डब्बु क्षत्री
4 weeks ago
0
विष्णु खत्री, गायक
विष्णु खत्री नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक हुन् । उनले सयौं लोकप्रिय गीत दिइसकेका छन् । आफ्नै लय, शब्द र स्वरमा उनले गीत स्रोतामाझ ल्याउँदै आएका छन् । जम्मु काश्मीरमा…, अन्तरजातीय विवाह…, पछुतो…, भरिया दाइ…, कि साथ चाहियो कि लास चाहियो…किसानी दाइ…, हिमाल झुक्ला… झरनाको पानी…जस्ता सयौं गीत गाइसकेका गायक खत्री राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिान नेपालका पूर्वमहासचिव हुन् । यो प्रतिष्ठानको राष्ट्रिय अधिवेशन शुक्रबारबाट तीन दिनसम्म पोखरामा हुँदै छ । विगत दुई दशकदेखि निरन्तर गायनमा लागेका गायक खत्री यसअघि प्रतिष्ठानको अध्यक्षमा उठेका थिए । त्यसमा विभिन्न कारणले पराजय भोगेका खत्री शुक्रबारबाट पोखरामा सुरु हुने प्रतिष्ठानको सातौं चुनावी अधिवेशनमा अध्यक्षको उम्मेदवार बन्दै छन् । यसै विषयमा राजधानी दैनिकका डब्बु क्षत्रीले उनीसँग गरेको कुराकानी :
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा उठ्नुको कारण ?
संस्थागत हिसाबले स्थापना कालदेखि सदस्य, सचिव, महासचिव हुँदै संस्थामा काम गर्दै आएको हुँ । एकपटक संस्थाको नेतृत्वमा आएर यस क्षेत्रका सम्पूर्ण कलाकारको उज्ज्वल भविष्य, संस्थागत हक हित र यो क्षेत्रमा देखिएका विकृति तथा विसंगति हटाउँदै कलाकारलाई सहज रूपले पेसागत हिसाबबाट आर्थिक पक्षमा बलियो बनाई सहज रूपमा बाँच्ने वातावरण बनाउन यसपटक पनि अध्यक्षमा उम्मेदवारीदिएको हुँ ।
चुनाव नै हुन्छ कि मिलेर नेतृत्व सर्वसम्मतको सम्भावना छ ?
मेरो स्पष्ट धारणा भन्ने हो भने कलाकारहरू आफू आफूबीच फुटेर होइन जुटेर जाऔं भन्ने हो । सहमतिको आधार देखिएमा त्यसको बाधक म होइन । यो कुरा अग्रज कलाकारहरूको पनि राय सल्लाह सुझावमा भर पर्छ । यदि त्यस्तो नदेखिए मेरो उम्मेदवारी स्वतः हुनेछ ।
चुनावको तयारी कहाँ र कस्तो हुँदै छ ?
नेपालको सुन्दर नगरी पोखरामा यसपटक सातौं महाधिवेशन तथा नयाँ नेतृत्व चयन हुँदै छ । त्यहाँ सबै तयारी पूरा हुँदै छ । देशभरका ३ हजार बढी लोकदोहोरी कलाकार त्यहाँ भेला हुनेछन् । मेरो तयारी अहिले अन्तिम चरणमा पुगेको छ ।
अध्यक्षले अध्यक्ष भएपछि लोकदोहोरी क्षेत्रका लागि केके गर्दै हुनुहुन्छ त ?
पहिलो कुरा त नेपाल सरकारसँग म लोकदोहोरी विकास बोर्डका लागि जोडदार पहल हुनेछ । यो चलचित्र विकास बोर्डकै अवधारणामा गठन हुनुपर्नेछ । जसले लोकदोहोरी संगीतका लागि सरकारले बजेट छुट्याउनेदेखि यसको अनुसन्धान प्रवद्र्धनमा विभिन्न कार्य गर्नेछ । किनकि, प्रज्ञा प्रतिष्ठानले यो क्षेत्रका लागि केही पनि गर्न सकेन । यस्तै, कलाकारलाई आर्थिक रूपमा सम्पन्न बनाउन संस्थागततर्फबाट पहल कदमी हुनेछ । यस्तै, पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन गर्दै नयाँ प्रतिभाको खोजी र लोपोन्मुख संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न लागिपर्नेछु । विकृति विसंगतिविरुद्ध कडा कदम चाल्नेछु । प्रतिष्ठानका सम्पूर्ण जिल्लामा यसै क्षेत्रसम्बन्धी विचार, गोष्ठी, सचेतना, सेमिनारजस्ता कार्यक्रम लैजानेछु । जिल्ला, प्रदेश र केन्द्रको केही दूरी हटाई प्रगाढ सम्बन्ध स्थापना गर्नेछु । कलाकारलाई भैपरी आउँदा राज्यबाट राहतकोषको पहल गर्नेछु । यस्ता थुप्रै योजना छन् । लोकदोहोरीमा व्यापक विकृति छ । तर, रोक्ने पहल भएको देखिँदैन भन्ने आरोप छ नि ?
हो, लोकदोहारी क्षेत्रमा विकृति छन् । यस्तो विकृति रोक्ने अधिकार प्राप्त संस्था यो प्रतिष्ठान त होइन । तर, नैतिक दबाब सिर्जना गर्ने, विकृतिमूलक गीतसंगीतलाई निरुत्साहित गर्ने, उच्छृंखल गीतलाई मान्यता नदिनेजस्ता थुप्रै कार्य प्रतिष्ठानले गर्दै आएको छ । यो संस्थाले लोकदोहोरी क्षेत्रको हक हितका लागि नियमित आवाज उठाउँदै आएको छ ।
त्यसो भए लोकदोहोरी प्रतिष्ठानका तर्फबाट स्रष्टाका लागि के कस्ता काम भएका छन् त ?
कलाकारलाई गाह्रोसाह्रो तथा आपतविपत पर्दा एउटा सहयोगी संस्थाका रूपमा प्रतिष्ठान सधंै अघि छ । दुःख बिमार पर्दा कलाकार कल्याणकारी कोषमार्फत धेरैलाई सहयोग गर्दै आएको छ ।
प्रतिष्ठानको सांगठनिक अवस्था कस्तो छ ?
नेपालका विभिन्न संस्थामध्ये कलाकारको विशुद्ध छाता संगठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान हो । यो संस्था मुलुकका ६० बढी जिल्लामा संगठित छ । यसमा करिब अहिले हामी साधारण सदस्य करिब ५० हजार जना छौं भने मतदान अधिकार प्राप्त सदस्य १३ सयको हाराहारीमा छौं ।