शनिवार २८ मंसिर, २०७६ (Saturday, 14th December 2019)
२८ मंसिर, २०७६ (14 December 2019)

किसानलाई निःशुल्क हाते ट्याक्टर वितरण

दिनेश थापा
3 weeks ago
22/11/2019

सिन्धुपाल्चोक । कृषिमा आधुनिक प्रविधिको सुरुवात गर्ने उदेश्यले सुनकोशी गाउँपालिकाले वडाका किसानहरुलाई निःशुल्क हाते ट्याक्टर वितरण गर्न सुरु गरेको छ । परम्परागत रुपमा खेती गर्दे आएका किसानहरुले खेतबारी जोत्न स्थानीय सरकारले निःशुल्क हाते ट्याक्टर प्रदान गरेपछि खुसी भएका छन् ।

सुनकोशी गाउँपालिका अन्र्तगत वडा नम्बर ६ थुम्पाखरले यो वर्ष वडाका १६ कृषि समुहलाई निःशुल्क हाते ट्याक्टर वितरण गरेको वडा अध्यक्ष रामकुमार थापाले जानकारी दिए । गत वर्षदेखि सुरु भएको यो कार्यक्रम यस वर्ष पनि निरन्तरता गरिएको र आगामी वर्ष पनि हाते ट्याक्टर सहित अन्य कृषि उपकरण किसानहरुलाई वितरण गरिने अध्यक्ष थापाले जानकारी दिए ।

वडा कार्यालयमा आयोजीत कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी(विनोद) र वडा अध्यक्ष थापाले किसानहरुलाई ट्याक्टर वितरण गरेका थिए । वडाका १६ कृषक समुहका प्रतिनिधिहरुलाई ट्याक्टर प्रदान गरिएको थियो । गाउँमा गोरु नपाउँने हुदा हाते ट्याक्टर पाएपछि काम गर्न सजिलो हुने द्धारे टोल कृषि समुहका अध्यक्ष रामकृष्ण थापाले बताए । ट्याक्टरले जोत्न छिटो हुने भएकाले अब आफुहरुलाई सजिलो हुने थापाले बताए ।

गाउँपालिकाले कृषि क्षेत्रको विकासका गाउँपालिकाको नीति तथा कार्यक्रममा नै बजेट व्यवस्था गरेकाले अब अन्य वडामा पनि आधुनिक कृषि उपकरण वितरण गरिने गाउँपालिका अध्यक्ष श्रवण जिसीले जानकारी दिए । ‘हामी कृषिमा आधुनिक प्रविधि ल्याएर किसानहरुलाई सहज बनाउँदै छौँ’, अध्यक्ष जिसीले भने । त्यस्तै वडा अध्यक्ष रामकुमार थापाले हाते ट्याक्ट लगायत कृषि उपकरणले किसानहरुलाई सजिलो भएकाले आफुहरुले निःशुल्क रुपमा वितरण गरेको बताए । ‘किसानहरुले यसको सदुपयोग गर्नुपर्छ, आगामी दिनमा पनि हामी यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन्छौ’, थापाले भने ।

(Visited 2,225 times, 1 visits today)
Loading comments...