बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

समितिको निर्देशन : ‘एक जनाको घर बनाउँदासम्म पनि ध्यान दिनू’

टेनिस रोका
2 months ago
23/11/2019

काठमाडौं। संघीय संसद्को विकास तथा प्रविधि समितिले भूकम्पपछिको पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई एक जना भूकम्पपीडितले घर बनाउन बाँकी रहँदासम्म विशेष ध्यान दिन निर्देशन दिएको छ ।

समिति सभापति कल्याणी खड्काले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सहुलियत ऋण प्रवाह, जीविकोपार्जन, संसद्को पुरानो भवनको पुनर्निर्माण लगायतमा ध्यान दिन पनि निर्देशन दिइन् ।

समितिको शुक्रबार बसेको बैठकमा प्राधिरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई पुननिर्माणको सन्दर्भमा छलफल गर्न बोलाइएको थियो ।

सीईओ ज्ञवालीले बैठकमा ४ लाख ७९ हजार ५ सय ४५ घरको पुनर्निर्माण सम्पन्न भएको र १ लाख ८९ हजार १ सय ४१ घर पुनर्निर्माणका क्रममा रहेको जानकारी गराएका थिए । यसको आधारमा भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ भने २४ प्रतिशत घर बन्ने क्रममा रहेका छन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बनिसकेका र बन्दै गरेकासहित निजी आवास पुनर्निर्माणमा ८६ प्रतिशत प्रगति हासिल भएको बताए ।

निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ४ सय २७ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । त्यसमध्ये ९९ प्रतिशतले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ, ८० प्रतिशतले दोस्रो किस्ताबापतको १ लाख ५० हजार र ६७ प्रतिशतले तेस्रो किस्ता ३ लाख रुपैयाँ अनुदान प्राप्त गरिसकेका छन् ।

प्राधिकरणले जोखिमपूर्ण बस्तीमा रहेका ४९ सय २९ लाभग्राहीमध्ये ४ हजार २ सय ४ लाभग्राहीलाई सुरक्षित बस्तीमा व्यवस्थित गरेको बताएको छ ।

यस्तै, ८ हजार २ सय ८६ भूमिहीन भूकम्पपीडित मध्ये ८७ सय ४४ लाई घर बनाउने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ५३ विद्यालयमध्ये ७१ प्रतिशत सम्पन्न र २४ प्रतिशत पुनर्निर्माणको क्रममा छन् । १ सय ९७ स्वास्थ्य संस्थामा क्षति पुगेकोमा ५८ प्रतिशत सम्पन्न र १४ प्रतिशत निर्माणाधीन छन् ।

भूकम्प अति प्रभावित जिल्लामा ७ सय ५३ वटा सम्पदामा क्षति पुगकोमा ५१ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको र १६ प्रतिशत पुनर्निर्माणाधीन छन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रानीपोखरी, धरहरा, सिंहदरबार, काष्ठमण्डलगायतका संरचनाको पुनर्निर्माण द्रुत गतिमा भइरहेको जानकारी दिए ।

प्राधिकरणले समितिले यसअघिका दिएका निर्देशन कार्यान्वयनको प्रगति पनि पेस गरेको थियो । जसमा गुनासो सुनुवाइ, जोखिममा परेका वर्गका लागि थप ५० हजार उपलब्ध गराउने व्यवस्था, सुकुमबासी तथा भूमिहीनलाई घर बनाउने व्यवस्था, आर्थिक अभावका कारण पहिलो किस्ता लिएर दोस्रो किस्ता नलिएकालाई सहुलियत दरमा ऋण लिने व्यवस्था, जीविकोपार्जनसम्बन्धी कार्यक्रमलगायत छन् ।

 

सांसदद्वारा प्राधिकरणको प्रशंसा

पुननिर्माण क्षेत्रमा पछिल्लो समय भइरहेको कामको विभिन्न सांसदले प्रशंसा गरेका छन् । समिति सभापति खड्काले समितिको निर्देशनअनुसार काम भएकामा खुसी व्यक्त गरिन् ।

सांसद् गणेश पहाडीले पुनर्निर्माण राम्रोसँग अघि बढेको भन्दै प्रवलीकरणमा ध्यान दिन आग्रह गरे । सांसद् बिनाश्रेष्ठले पछिल्लो समयमा रानीपोखरी, धरहराको पुनर्निर्माणमा राम्रो प्रगति भएको भन्दै वसन्तपुर क्षेत्रमा रहेका सम्पदा पुनर्निर्माणमा अझ बढी ध्यान दिन आग्रह गरिन् ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सांसदहरूको विशेष सक्रियताले जिल्लाजिल्लामा पुनर्निर्माण सही ढंगले अघि बढेको बताएका थिए ।

(Visited 24 times, 1 visits today)
Loading comments...