आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

ढाड दुख्नु मेरुदण्डको बाथ हुन सक्छ

पूर्णभक्त दुवाल
3 weeks ago
22/11/2019

 

डा. श्वेता नकर्मी

बाथरोग विशेषज्ञ, नेसनल बाथरोग सेन्टर, काठमाडौं

सामान्यतयाः गर्धनको तल र नितम्बबीचको भागमा हुने दुखाइलाई ढाड दुख्नु भनिन्छ । सहरीका अधिकांश मानिस कुर्सीमा बसेर काम गर्छन् । दिनभरि एउटै शैलीमा बसेर काम गर्दा शरीरमा विभिन्न किसिमका समस्या देखिन्छ । कुर्सीमा बसेर लामो समयसम्म काम गर्ने व्यक्तिमा ढाडको समस्या हुन्छ । एउटै ‘पोजिसनमा’ बस्दा पछाडिको मांसपेसी एकदमै थकित हुन्छ । ढाडलाई अप्ठ्यारो गरेर राखिराख्यो भने मांसपेसी थाकेर ढाड दुखाइ सुरु हुन्छ ।
मेरुदण्डको निर्माणमा सहभागी हड्डी र मांसपेसीलाई असर गर्ने रोग तथा अवस्थाले ढाड दुख्छ । यस्तो दुखाइ मेरुदण्डमा हुन सक्छ । ढाड दुखाइ, बाथ र फाइब्रोमाएल्जिया रोगमा केन्द्रित रहेर राजधानी दैनिकका पूर्णभक्त दुवालले डा. श्वेता नकर्मीसँग गरेको कुराकानी :

ढाड के कारणले दुख्छ ?

ढाड यही कारणले दुख्छ भन्ने छैन । खासगरी शरीर र अंगले थेग्न नसक्ने काम गर्दा दुखाइको समस्या आउँछ । लामो समयसम्म एउटै शैलीमा बसिरहँदा पनि ढाड दुख्ने गर्छ । शरीरमा पानीको मात्र कम भएमा पनि दुखाइ हुने गर्छ । तर, यस्तो दुखाइ २४ घन्टासम्म मात्र रहन्छ । ढाड दुख्नुको अर्को कारण बाथ पनि हुन सक्छ । बाथरोगले मांसपेसी र जोर्नी दुखाउँछ । मोटोपनले पनि ढाड दुख्ने समस्या ल्याउँछ ।
हड्डीले नसा च्यापिएका कारण पनि ढाड दुख्छ । उमेर बढ्दै गएपछि हड्डी खिइएर पनि दुख्ने समस्या देखापर्छ । उमेर ढल्किँदै जाँदा शरीरका हड्डी पातला हुँदै जान्छन् । यो समयमा हर्मोन असन्तुलन हुने गर्छ । यसले मांसपेसीको दुखाइ बढाउँछ । ३०–३५ वर्ष भएपछि मेरुदण्डको हड्डीको बीचमा ‘डिस्क’ कमजोर हुन्छ र त्यहाँबाट फुत्किएर बाहिरी ‘स्पाइनल क्यानल’मा आउन सक्छ । यसकारण, नसा च्यापिएर ढाडमा समस्या हुन्छ । ढल्किँदो उमेरमा हड्डी खिइएको भागमा नयाँ हड्डी पलाउने गर्छ र नसा च्यापिएर पनि ढाड दुख्छ । मेरुदण्डभित्रको स्पाइनल क्यानल लिगामेन्ट बाक्लो हुने तथा सोही ठाउँमा नयाँ हड्डी आउने हुँदा साँघुरो भएर नसा च्यापिने सम्भावना बढी हुन्छ । मेडिकल भाषामा यसलाई ‘स्पाइनल इस्टेनोसिस’ भन्छन् ।

ढाड दुख्नुका अन्य कारण के के छन् ?

हड्डीको संक्रमण, हड्डीमा क्याल्सियमको कमीले हड्डी कमजोर भएर र हड्डी मक्किने अस्टियोपोरोसिसले गर्दा पनि ढाड दुख्न सक्छ । त्यस्तै, भार अनुपयुक्त तरिकाले उचाल्नु, नमिल्दो आसन र नियमित व्यायामको कमीका कारण पनि ढाड दुख्छ । मिर्गौलाको पत्थरी, मूत्रनलीको तल्लो भागमा संक्रमण आदिद्वारा तल्लो ढाडमा दुखाइ हुन सक्छ । बाथरोगका कारण समेत ढाड दुख्छ ।

ढाड दुखेमा के गर्नुहु“दैन ?

