सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

नेपालगन्ज धारा म्याराथन अन्तिम चरणमा

राजधानी समाचारदाता
3 weeks ago
21/11/2019

नेपालगन्ज । आगमी मंसिर ७ गते शनिबार नेपालगन्ज धारा म्याराथनको पाँचौं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । विगत चार वर्षदेखि निरन्तर हुँदै आएको सो म्याराथनलाई यसपटकदेखि आगामी दुई वर्षका लागि धारा तोरीको तेलले मुख्य प्रायोजकका रूपमा सहकार्य गर्ने भएको छ ।

धारा नेपालगन्ज म्याराथनसँग हातेमालो गर्नका लागि आर्शीवाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंक निदान डाइग्नोस्टिक एन्ड हेल्थ सेन्टरले समेत आबद्ध भएको आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

निदान डाइग्नोस्टिक एन्ड हेल्थ सेन्टरले समेत दुई वर्षे सहकार्यको सम्झौता गरेको र त्यसलाई निरन्तर सहकार्य गर्ने निदान डायग्नोस्टिक एन्ड हेल्थ सेन्टरको प्रबन्ध निर्देशक सन्दिप पोखरेलले प्रतिबद्धता जनाएका छन् । निदानले धारा नेपालगन्ज म्याराथनमा विजयी सम्पूर्ण खेलाडीको निःशुल्क सम्पूर्ण शरीरको चेकजाँचको सुविधा गर्नेछ । त्यसैगरी, सम्पूर्ण सहभागीहरूलाई पनि विशेष छुटको सेवा प्रदान गरेको छ । विभिन्न उमेर समूहमध्ये ६० वर्षमाथिकालाई पचास प्रतिशत, ४० देखि ५९ वर्ष उमेरसम्मलाई ४० प्रतिशत र ४० वर्षसम्मलाई २५ प्रतिशत छुट दिनेछ । म्याराथन आयोजक र संलग्न अफिसियलका लागि पनि यो सेवा लागू हुनेछ ।

उनले पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको सहरको रूपमा परिचित रहेको बताउँदै सामाजिक एकताको प्रतीक खेलकुदमार्फत सहरलाई चिनाउने उद्देश्य रहेको

दाबी गरे ।

‘नेपालगन्ज म्याराथनले कोहलपुर र नेपालगन्जलाई जोड्ने एउटा सशक्त माध्यम बनेको विश्वास खेलकुदप्रेमीले गरेको र नेपालगन्जलाई महानगर बनाउने अवधारणाको चर्चा हुँदा सरकारले नेपालगन्ज–कोहलपुर सहर जोड्ने नीतिअघि सारेको हुँदा यो हाम्रो पहिल्यैदेखिको सपना हो । सद्भावको सहर नेपालगन्जलाई अरू सहरसँग जोड्ने मात्रै होइन, विश्वमा चिनाउने हाम्रो अभियान जारी रहेको छ’–उनले भने ।

उनले कार्यक्रमका बारेमा जानकारी दिँदै पुरुष खुलातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, १० किलोमिटर खुला पुरुष, ५ किलोमिटर, ५ किलोमिटर स्कुलस्तरीय छात्र तथा ३ किलोमिटर छात्रा दौड समावेश गरिएको छ । त्यसैगरी, ८ देखि १२ वर्ष उमेर समूहको पनि दौड राखिएको छ भने शारीरिक रूपले अशक्तका लागि पनि दौड स्पर्धा समेटिएको बताए ।

‘यस वर्षदेखि २ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ । यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा विभिन्न पेसा र व्यवसायीहरूले सहभागिता जनाउने छन्’–उनले भने । खुला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । अन्य सबै विधामा नगद पुरस्कार दिइनेछ । कर्पोरेट रनका विजेतालाई सरप्राइज पुरस्कार प्रदान गरिने उनले बताए । नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भई कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपीचोकमा पूरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावक सहभागी हुनेछन् । त्यस्तै, जुम्ला, कालिकोटलगायतका कर्णालीका जिल्ला र प्रदेश ५, ६ र ७ का खेलाडीले भाग लिँदै आएका छन् ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्गा बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भूमिराज राई विजेता भएका थिए भने हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छन् । यसपटक सबै विधामा नगद पुरस्कार वृद्धि गरिएको आयोजक क्रियटिभ ह्यान्ड्सले जनाएको छ ।

 

 

(Visited 11 times, 1 visits today)
Loading comments...