सोमवार २३ मंसिर, २०७६ (Monday, 9th December 2019)
२३ मंसिर, २०७६ (9 December 2019)

मेडिकल कलेज ठगी प्रकरण : पिपुल्स डेन्टलले लियो ३ लाख अतिरिक्त शुल्क

प्रशान्त वली
2 weeks ago
21/11/2019

काठमाडौं ।  काठमाडौंको सोह्रखुट्टेस्थित पिपुल्स डेन्टल कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीबाट तोकिएभन्दा अतिरिक्त शुल्क उठाउने गरेको पाइएको छ ।
कलेजले प्रतिविद्यार्थी ३ लाख रुपैयाासम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको हो । आर्थिक वर्ष २०७३/७४ मा कलेजले १८औं ब्याचबाट प्रतिविद्यार्थी २२ लाख ५० हजार रुपैयाँ शुल्क उठाएको पाइएको छ । जब कि सो समयमा सरकारले १७ लाख रुपैयाँ शुल्क निर्धारण गरेको थियो ।

यसैगरी, कलेजले १९औं ब्याचका विद्यार्थीलाई ३ लाख रुपैयाँ अतिरिक्त शुल्क तोकेको पाइएको छ । सरकारले १९ लाख ५० हजार रुपैयाँ तोके पनि कलेजले २२ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको थियो ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा समेत उजुरी परेको छ । उजुरीपत्रमा सरकार र त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले तोकेभन्दा कलेजले प्रतिविद्यार्थी ३ लाख २७ हजार ३ सय ८८ रुपैयाँ अतिरिक्त शुल्क लिएको भनिएको छ ।

यस्तै, परीक्षामा अनुत्तीर्ण भएबापत १० हजार रुपैयाँ थप शुल्क लिएको कन्ट्र्याक्टमा उल्लेख भएको उजुरीपत्रमा भनिएको छ ।

सो कलेजमा बर्सेनि ५० जना विद्यार्थी भर्ना हुने गरेका छन् । जसमध्ये प्रतिवर्ष पाँच÷पाँच जनाले सरकारी कोटाबाट अध्ययन गर्दै आएका छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक डा. मिलन गैरेले पिपुल्स डेन्टल कलेजले अतिरिक्त शुल्क लिएको पाइएको भन्दै फिर्ता गर्नुपर्ने बताए । उनले भने, ‘कसैले पनि मनोमानी तरिकाले शुल्क लिन मिल्दैन । सरकारको निर्देशन सबैले पालना गर्नुपर्छ ।’

यसैबीच, अतिरिक्त शुल्क समायोजन गर्न कलेज सहमत भएको छ । कलेजका स्टुडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. इरफान रेजाले कलेजले लिएको अतिरिक्त शुल्क समायोजन गरेको बताए । उनले भने, ‘कलेजले आन्तरिक शुल्क समायोजन गरेको छ । हामीले शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता गरेका छौं ।’
प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको थियो ।

छानबिनका क्रममा मेडिकल कलेजहरूले प्रतिविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको थियो । मेडिकल कलेजहरूले शैक्षिक वर्ष २०१४ देखि २०१८ सम्ममा विभिन्न शीर्षकअन्तर्गत अतिरिक्त शुल्क असुल गरेको केन्द्रको दाबी छ ।

केन्द्रले नेसनल मेडिकल कलेज, युनिभर्सल कलेज अफ मेडिकल साइन्स, गण्डकी मेडिकल कलेज, किस्ट मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज, देवदह मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज, विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, शिक्षण अस्पताल, काठमाडांै मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सले लिएको शुल्कबारे अध्ययन गरेको थियो ।

सरकारले शैक्षिक सत्र २०७६/७७ का लागि एमबीबीएसतर्फ काठमाडांै उपत्यकाभित्रका लागि ४० लाख २३ हजार २५० र उपत्यका बाहिरका लागि ४४ लाख ३६ हजार २५ एवं बीडीएसतर्फ २० लाख १९ हजार ५८० कायम गरेको छ ।

(Visited 68 times, 1 visits today)
Loading comments...