सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

भीआईपी प्याराफिटमा छानो हाल्न सुरु

राजधानी समाचारदाता
4 weeks ago
21/11/2019

काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुद (साग) को मिति जतिजति नजिकिँदै छ । त्यतित्यति नै प्रतियोगिता हुने स्थलको निर्माण र पुनर्निर्माणको कार्य पनि उत्तिकै हत्तारिएको छ ।

यही चटारोमा सागको उद्घाटन र समापन हुने त्रिपुरेश्वस्थित दशरथ रंगशालाको भीआईपी प्याराफिटतर्फ बुधबारदेखि छानो हाल्ने कार्य सुरु भएको छ । चीनबाट झिकाइएको ‘टेन्साइल फेवरिक’ छानो बुधबारदेखि लगाउने कार्य सुरु भएको हो । बुधबार १५ मध्ये १ प्लटमा मात्रै छानोको कार्य सम्पन्न भएको छ । यो छानो हाल्न कम्तीमा पनि एक साता(१० गते)सम्म लाग्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जानकारी गराएको छ ।

चीनमै रोकिएको छानो एयर कार्गोमार्फत निर्माणस्थलबाट गोन्जाओ हुँदै चाइना साउथन एयरलाइन्समार्फत एक साताअघि नेपाल आइपुगेको थियो । गत शुक्रबारबाटै छानो हाल्ने कार्य थालनी गरिने बताए पनि डिजाइन र साइजमा फरक हुँदा झन्डै एक साता ढिला गरी छानो हाल्ने कार्य प्रारम्भ भएको हो । प्याराफिटमा लाग्नेभन्दा ठूलो साइजको छानो रहेका कारण फिटिङमा समस्या भइरहेको छ ।

छानोका लागि १९ वटा पोल र ट्रस खडा भइसकेका छन् । कपडाजस्तै धुन र तन्काउन मिल्ने विशेषता रहेको टेन्साइल फेवरिक छानोलाई राखेपले ४ करोड ५५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । साधारण प्याराफिटतर्फको भने यसअघि नै छानो हाल्ने कार्य सम्पन्न भइसकेको छ । अहिले साधारण प्याराफिटतर्फ सिट (कुर्ची) हाल्ने कार्य जारी छ ।

 

पोखरामा प्याराफिट धमाधम जोडिँदै

सागको महिला फुटबल प्रतियोगिता पोखरामा हुँदै छ । सोही प्रतियोगिताका लागि बुधबारबाट धमाधम प्याराफिट जोड्ने काम भइरहको छ । निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २ दिनअघि पोखरा आइपुगेको हो ।

मैदान बनाउने जिम्मा भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको छ । जेभीका प्रोजेक्ट म्यानेजर दीपक बरालले ५ दिनभित्र सबै प्याराफिट जडान भइसक्ने जानकारी दिए । ‘आइतबार ७ कन्टेनर र सोमबार ८ कन्टेनर गरी १५ कन्टेनर प्याराफिटका लागि आवश्यक सामान पोखरा आएको हो,’ म्यानेजर बरालले भने, ‘५ दिनभित्र तयार हुने यो प्याराफिट ३८ सय क्षमताको हुनेछ ।’

उनले प्याराफिट निर्माण भइसकेपछि दर्शकका लागि कुनै समस्या नहुने जानकारी दिए । खेल मैदानका लागि परिवर्तन गर्नुपर्ने दूबो बुधबार साँझसम्म पोखरा आइपुग्ने र तत्काल फेर्न सुरु गर्नेसमेत बरालले जानकारी दिए । ‘केही दूबो आउन बाँकी छ । त्यो दूबो पनि साँझसम्म आइपुग्छ,’ उनले भने, ‘दूबो आइसकेपछि साँझबाटै हामीले काम सुरु गरिहाल्छौं ।’ मैदानभित्र पर्ने सिन्थेटिक एथ्लेटिक ट्रयाकको कामसमेत धमाधम निर्माण भइरहेको बरालले जानकारी दिएका छन् । उनका अनुसार ट्रयाक ५ दिनभित्र पूरा भइसक्नेछ ।

