि भवन शिलान्यस कार्यक्रममा भने कांग्रेस केन्दिय सदस्य मोहनबहादुर बस्नेतलाई सहभागी गराएर भवन शिलान्यास गराएका छन् ।

भवन शिलन्यास कार्यक्रममा नेकपाका नेता मात्रै होइन स्थानीय कार्यकर्ता समेत सहभागी भएनन् । उद्घोषकले गाउँपालिका अध्यक्ष राजकुमार पौडेल लाई विशेष अतिथीको आशन ग्रहणका लागि बोलाएपनि अध्यक्ष पौडेल कार्यक्रममा सहभागी भएनन् । अध्यक्ष मात्रै होइन उपाध्यक्षलगायत नेकपाबाट चुनाव जितेका कोही पनि जनप्रतिनिधि कार्यक्रममा सहभागी भएका थिएनन् ।

वडाले भवन शिलान्यासको कार्यक्रमको आयोजना गरेपनि कार्यक्रम भने नेपाली कांग्रेसको राजनीतिक कार्यक्रम भएको थियो । मञ्चमा सबै नेपाली कांग्रेसका नेताहरुको मात्रै सहभागीता रहेको थियो । कांग्रेसबाट निर्वाचीत वडा अध्यक्षहरुले पनि गाउँपालिका अध्यक्ष पौडेलेको चर्काे आलोचना गरेका थिए ।

वडाको विकासका लागि आफु नेकपा परित्याग गर्न पनि पछि नपर्ने वडा अध्यक्ष श्रेष्ठले कार्यक्रममा नै घोषणा गरेका थिए । भोटेकोशी पावर कम्पनी लगायत अन्य सहयोगी संघ संस्थाहरुको सहयोगमा निर्माण हुने भवनको लागत करिब ९४ लाख रुपियाँ लाग्ने वडा अध्यक्ष श्रेष्ठले भने ।
वडा कार्यलय भवनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले शिलान्यास गरेका थिए । हिन्दु र बौद्ध पराम्परा अनुसार वडा भवनको शिलान्यास गरिएको थियो । शिलान्यसा भएको भवन जसरी पनि निर्माण हुने र यो कार्यक्रमा आफुले पनि सहयोग गर्ने बस्नेतले प्रतिबद्धता गरे ।

(Visited 370 times, 1 visits today)
Loading comments...