शनिवार २८ मंसिर, २०७६ (Saturday, 14th December 2019)
२८ मंसिर, २०७६ (14 December 2019)

गस्तीका क्रममा चार भारतीय सैनिकसहित ६ जनाको मृत्यु

एजेन्सी
4 weeks ago
19/11/2019

श्रीनगर । भारत प्रशासित कश्मीरको सियाचिन ग्लेसियरमा हिम पहिरो जाँदा चार जना भारतीय सैनिकसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना भरिया रहेका छन् । भारतीय सेनाको आठजना रहेको टोली हिमशृंखलाको गस्तीमा रहेका बेला हिम पहिरो गएको थियो । हिमपहिरोमा परेका अन्यको अवस्था गम्भीर रहेको छ ।

हिम पहिरो गएको समयमा सो टोली करिब १९ हजार फिट (५,८०० मिटर) को उचाईमा गस्ती गरिरहेको थियो । पहिरोमा परेकाहरूको खोजी गर्न सेनाले ठूलो अभियान चलाएर उद्दार गरी हेलिकोप्टरमार्फत नजिकको अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याइएपनि अत्यधिक चिसोले कठ्यांग्रिएका कारण उनीहरुको मृत्यु भएको हो ।

सियाचिन क्षेत्रमा भारत र पाकिस्तान दुबैका सेनाले गस्ती गर्दै आएका छन् । सो क्षेत्रको सार्वभौमिकतालाई लिएर भारत र पाकिस्तानबीच विवाद रहँदै आएको छ । संसारकै उच्च क्षेत्रमा रहेको युद्ध क्षेत्रका रुपमा चिनिने सियाचिन ग्लेसियरका विषयमा पटक पटक वार्ता भएपछि सेनाको उपस्थिति हटाउन दुई देश असफल भएका छन् ।

सन् १९८४ मा भारतले ग्लेशियरमाथि नियन्त्रण कायम गरेको थियो । सो समयदेखि लडाइँबाट भन्दा हिमपहिरोमा परेर बढी सैनिकको मृत्यु भएको छ । सन् २०१६ को फेब्रुअरीमा सोही क्षेत्रमा सैन्य आधार शिविरमा हिमपहिरो जाँदा १० जना भारतीय सैनिकको मृत्यु भएको थियो । त्यहाँको तापक्रम माइनस ६० डिग्री सेल्सियससम्म झर्दछ ।
यो क्षेत्रमा अक्सिजनको कमी, हिमपहिरो र हिमपातका कारण धेरै सैनिकको मृत्यु हुने गरेको छ । यो क्षेत्रमा भारत र पाकिस्तानका गरी करिब २ हजार ५ सय सैनिकको मृत्यु भइसकेको अनुमान छ । सन् २०१२ मा पाकिस्तानको गयारी बेस क्याम्पमा हिमपहिरो जाँदा १ सय २४ जना सैनिक र ११ जना सर्वसाधारणको मृत्यु भएको थियो ।

सियाचिनमा सन् १९८४ मा सैनिक बेस निर्माण गरेदेखि २०१५ सम्म ८६९ जना सैनिकको मौसमको खराबीकै कारण मृत्यु भएको छ । पछिल्लो हिमपहिरोमा परी थप ४ जनाको मृत्यु भएपछि यो संख्या ८७३ भइसकेको छ । भारतले हरेक दिन पाँच करोड भारतीय रुपैयाँ सियाचिनमा खटिएको सैनिकको सुरक्षाका लागि खर्च गर्ने गरेको छ । सियाचिन ग्लेसियरमा भारतीय सीमाको रक्षाका लागि भन्दै ३ हजार सैनिक तैनाथ रहने गरेका छन् । पाकिस्तानले पनि यो क्षेत्रमा आफ्नो दाबी छाडेको छैन ।

यो क्षेत्रमा गर्मीमा माइनस ३० र जाडोमा माइनस ६० डिग्री सम्म तापमान रहने गर्छ । आम जनतालाई पानामिक गाउँसम्म मात्रै जान अनुमति छ । यो स्थानमा तातोपानीको मुहान रहेका कारण धेरै मानिसको आकर्षणको केन्द्रका रुपमा रहेको छ । भारतीय सेनाले बर्सेनि सियाचिनमा सिभिलियन ट्रेक आयोजना गर्ने गर्छ । सियाचिनमा सर्वसाधारण जान पाउने यो मात्रै एउटा अवसर हो । सो टोलीमा सेनाले ४० जनालाई मात्रै लाने गर्छ । जसमा दुई जना पत्रकार, रक्षा वैज्ञानिक, स्कुल क्याडेट र केही सर्वसाधारण रहने गर्छन् । सन् २००७ देखि यो प्रकारको ट्रेकिङको सुरुवात भएको हो ।

भारतीय सेनाले सो ट्रेक गएका आम मानिसलाई १६ हजार फिटमा रहेको कुमार पोस्ट सम्म लिएर जान्छ । बेस क्याम्पदेखि १२ किलोमिटर माथि गएपछि क्याम्प–१, त्यसको १४ किलोमिटरपछि क्याम्प–२ र त्यसको १६ किलोमिटर क्याम्प–३ पुगिन्छ । त्यहाँबाट १८ किलोमिटर टाढा कुमार पोस्ट पर्छ । सियाचिन ग्लेसियर काराकोरम रेन्जमा पर्छ । हिमालयको यो भाग भारत, चीन र पाकिस्तानको बिचमा त्रिभूज आकारमा रहेको छ । यसको माथिल्लो भागमा भारतको र तल्लो भागमा पाकिस्तानको नियन्त्रण रहेको छ । सन् २००३ मा भारत र पाकिस्तानबीच युद्धविराम सन्धी भएपछि यो क्षेत्रमा गोलाबारी हुन बन्द भएको हो ।

(Visited 112 times, 1 visits today)
Loading comments...