शनिवार ११ माघ, २०७६ (Saturday, 25th January 2020)
११ माघ, २०७६ (25 January 2020)

बाला चर्तुदशी आज :  पशुपति क्षेत्रमा भक्तजनका लागि विशेष व्यवस्था

नवीन लुइँटेल
2 months ago
25/11/2019

काठमाडौं । पितृको मोक्ष र उद्धारका लागि सोमबार बिहान देशभरका शिवालय वरिपरि सतबीज छरिँदै छ । मंसिर कृष्ण चर्तुदशीका दिन आप्mनो परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतविज शिवालय वरिपरि छर्ने चलन छ । यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरूले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ । यसका साथै सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । सतबीजको एक गेडा अन्न छर्नाले सुन दान गरे बराबरको फलसमेत प्राप्त हुने बुढापाका बताउँछन् ।

मंसिर कृष्ण त्रयोदशीका दिन साँझबाट भोलिपल्ट सतबीज छर्ने बेलासम्म आफ्ना पीतृहरूको नाममा बत्ती बाल्ने गरिन्छ । यसैक्रममा दिवङ्गत पीतृहरुको नाममा दीपदान गर्न लाखौं भक्तजन आइतबार पशुपति क्षेत्रमा जम्मा भएका छन् । आज दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने शास्त्रीय विधि छ ।
अघिल्लो दिन दियो, कलश गणेश थापी भर्खरै मृत्यु भएका आफन्तजनको नाम र गोत्र उच्चारण गरी संकल्प गरेर बत्ती बाल्ने गरिन्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको हो ।

चर्तुदशीका दिन बिहान स्नान गरी बत्ती खोलामा विसर्जन गरी सतबीज छरेर पूर्णपात्रो गर्ने चलन छ ।
राजधानीको पशुपतिनाथको मन्दिर क्षेत्रमा रहेका ११८ शिवलिङ, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति मृगस्थलीलगायतका ठाउँमा श्रद्धालु भक्तजनको अघिल्लो दिन साँझदेखि नै भिड लाग्ने गर्दछ ।

पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले भने, ‘हामीले भक्तजनका लागि बत्ती बाल्नका लागि पण्डाल, पाल आदिको व्यवस्था गरेका छौं । नेपाली सेनाले यसमा हामीलाई सहयोग गरेको छ ।’ भक्तजनको सुरक्षा र स्वास्थ्यलगायत आवश्यकसम्पूर्ण तयारी गरिएको उनले बताए ।

परापूर्वकालमा पशुपति क्षेत्रमा बाला नामक एक व्यक्तिले मान्छे जलाउने काम गरेर जीविका चलाइरहेका थिए । एक दिन जलाउने क्रममा मान्छेको गिदी उछिट्टिएर उसले खानेकुरामा परेछ । त्यो खादा उसलाई स्वदिष्ट लागेपछि त्यस दिनबाट उसले मरेका मानिसको लासबाट गिदी खाने गरेछ । त्यही व्यक्ति पछि बाला नामक राक्षसका रूपमा प्रसिद्ध भयो । पछि राक्षसलाई विभिन्न विधि अपनाएर मारिएछ । त्यही खुसीयाली र मान्छेको मृत्यु कर्म नपुगेको भन्दै सतबीज र बत्ती बाल्ने काम पशुपति क्षेत्रमा गरिएको भन्ने कथन छ ।

(Visited 33 times, 1 visits today)
Loading comments...