आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

साथीको हत्या गर्ने दुई जना ३२ दिनपछि पक्राउ

दिनेश थापा
4 weeks ago
19/11/2019

सिन्धुपाल्चोक । आफ्नै साथीको विभत्स हत्या गरी फरार रहेका दुइ अभियुक्तलाई प्रहरीले हत्याको ३२ दिनपछि पक्राउ गरेर सार्वजनिक गरेको छ । असोज ३० गते राती पाँचपोखरी थाङपाल गाउँपालिका–५ लामखर टोलका विजय लामालाई सोही स्थानका बमबहादुर तामाङ र मिलन स्याङबोले शिर छेदन गरी विभत्स हत्या गरेका थिए ।

हत्या पछि फरार रहेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धको सहयोगमा इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए । दुवैलाई लुकिछिप बसेको अवस्थामा काठमाडौ गोकर्णेश्वर नगरपालिका–९ माकलबारीबाट प्रक्राउ गरिएको थियो ।

प्रहरीले दुवैलाई आवश्यक अनुसन्धानका लागि अदालतबाट १० दिनको म्याद थपेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजीत पत्रकार सम्मेलनमा दुवैले क्षणीक आवेगमा आएर साथीको हत्या गरेको एसपी महर्जनले जानकारी दिए । ‘तर्साउन मात्रै खोजेको रहेछ तर आवेगमा हत्या नै भएछ’, एसपी महर्जनले भने । घटनाको विषयमा थप अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ ।

यसरी भएको थियो हत्या
पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सा निवासी विजय लामासहितको उनको आफन्तहरु बसेर घर नजिकै रहेको पशलमा रक्सी सेवन गरिरहेका थिए । रक्सी सेवन गर्दे गर्दा सोही स्थानका मिलन स्याङबो र बमबहादुर स्याङबो पनि रक्सी सेवन गर्न सोही पशलमा पुगेका थिए ।

रक्सीको मात चढदै गएपछि पैसा तिर्ने बेलामा स्याङबोद्धयले हामीहरुले खाएको रक्सीको पनि पैसा तिर्न विजयलाई भनेका थिए । तर विजयले पैसा तिर्न अस्विकार गर्दे भने–‘कहिलेकाँही त आफैले पैसा तिरेर पनि खाने गर्नुपर्छ ।’ विजयले दुवैलाई यसो भनेपछि आफुहरुको अपमान भएको ठान्दै उनहीरु दुवै त्यहाँबाट उठेर हिडेका थिए । जाने बेलामा दुवैले विजयलाई भने–‘हामीलाई अपमान गर्ने पख तलाई देखाइदिन्छु । ’

स्याङबोद्धय त्यहाँबाट हिडेको केही समयमा नै हातमा खुकुरी लिएर आएर एक्कासी विजयको टाउकोमा प्रहार गरेका थिए । खुकुरी प्रहारलाई विजयले छेक्न कोशीश गरेपनि सम्भवन भएन । खुकुरी ले छेक्दा विजयको हातका अम्ला समेत काटिएको थियो । सँगै रहेका विजयका आफन्तहरुले भने खुकुरी प्रहार गर्दा छेक्नलाई सहयोग गरेका थिएनन् । ‘खुकुरी प्रहार एक्कासी भएको देखिएकाले विजयका साथीहरुले त्यसको प्रतिकार नै गर्न नसकेको देखियो’, जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले भने ।

घाँटीमा नै खुकुरी प्रहार गर्न खोजेपनि खुकुरी चिप्लीएपछि घाँटी भन्दा केही माथी खुकुरी हानिएको थियो ।

(Visited 4,956 times, 1 visits today)
Loading comments...