सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

सरकारबाटै निर्वाचन आचारसंहिता उल्लंघन : कांग्रेस

राजधानी समाचारदाता
4 weeks ago
21/11/2019

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको सरकार पक्षबाटै उल्लंघन भइरहेको दाबी गरेको छ । नेता रमेश लेखकको नेतृत्वमा रहेको कांग्रेसको निर्वाचन आचारसंहिता अनुगमन समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर सत्ता पक्षीय दल र सरकारका मन्त्रीहरुबाटै आचारसंहिता उल्लंघन भइरहेको भनेको हो । उसले आचारसंहिता उल्लंघन गरेर उपनिर्वाचनलाई प्रभावित पार्ने काम नगर्न समेत सरकारलाई सचेत गराएको छ ।

सो विषयमा कांग्रेसले निर्वाचन आयोगलाई गम्भीर हुन आग्रह समेत गरेको छ । समितिका संयोजक लेखकले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा सरकार पक्षबाटै आचारसंहिताको उल्लंघन भइरहेको र आयोगले समेत स्वतन्त्र रुपमा निगरानी गर्न नसकेको बताए ।

उनले सबै पक्षलाई आचारसंहिताको पालनामा उत्तिकै जिम्मेवार बनाउन आयोगको भूमिका महत्वपूर्ण हुने तर आयोगले सो अनुरुपको जिम्मेवारपूर्ण भूमिका देखाउन नसकेको गुनासो गरे ।

‘सरकार पक्षबाटै आचार संहिताको उल्लंघन भइरहेको छ, आयोगले स्वतन्त्र रुपमा निगरानी गर्न नसके जस्तो देखियो,’ लेखकले पत्रकार सम्मेलनका क्रममा भने, ‘सबै पक्षलाई आचारसंहिताको पालनामा जिम्मेवार बनाउन आयोगको बलियो भूमिका आवश्यक छ, आयोग जिम्मेवार बनोस् ।’

उपनिर्वाचन हुने स्थानहरुमा सरकार र सो पार्टीका सार्वजनिक पद धारण गरेका व्यक्ति निरन्तर निर्वाचन प्रचारप्रसारमा लाग्ने, विभिन्न स्थानमा पूर्व कार्यक्रम नभएका नयाँ योजना, कार्यक्रम दिने, आश्वासन दिने, बजेट दिने, अवाञ्छित क्रियाकलाप गरी मतदातालाई प्रभावित पार्नेलगायतका क्रियाकलाप भइरहेको कांग्रेसले भनेको छ ।

उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न पार्टीको विधान बमोजिम गठन गरिएको भनिएको समितिले उपनिर्वाचन हुने ३७ वटै जिल्लामा जिल्लास्तरीय समितिसमेत गठन गरेको छ ।

समितिले निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमनसँगै उपनिर्वाचनमा सुरक्षा व्यवस्था पर्याप्त भए नभएको हेर्ने छ ।

उपनिर्वाचनका लागि आयोगले ८ कात्तिकदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता लागू गरेको थियो ।

(Visited 14 times, 1 visits today)
Loading comments...