आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

अस्ट्रेलियामा नेपाली नचाए नेपथ्यले

राजधानी समाचारदाता
3 weeks ago
22/11/2019

काठमाडौं । नेपथ्य लोकब्यान्ड समूह अहिले अस्ट्रेलियामा छ । यो समूहले त्यहाँको ब्रिसबेनमा आफ्ना चर्चित गीत सुनाएको छ । ब्यान्डको यसवर्ष शृंखलावद्ध अस्ट्रेलिया यात्राको सुरुवात ब्रिसबेनबाट भएको हो । अस्ट्रेलियाको तेस्रो ठूलो सहरमा नेपथ्यको यो चौथो प्रस्तुति हो । एक दशक अघिसम्म पनि मुस्किलले करिब हजार नेपाली बसोबास गर्ने यो सहरलाई अध्ययन, रोजगारी तथा बसोबासका निम्ति छनोट गर्नेहरू विस्तारै बढ्दै गएका छन् । त्यसैले यो सहर कन्सर्टका लागि रोजेको नेपथ्यले जनाएको छ ।

आयोजकका अनुसार नेपथ्यले कन्सर्ट गर्दा सहरकै नयाँ साजसज्जासहित खुलेको ‘फोर्टिच्यूड म्युजिक हल’को क्षमता भरिने गरी दुई हजारभन्दा बढी दर्शक कार्यक्रममा उपस्थित थिए ।

‘ब्रिसबेनमा नेपाली कलाकारको यो आजसम्मकै ठूलो मात्र होइन सबैभन्दा व्यवस्थित प्रस्तुति पनि बन्न पुगेको छ,’ आयोजक संस्था ‘माउन्ट ८८४८ इभेन्ट्स’ का टोली सदस्य सुनिल बस्नेतले भने,‘यो सहरमा जति संख्यामा नेपाली बसोबास छ त्यसका हिसाबले यतिको दर्शक जुट्नु ठूलो सफलता हो ।’

मंगलबार अस्ट्रेलिया पुगेको नेपथ्यको ब्रिसबेनको प्रस्तुतिसँगै अस्ट्रेलिया कन्सर्ट यात्रा सुरु गरेको हो । सो कन्सर्टमा ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’,

‘चरि म¥यो’, ‘जोमसोमे बजारमा’ जस्ता एकपछि अर्को सर्वकालीक हिट गीत प्रस्तुत गरेको थियो । नेपथ्यका अगुवा गायक अमृतले भने, ‘हाम्रा लोकगीतले नचाउने काम मात्र नगरेर नेपाली समाजकै गम्भीर सन्देश र दर्शन पनि बोकेका हुन्छन् ।’कन्सर्ट अवधिमा उनले विदेशमा सबै नेपाली मिलेर बस्न र आइपरेका बेला एकले अर्कालाई साथ दिन अनुरोध पनि गरे ।

कार्यक्रममा उनले ‘यो जिन्दगानी’, ‘रेसम’ र ‘तालको पानी’ जस्ता गीतहरू पनि सुनाए । त्यसैगरी नयाँ एल्बमबाट नेपथ्यले ‘नैना ताल’ सुनाउँदा यहाँका स्रोता दर्शक असाध्यै रमाएको पनि उनले बताए,‘सबै उमेर र वर्गका दर्शकलाई यसरी एकै ठाउँमा आएर नेपाली संगीतमा रमाएको देख्दा गौरव महसुस भइरहेको छ,’ अमृतले भने, ‘तपाईंहरूको यो साथ र माया को निम्ति म धन्यवाद दिन चाहन्छु ।’

विश्वयुद्ध लड्न भारतीय गोर्खा फौजमा गएका लाहुरेहरूले उतिबेला बनाएको यो गीतलाई गायक अमृतले आफ्ना पूर्वजहरूबाट सुनेको अनुभवबाटै निखारेर प्रस्तुत गरेका हुन् । उनले ‘रातो र चन्द्रसूर्जे’ गीतबाट कार्यक्रमको बिट मारे ।

टोलीले अबको यात्रा डार्बिनतर्फ गर्नेछ, जहाँ नोभेम्बरको २२ मा फेरि नेपथ्य कन्सर्ट हुनेछ । त्यहाँस्थित स्थानीय आयोजक ‘गोर्खा पल्टन’ले नेपथ्यलाई शुक्रबार बेलुकी ‘इटालियन क्लब’मा उपस्थित गराउँदै छ ।अस्ट्रेलियाको ६ वटा राज्यमा सांगीतिक यात्रा गर्ने नेपथ्यले यसपाला आफूलाई यस मुलुककै फरक द्वीपमा उभिएको राज्य तासमानियाको राजधानी होबार्टमा समेत पहिलोपटक उभ्याउँदै छ । यो यात्राको अन्त्य भने डिसेम्बरको २३ तारिख मेलबर्नको क्राउनस्तिथ ‘पाल्म्स’मा पुगेर हुनेछ ।

ब्यान्ड र व्यवस्थापनको १२ सदस्यीय टोलीमध्ये मञ्चमा गायक अमृत, ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुबिन शाक्य र मादलमा शान्ति रायमाझी प्रस्तुत हुने पनि नेपथ्यले जनाएको छ ।

 

 

(Visited 15 times, 1 visits today)
Loading comments...