हाड–जोर्नीलाई चलायमान बनाइराख्नुपर्छ । नियमित व्यायाम गर्नुपर्छ । साथै ढाडको विशेष व्यायाम पनि गर्नुपर्छ । लामो समयको दुखाइ छ भने जथाभावी पेनकिलर खानुहुँदैन । यसले मिर्गौला खराब हुन सक्छ । रक्सी र हाई प्रोटिनयुक्त खानासमेत खानुहुँदैन ।

नेपालमा बाथरोगको अवस्था कस्तो छ ?

पहिलेको तुलनामा बाथरोग बढ्दो क्रममा छ । पहिला बाथरोग भए पनि पहिचान हुँदैनथ्यो किनकि पहिले नेपालमा बाथरोग विशेषज्ञ नै थिएनन् । अन्य जनरल फिजिसियन तथा हाडजोर्नी विशेषज्ञले नै यसको उपचार गर्थे । विश्वको तथ्यांक हेर्ने हो भने विश्वको कुल जनसंख्याको १० प्रतिशत मानिसलाई बाथरोग हुन्छ ।

बाथरोग कति प्रकारका हुन्छन् ?

सयौं प्रकारका हुन्छन् । नेपालमा बढी मात्रामा देखिने बाथरोग भने पाँच किसिमका छन् । गठिया बाथ, मेरुदण्डको बाथ, युरिक एसिडको बाथ, कुरकुरे हड्डी खिइने बाथ र मांसपेसीको बाथ ।

बाथले कुन कुन अंगमा असर गर्छ ?

सबै बाथले जोर्नीसहित सबै अंगमा असर गर्छ । मुख्यगरी जोर्नीमा असर गर्छ । आँखामा असर गर्न सक्छ । आँखा रातो हुने, मुखमा घाउ आउने, छालामा रातोरातो डाबर आउने, कपाल झर्ने, घाममा जाँदा बढी पोल्ने, मुटुमा पानी जम्ने, मिर्गौलामा असर गर्ने, फोक्सोमा पानी तथा जाली भरिने र मस्तिष्कमा असर पु¥याउने गर्छ ।

बाथका लक्षणहरू के के हुन् ?

गठिया ४० वर्ष कटिसकेका महिला तथा पुरुषलाई हुन्छ । हातखुट्टाका ससाना जोर्नीहरू दुख्ने, सुन्निने, बिहान उठ्दा अरठ्ठ हुने, राम्रोसँग मुठ्ठी कस्न नसक्ने तथा आँखा रातो हुने गर्छ । मेरुदण्डको बाथ ४५ वर्षभन्दा माथिका पुरुषलाई हुन्छ । मेरुदण्डको बाथमा बिहान ३–४ बजेतिर एकदमै दुख्ने, कोल्टो फेर्न गाह्रो हुने, कोल्टो फेर्न अप्ठ्यारो र शरीर अरठ्ठ हुने आदि लक्षण देखिन्छ । मुख्य रूपमा मेरुदण्डमा असर गर्छ । साथै शरीरका अरू अंगलाई पनि समात्छ । शरीरका अन्य जोर्नी सुन्निने र दुख्ने हुन सक्छ ।
युरिक एसिडको बाथ ४० कटेका पुरुषमा यो बढी देखिन्छ । एउटा वा दुईवटा जोर्नी रातो भएर सुन्निन्छ । यो रातारात बढेर चरम दुखाइ हुन्छ । पहिलो १२ हप्तामै चरम दुखाइ हुन्छ । पछिका ४ र ५ दिनमा आफैं दुखाइ कम हुन्छ । यस्तो बेला औषधि खाए पनि नखाए पनि दुखाइ हराउँछ । लुपस बाथ महिनावारी हुने उमेरका महिलामा बढी हुन्छ । कपाल झर्ने, अनुहारमा रातो दाग देखापर्ने, घाममा जाँदा पोल्ने, चिलाउने, मुखको तालुमा बारम्बार घाउ आउने, मुटु र फोक्सोमा पानी जम्ने तथा मिर्गौलामा समस्या आउने पनि हुन सक्छ ।
मांसपेसीको बाथ (फाइब्रोमाल्जिया) पनि महिलालाई नै बढी हुन्छ । यसमा शरीरका विभिन्न ठाउँका मांसपेसी दुख्ने गर्छ । मुख्यगरी घाँटी तथा अन्य भागका मांसपेसी कटकटी खाने, बिहानै आलस्य लाग्ने, सधैं थकाइ लाग्ने र निद्रा राम्रोसँग नलाग्ने यसका मुख्य लक्षण हुन् ।

(Visited 261 times, 1 visits today)
Loading comments...