शुक्रवार २० मंसिर, २०७६ (Friday, 6th December 2019)
२० मंसिर, २०७६ (6 December 2019)

समाजवादी पार्टीसंगको एकता सम्भावना तत्काल छैन : महतो

सुजीतकुमार झा
2 weeks ago
22/11/2019

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसंग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।
शुक्रबार जनकपुरमा पत्रकारहरुसंग कुरा गर्दै राजपाका संयोजक महतोले समाजवादी पार्टी सरकारमै रहेकाले तत्काल एकता सम्भव नरहेको बताएका हुन् । उनले देशमा कांग्रेस र कम्युनिष्टको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको बताउदैँ कांग्रेस र नेकपाको विकल्पमा नयाँ वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडी बढ्ने स्पष्ट पारे । तर सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण हुन नसक्ने उनले बताए ।

संयोजक महतोले सरकार बाहिर रहेका सम्पूर्ण शक्तिलाई जनभावनालाई पूरा गर्नका लागि वैकल्पिक शक्ति निर्माण गर्नमा सहयोगका लागि आग्रह समेत गरे । उनले लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादी लगायतका पार्टीहरुसंग एकताको कुरो भईरहेको जानकारी दिए ।
मन्त्रिमण्डल पुनर्गठनको विषयमा केही बोल्न नचाहेका संयोजक महतोले भने ‘नजाने गाउँको बाटो किन सोध्ने, हामी सरकारमा छैनौँ र हाम्रो सरोकारको विषय पनि होइन ।’

राजपा पनि सरकारमा सहभागी हुने विषयमा महतोले राजपाको सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे । उनले संविधान संशोधन, आन्दोलनकारी साथीहरु बिरुद्धको मुद्दा फिर्ता लगायतका माँगहरु सम्बोधन नभएसम्म सरकारलाई सहयोग गर्न नसकिने स्पष्ट गरे । उनले हाम्रो माग सम्बोधन नभएसम्म सरकारलाई समर्थन गर्न सक्दैनौँ, त्यसैले सरकारबाट समर्थन फिर्ता लिएर प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताए ।

(Visited 17 times, 1 visits today)
Loading comments...