‘रंगशालाको अहिले ९० प्रतिशत पूरा भइसकेको छ । बाँकी काम पनि केही दिनभित्रै पूरा हुन्छ,’ उनले भने । मंसिर १५ देखि २४ गतेसम्म हुन लागेको खेल पोखरासहित काठमाडौं र जनकपुरमा हुनेछ । पोखरामा ९, जनकपुरमा १ र बाँकी खेल काठमाडौंमा हुने तय भएको छ । पोखरामा हुने खेलमा ट्रायथालन, प्याराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, महिला फुटबल र भारोत्तोलन छन् । सबै खेलका लागि भौतिक र प्राविधिक निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ ।

प्याराग्लाइडिङ नहुने

आयोजकको नाताले नेपालले नै थप गरेको प्याराग्लाइडिङको प्रतिस्पर्धा अन्ततः १३औं सागमा नहुने भएको छ । कुनै पनि खेलको लागि कम्तीमा पनि ३ टोलीको आवश्यकता रहने भए पनि १३औं सागमा नेपाल र पाकिस्तानले मात्रै नाम दर्ता भएपछि प्याराग्लाइडिङ नहुने भएको हो ।

यससँगै प्याराग्लाइडिङबाट नेपालको सम्भावित ८ स्वर्णको आशासमेत गुमेको छ । सागमा एक्युरेसी र क्रसकन्ट्रीतर्फ महिला तथा पुरुष एकल र टिम इभेन्टमा गरी ८ स्वर्णका लागि हुने प्रतिस्पर्धा हुने तय थियो । ती सबै इभेन्ट्समा गत वर्ष रजतपदक जितेको नेपालको बलियो दाबेदारी रहेको थियो । गतवर्ष नेपाल जापानसँग २७ अंकले पछि परेको थियो । ‘टिम नपुग्ने भएपछि प्याराग्लाइडिङ खेल सागमा नहुने भएको छ । यो प्याराग्लाइडिङ र नेपाली खेलाडीका लागि निराशको क्षण त हुँदै हो । साथै त्यसबाट आशा गरिएका पदक पनि नेपालले गुमाउने भएको छ ।’ राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले भने, ‘खेल नहुने खेलाडीलाई जानकारी गराइसकेका छांै । टिम तयारी गर्दा लागेको खर्च हामी उहाँहरूलाई उपलब्ध गराउनेछौं ।’

पदकको सम्भावना रहेकै कारण दक्षिण एसियाली ओलम्पिक काउन्सिलको गत नोभेम्बर ९ मा भएको बोर्ड बैठकमा समेत प्याराग्लाइडिङमा टोली पठाउन सबै देशका अध्यक्षसँग प्याराग्लाइडिङ टोली पठाइदिन विशेष पहल गरे पनि सार्थक भएन ।

 

नेपाल र भारत एकै समूहमा

१३औं दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गतको भलिबलमा नेपाली महिलार पुरुष भलिबल टोली भारत रहेको एकै समूहमा परेको छ ।

समूह विभाजनअनुसार पुरुषतर्फ नेपाल समूह ‘ए’ मा भारत र बंगलादेश रहेको तथा महिलातर्फ पनि नेपाल भारत र बंगलादेश सम्मिलित समूह ‘ए’ मा नै परेको हो । पुरुषतर्फ समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । महिलातर्फ समूह ‘बी’ मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् । महिला र पुरुष दुवैमा समान ६ राष्ट्रको सहभागिता रहेको छ । दुवैतर्फ भुटानले सहभागिता जनाएको छैन । भलिबलका खेल सागको उद्घाटन अगावै मंसिर ११ बाट सुरु हुने तालिका छ । पुरुष र महिला दुवैतर्फका खेल त्रिपुरेश्वस्थित कभर्ड हलमा हुनेछ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको दुई समूहका शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछ । खेल १७ मंसिरसम्म सञ्चालन हुनेछ । पुरुषतर्फ नेपालले पहिलो दिन बुधबार बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ ।

त्यसपछि १३ मंसिरमा भारतसँग खेल्ने तालिका छ । पुरुष भलिबल टोली भारतमा १० दिने प्रशिक्षण र अभ्यास खेल खेलेर गत मंगलबार काठमाडौं फर्किसकेको छ । महिला टोलीले एक साताअघि नै बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा च्याम्पियन बन्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक उपाधि हात पारेको थियो ।

 

 

(Visited 20 times, 1 visits today)
Loading comments...