शनिवार २८ मंसिर, २०७६ (Saturday, 14th December 2019)
२८ मंसिर, २०७६ (14 December 2019)

डढेलोको धूवाँले ढाक्यो सिड्नी

बीबीसी
4 weeks ago
19/11/2019

सिड्नी । अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नी धूवाँले ढाकेको छ । सिड्नी वरपरका क्षेत्रमा लागेको डढेलोका कारण बाक्लो धुवाँ फैलिएको थियो । रातभरी चलेको हावाले सो धूवाँ उडाएर सहरको उत्तरतर्फबाट सिड्नीमा वायु प्रदुषणको मात्रा खराब स्तरमा पुगेको अधिकारीहरूले बताएका छन् । सामाजिक सञ्जालमा स्थानीय बासिन्दाहरूले बिहान उठ्दा धमिलो आकाश देखेको र घरमा धुवाँको गन्ध आएको बताएका छन् ।

न्यू साउथ वेल्सको राजधानी सिड्नीमा करिब ५० लाख मानिसहरूको बसोबास रहेको छ । न्यू साउथ वेल्सको उत्तरी क्षेत्रमा हप्तौंदेखि फैलिएको डढेलोका कारण ६ जनाको मृत्यु भइसकेको छ । सिड्नीका बासिन्दाहरूलाई तापक्रम समेत बढ्ने भन्दै अधिकारीहरुले सुरक्षित रहन आग्रह गरेका छन् ।

सहरका केही भागहरूको वायुको गुणस्तर अस्ट्रेलियाले तोकेको न्यूनतमभन्दा आठ गुणासम्म धेरै भएको मापन गरिएको छ । स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई घरभित्रै बस्न र बाहिर निस्केर शारीरिक रूपमा बल पर्ने कामहरू नगर्न सुझाव दिएका छन् । न्यू साउथ वेल्सको एम्बुलेन्स सेवाले श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरूले थप सचेत हुनुपर्ने बताएको छ ।

‘धूवाँ अझै केही दिनसम्म रहने छ,’ न्यू साउथ वेल्सको ग्रामीण अग्नि सेवाले भनेको छ । गत हप्ता नजिकैका भागहरूमा डढेलो फैलिएपछि सिड्नीमा यसअघि नदेखिएको खतरा देखिएको हो । अधिकारीहरूका अनुसार मंगलवारको धुवाँको स्रोत १ सय ५० किलोमिटर पर रहेको वोलेमी राष्ट्रिय निकुञ्जमा एक लाख ५० हजार हेक्टरमा फैलिएको डढेलो भएको बताएका छन् ।

सिड्नीको उत्तरतर्फका भागहरूमा झन्डै ५० स्थानमा डढेलो फैलिएका कारण त्यहाँ वरपरका बासिन्दाहरूले हप्तौंदेखि बाक्लो धुवाँ र खराव वायु प्रदूषणको सामना गर्नुपरेको छ । अधिकारीहरूले यो हप्ता डढेलो अझै बढ्न सक्ने बताएका छन् ।

उनीहरूले छिमेकी क्वीन्सल्यान्ड राज्यमा बढ्ने तापक्रमले डढेलोलाई अझै खतरनाक बनाउन सक्ने बताएका छन् । साउथ अस्ट्रेलिया राज्यले भने आगोबाट विनाशकारी खतरा आउन सक्ने चेतावनी दिएको छ । साउथ अस्ट्रेलियाको राजधानी एडेलेडमा बुधवारको तापक्रम ४२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।

(Visited 39 times, 1 visits today)
Loading comments...