सोमवार ३० मंसिर, २०७६ (Monday, 16th December 2019)
३० मंसिर, २०७६ (16 December 2019)

नवनियुक्त मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन : जनचाहनाअनुसार काम गर्नुहोस्

राजधानी समाचारदाता
4 weeks ago
21/11/2019

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठित मन्त्रिपरिषद्का सदस्य र सचिवलाई जनताको चाहना र आवश्यकताअनुसार काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार पुनर्गठित मन्त्रिपरिषद्का सदस्य र सचिवलाई संयुक्त रूपमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर कामको योजना बनाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयले आफ्नो मातहतका कामको स्थितिबारे चार दिनभित्र रिपोर्ट तयार गर्न निर्देशन दिए ।

‘पहिले सडक पिच गर्ने अनि पोल गाड्न अर्काे निकाय सडक भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने । अब यस्तो चल्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘भत्काउनुअघि कहिलेसम्म निर्माण भइ सक्छ, स्पष्ट योजना बनाउनुप¥यो । अब हरेक मन्त्रीले विकासमा सहकार्य मात्रै होइन, सहउपयोगको नीति अपनाउनुप¥यो ।’
विकासका लागि सरकारको सामथ्र्यमाथि जनताको विश्वास रहे पनि तत्परतामाथि अविश्वास उत्पन्न रहने गरेको बताउँदै उनले तत्परता अपनाउन निर्देशन दिए । ‘सरकारले चाहेपछि त एक सातामा सडक चिल्लो हुँदो रहेछ नि भनेर जनताले भनिरहेका छन्,’ उनले भने, ‘एक सातामा सबै चिटिक्क पार्न सक्नेले सधैं चिटिक्क पार्न किन तत्परता नअपनाउने ?’

आगामी फागुनमा हुने आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौं उपत्यकाका सडकमा खाल्टा देखिन नहुने निर्देशन दिँदै उनले भने, ‘दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाडौं उपत्यकाका कुनै पनि सडक बन्न बाँकी छन्, कतै खाल्टा छन् भन्ने देखिनुहुँदैन ।’

विकास निर्माण भइरहेका ठाउँमा धुलो उड्नु स्वाभाविक रहेको बताउँदै उनले जहाँ निर्माण कार्य भइरहेको छैन । त्यहाँ धुलो उड्नुभएन । विकास निर्माण भइरहेका ठाउँमा धुलो उड्यो भनेर गाली गर्ने प्रवृत्ति काम अघि बढ्दा स्वतः हट्ने उनले बताए ।

निर्माणाधीन प्रधानमन्त्री निवासको भवनतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले म आफैं धुलो उड्ने ठाउँमा बसेको छु । निर्माण भइरहेका बेला धुलो उड्छ भन्ने मलाई थाहा छ । तर, जहाँ निर्माण कार्य भइरहेको छैन, त्यहाँ धुलो उड्नुभएन । प्रधानमन्त्री बसेको ठाउँ होस् वा अरू कोही बसेको ठाउँ होस् ।’

प्रधानमन्त्री ओलीले कार्यसम्पादनका क्रममा लोभ गर्ने र मिलाएर आम्दानी गर्ने प्रवृत्ति देखिए सिधै कारबाहीको भागीदार हुने पनि चेतावनी दिए ।
‘विकास आयोजनामा सही गर्ने बेला फलानालाई र प्रधानमन्त्रीलाई दिनुपर्छ भनेर कसैले भन्छ भने त्यो नेपाललाई गरिबीबाट मुक्त गर्ने यो सरकारको नीतिविपरीत काम गर्दै छ भन्ने स्पष्ट बुझे हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्रीलाई केही चाहिँदैन, तपाईंहरूलाई पनि गाडी छ, राम्रो तलब छ । यति धेरै सुविधा पाउने भाग्यमानी हुनुहुन्छ, यो भन्दा बढी के चाहियो ? यदि कसैले लोभ गरेर तलमाथि गरे कारबाही हुन्छ, म अनुगमन गरिरहेको हुन्छु ।’

सरकारको कामप्रति हुने विरोध तीन प्रकारका रहेको बताउँदै उनले आफ्नो कार्यसम्पादनमा भएको कमजोरीमाथि हुने विरोधलाई स्वीकार गर्न तथा वैचारिक पूर्वाग्रह र राजनीतिक प्रतिशोधले गरिने विरोधप्रति वास्ता नगर्न आग्रह गरे ।

‘हामीले काम गर्दा केही कमजोरी भएर विरोध भए त्यसलाई तुरुन्तै सच्याउनुहोस्,’ उनले भने, ‘विचार दर्शन मन नपरेर वैचारिक पूर्वाग्रहले गरिएका विरोध र राजनीतिक प्रतिशोधले भ्रम छरेर गरिने विरोधसँग डराउनुपर्दैन । काम गर्दै जाँदा विरोध गर्नेहरू नै आफैं थाक्छन् ।’

(Visited 25 times, 1 visits today)
Loading comments...