आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

उपनिर्वाचन सुरक्षा : २८ हजार सुरक्षाकर्मी परिचालन हुँदै

महेश्वर गौतम
3 weeks ago
22/11/2019

काठमाडौं ।  प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको १४ मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २८ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि एकीकृत सुरक्षा योजना बिहीबार पारित गर्दै सबै सुरक्षा निकायबाट उपनिर्वाचनमा प्रयोग गरिने सुरक्षाकर्मीको संख्यासहित उपनिर्वाचन हुने स्थानको अवस्था विश्लेषण गरेको हो ।

जसअनुसार उपनिर्वाचनका लागि नेपाल प्रहरी ६ हजार, सशस्त्र प्रहरी बल र नेपाली सेनाको जनशक्ति १०÷१० हजारको संख्यामा परिचालन हुनेछन् । यस्तै, आवश्यकताअनुसार राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीहरूसमेत परिचालन हुनेछन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको सहभागितामा उच्चस्तरीय सुरक्षा समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार बैठक बसेको थियो । सोही बैठकले सुरक्षा निकायबाट प्रस्तुत एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित गरेको हो ।

बैठकले सुरक्षाको समग्र अवस्थाबारे विश्लेषण गरी उपचिर्वाचन हुने मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील वर्गीकरण गरी सोहीअनुरूपको सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ ।

जसअनुसार उपनिर्वाचन हुने स्थल अर्थात् मतदान स्थलभित्र नेपाल प्रहरीले सुरक्षा प्रदान गर्नेछ । त्यसभन्दा बाहिरी घेरामा सशस्त्र प्रहरी र सबैभन्दा बाहिरी घेरामा नेपाली सेना तैनाथ हुनेछन् ।

सामान्य अवस्था रहेको मतदान स्थलमा ७ जना, संवेदनशीलमा १० जना र अति संवेदनशीलमा १२ जनासम्म प्रहरी राख्ने तयारी छ । यस्तै, एक मतदान स्थलमा १० देखि १५ जना सशस्त्र प्रहरी र १० देखि १२ जनाको नेपाली सेनाको टोली अवस्थाअनुसार परिचालन हुनेछन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै सुरक्षा अंगका प्रतिनिधिसहित निर्वाचन हुने स्थानको अवस्थाबारे समेत आयोगले विश्लेषण गरेको बताए ।

‘आयोगले उपनिर्वाचन हुने स्थानको सुरक्षाको अवस्थासहितका विषयमा विश्लेषण गरेको छ, सोहीअनुसार उपनिर्वाचनमा सुरक्षाकर्मी परिचालन गरिनेगरी तयारी भएको छ,’ प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

आयुक्त पौड्यालले सुरक्षा निकायबाट प्रस्तुत सुरक्षा योजनामाथि आएका सुझावलाई समेटेर निर्वाचनमा उचित सुरक्षा प्रबन्ध मिलाउन संवेदनशील, अति संवेदनशील र सामान्य मतदान स्थलको वर्गीकरण गरिएको जानकारी दिए ।

कतिपय स्थलमा सुरक्षाकर्मी परिचालित भइसकेको र केही स्थलमा हुने क्रममा रहेको भन्दै उनले उपनिर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था हुने जनाए ।

बैठकमा गृह मन्त्रालयक सचिव प्रेमकुमार राई र रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले उपनिर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्था पर्याप्त रहेको भनी आयोगलाई आश्वस्त तुल्याएका थिए ।

बैठकमा आयुक्त नरेन्द्र दाहाल, नेपाली सेनाका बलाधिकृत रथी शरद गिरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा र नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक दीपककुमार थापासमेत सहभागी थिए । ३७ जिल्लामा गरी कुल ५२ पदका लागि १४ मंसिरमा उपनिर्वाचन हुँदै छ ।

(Visited 29 times, 1 visits today)
Loading comments...