आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

नेपाल–भारत समन्वय बैठक सम्पन्न, सीमा व्यवस्थापन मजबुद बनाउन संयुक्त अभ्यास गरिने सहमति

राजधानी समाचारदाता
3 weeks ago
22/11/2019

काठमाडौं ।  नेपाल र भारतका अधिकारी सम्मिलित समन्वय बैठक शुक्रबार सकिएको छ । सो बैठकमा सीमावर्ती अपराध नियन्त्रणमा आपसी सहयोग अपरिहार्य रहेकाले आवश्यक सहयोग आदान प्रदान गर्ने निर्णय भएको छ । यसैगरी सूचनाको आदान प्रदान गर्ने र यसका लागि विभिन्न तहमा विभिन्न समयमा आवश्यकता अनुसार दुवै देशका सुरक्षा अधिकारीहरु सम्मिीलत बैठकको आयोजना गर्ने निर्णय समेत भएको छ ।

यसैगरी विभिन्न प्रकारका चाडपर्वका अवसरहरुमा दुवै देशका नागरिकलाई सुरक्षित एवं सहज अवागमनको व्यवस्था मिलाउन दुवै देशका सुरक्षाकर्मी सम्मिलित सहायता कक्षलाई निरन्तरता दिइने सहमति भएको छ ।

सीमा व्यवस्थापनलाई मजवुद बनाई राख्न आवश्यकता अनुरुप संयुक्त अभ्यास गरिने सहमति भएको छ । सो बैठकमा दुवै देशले आपसी समन्वयको लागि ‘नोडल अफिसर’ तोकिदै आएकोमा सो कार्यलाई निरन्तरता दिइने निर्णयसमेत भएको छ ।

दुवै देशका सुरक्षाकर्मीबाट नियमित रुपमा ‘गुडविल भिजिट’को आदान प्रदान गर्ने निर्णय भएको सो बैठकमा अन्तर्देशिय व्यावसायिक तालिमहरुमा दुवै देशका सुरक्षाकर्मीहरुको सहभागिता गराउने सहमति समेत भएको छ ।

सो बैठकमा तेश्रो देशका नागरिकबाट नेपाल–भारत सीमा क्षेत्रमा हुनसक्ने अवैधानिक गतिविधि नियन्त्रणका लागि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले निगरानी बढाउने सहमति समेत भएको छ ।

बुधबारदेखि पोखरामा सुरु भएको सो नियमित बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृत तथा गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो ।

तीन दिनसम्म सञ्चालित सो बैठकमा भारतको तर्फबाट सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक कुमार राजेश चन्द्रको नेतृत्वमा ६ सदस्यीय टोलीको सहभागिता रहेको थियो । नेपाल र भारतको सुरक्षा प्रमुख तहमा द्विपक्षीय वार्ता भएको यो चौथो अवसर हो ।

दुई देशका सुरक्षा प्रमुख स्तरमा हुने यस्ता समन्वय बैठकले दुवै देशका सुरक्षा निकायबीच सम्बन्ध विस्तार हुन मद्दत पुग्नुका साथै प्रभावकारी सुरक्षा व्यवस्था एवं सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि यस्ता समन्वय बैठक फलदायी हुने विश्वास लिएको छ ।

बैठकमा दुबै देशका अधिकारीहरुबाट हार्दिकतापूर्वक आफ्नो कुरा राख्दै सुझाव र अनुभवको आदान प्रदान समेत भएको थियो । यसैगरी बैठकले पाँचौ नेपाल–भारत समन्वय बैठक आगामी वर्ष भारतमा गर्ने निर्णय गरेको छ ।

(Visited 50 times, 1 visits today)
Loading comments...