सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

आँखा अस्पतालका कार्यक्रममा सेवाग्राहीको संख्या बढ्दो

दीपक ओली
4 weeks ago
21/11/2019

धनगढी । कैलालीको गेटा आँखा अस्पताल तथा अन्तर्गतका कार्यक्रमबाट सेवा लिनेको संख्या बढ्दै गएको छ । आँखा अस्पतालका अनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आर्थिक वर्ष २०७५÷७६ मा अस्पताल र मातहतका कार्यक्रममा सेवाग्राहीको संख्या वृद्धि भएको छ ।

अस्पताल र मातहतका कार्यक्रमबाट आर्थिक वर्ष २०७४/७५ मा २ लाख ४७ हजार ८४७ जनाले सेवा लिएका थिए भने आर्थिक वर्ष २०७५÷७६ मा २ लाख ५० हजार ९८७ जनाले सेवा लिएको उल्लेख छ ।

त्यस्तै, अस्पताल र अन्र्तगतका कार्यक्रममा आर्थिक वर्ष २०७४÷७५ मा २९ हजार २३२ ले शल्यक्रिया सेवा लिएका थिए भने २०७५÷७६ मा २६ हजार ४६८ ले सेवा लिएको उल्लेख छ ।

गेटा आँखा अस्पतालले उपलब्ध गराएको विवरणनुसार अस्पतालमै प्रदान गरिने सेवा लिन आउनेमा सेवाग्राहीको संख्या भने घट्दै गएको छ । अस्पतालले बिनाटाँका मोतिबिन्दुको शल्यक्रिया, फेको प्रविधिद्वारा मोतिबिन्दुको शल्यक्रिया, जलबिन्दुको विशेष उपचार तथा शल्यक्रिया, दृष्टि पर्दाको विशेष उपचार तथा शल्यक्रिया, आँखाको नानी विशेष उपचार तथा प्रत्यारोपण सेवा, बाल आँखा उपचार विशेष सेवा तथा शल्यक्रिया, अकुलोप्लास्टी विशेष उपचार तथा शल्यक्रियालगायतका सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा १ लाख ७ हजार १२६ जनाले बहिरंग सेवा लिएका थिए भने आर्थिक वर्ष २०७५÷७६ मा ९५ हजार ९ सयले सेवा लिएका छन् ।

त्यस्तै, आर्थिक वर्ष २०७४÷७५ मा २४ हजार ८४ जनाले अस्पतालमा शल्यक्रिया सेवा लिएका थिए भने २०७५÷७६ मा २० हजार ८४२ जनाले सेवा लिएका जनाइएको छ । ‘गेटा आँखा अस्पताल सुदूरपश्चिम, कर्णाली प्रदेशका केही जिल्ला र बर्दिया तथा छिमेकी जिल्ला भारतको उत्तर प्रदेश र उत्तराखण्डका मानिसको पहिलो रोजाइमा रहने गरेको छ,’ गेटा आँखा अस्पतालका निर्देशक डक्टर सुरेशराज पन्तले भने, ‘अहिले यहाँ भारतका सेवाग्राही आउनेक्रम भने घट्दै गएको छ ।

उनका अनुसार सन् २०१३ यता भारतले उत्तर प्रदेश र उत्तराखण्डका मानिसलाई लक्षित सोही क्षेत्रमा सुविधासम्पन्न अस्पताल स्थापना गरेपछि गेटामा आउने भारतीयको संख्या क्रमिक रूपमा घट्दै गएको हो । पन्तले भने, ‘अस्पतालमा अझै पनि ६० प्रतिशत भारतीय नागरिक नै सेवा लिन आइरहेका छन् ।’

उनले अस्पतालको सेवालाई प्रभावकारी बनाउन दीर्घकालीन योजना आवश्यक रहेको बताए । गेटा आँखा अस्पतालले विशिष्टीकृत सेवा सञ्चालन गर्न सक्षम भई ९० प्रतिशत आँखाका रोगको उपचार प्रदान गरिरहेको बताए ।

सुदूरपश्चिम प्रदेशमा सन् २००८ मा गरिएको एक सर्वेक्षणनुसार विभिन्न रोगका कारणले शून्य दशमलव ४१ प्रतिशत नागरिक दृष्टिविहीन छन् भने सम्पूर्ण अन्धोपनमध्ये सबैभन्दा बढी मोतिबिन्दुको कारणले ६२ प्रतिशत दृष्टिविहीन भेटिएका थिए ।

सुदूरपश्चिम प्रदेशमा ५० वर्षभन्दा माथिको उमेर समूहका ४ प्रतिशतमा आँखाको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने तथा सम्पूर्ण जनसंख्याको ६ प्रतिशतमा दृष्टिदोष रहेकोमा १५ वर्षमुनिका बालबालिकामा समेत ३ प्रतिशत दृष्टिदोष रहेको उल्लेख छ ।

अस्पतालका निर्देशक डाक्टर पन्तले भने, ‘समुदायमा आधारित आँखाको उपचारात्मक प्रतिरोधात्मक तथा प्रवर्धनात्मक सेवा प्रदान गरी सन् १९८१ मा रहेको सेती अञ्चलको १ दशमलव २ प्रतिशत र महाकाली अञ्चलको शून्य दशमलव ८ प्रतिशत अन्धोपनलाई सन् २०११ सम्म नै शून्य दशमलव ४१ प्रतिशतमा झार्न अस्पताल सफल भएको छ ।’

 

 

(Visited 7 times, 1 visits today)
Loading comments...