आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

सिड्नीमा पिउने पानीको अभाव, नुहाउन आंशिक प्रतिबन्ध

राजन घिमिरे
3 weeks ago
26/11/2019

 सिड्नी । गर्मी र अनावृष्टिका कारण आफ्नो राज्यभर रहेका बाँधहरूमा जलस्तर घट्दै गएको भन्दै न्यु साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरीजिक्लीयनले आगामी डिसेम्बर महिनाको १० तारिखदेखि लागू हुने गरी पानी प्रयोगमा थप प्रतिबन्धको घोषणा गरेकी छिन् । ‘लेभल टु वाटर रेस्ट्रिक्सन्स’ भनिने दोस्रो दर्जाको उक्त आंशिक प्रतिबन्ध बृहत् सिड्नी, ब्लू माउण्टेन्स र इल्लावारा क्षेत्रका बासिन्दाहरू माथि लागू हुने जानकारी दिइएको छ ।

हाल न्यु साउथ वेल्स राज्यमा जुन १ देखि लागू गरिएको पानी प्रयोग सम्बन्धी पहिलो चरणको प्रतिबन्ध कायम छ । उक्त आंशिक प्रतिबन्ध लागु भएपछि सिड्नीवासीहरुले आफ्नो घर बाहिर ढलान गरिएका ठाउँहरूलाई पानीले सफा गर्नदेखि, सवारीसाधन धुन र आफ्ना बगैँचाहरुमा बिहान १० बजे देखि साँझ ४ बजेसम्म पानी हाल्न निषेध छ ।

राज्यकी जलश्रोत मन्त्री मेलिण्डा पेभीका अनुसार यसपटक सन् १९४० पछि सिड्नीका बाँधहरुमा सबैभन्दा कम मात्रामा पानी भण्डार भएका छन् ।

सिड्नी वाटरका पिटर ह्याडफिल्डका अनुसार यो दोस्रो दर्जाको आंशिक प्रतिबन्धले सर्वसाधारण र व्यापार÷व्यवसायहरूले घर र भवन बाहिर कसरी पानी प्रयोग गर्न पाउँछन् भनेर निर्धारण गरिदिनेछ ।

अब अस्ट्रेलियावासीका लागि पानी खपतकाे  सबैभन्दा महत्वपूर्ण र सजिलो भनेको चाहिँ नुहाउने अवधि घटाउने र अनावश्यक रूपमा ननुहाउने नै हो

‘अब सबैले आफ्नो बगैँचामा पानी हाल्न प्रयोग गरिरहेको पाइप र पानी छर्किने ‘स्प्रिङ्क्लर्स’ थन्काए हुन्छ’ उनले भने । ‘यो दर्जाको प्रतिबन्ध लागू भएको अवस्थामा तपाईंले आफ्नो बगैँचामा कि त बिहान १० बजे अगावै वा दिउसो ४ बजे पश्चात् मात्रै पानी हाल्न पाउनु हुनेछ । त्यो पनि, कि हजारी वा बाल्टिनमा पानी थापेर’ ।

उनले अगाडी भने ‘आफ्नो मोटर गाडी सफा गर्न पनि तपाईँ कि त व्यावसायिक रूपमा सवारीसाधन सफा गर्ने कहाँ जानुपर्छ नत्र भए बाल्टिनमा पानी भरेर सफा गर्नुपर्छ ’

उनका अनुसार सिड्नी वाटरका अधिकृतहरूद्वारा मानिसहरूले पानी प्रयोगबारेका नियमहरू पालना गरे वा नगरेको बारे अनुगमन सुरु गरिसकेका छन् । ‘पानीको प्रयोगमा लागू गरिएका प्रतिबन्धहरूको पालना नगरेको भेटिएमा व्यक्तिका हकमा २२० डलर र व्यापारर /व्यवसायका हकमा ५५० डलरसम्मको जरिवाना हुनसक्छ,’ पिटर ह्याडफिल्डले भने ।

भवन बाहिर पानी प्रयोग गर्ने व्यापार व्यवसायहरूले भने सिड्नी वाटरमा पानी प्रयोग गर्न छुट पाउँ भनेर निवेदन हाल्न सक्ने पनि बताइएको छ ।
आउँदा दिनहरूमा हुने पानी प्रयोगको मात्रा हेरेर थप प्रतिबन्ध लागू हुनसक्ने सिड्नी वाटरका पिटर ह्याडफिल्डको भनाई छ । उनका अनुसार, मानिसहरूले पानी फारु गरेर चलाए, थप प्रतिबन्ध लागू नगरिन सकिने पनि बताए ।

‘घरेलु रूपमा हुने कूल पानी प्रयोगको तीन चौथाइ हिस्सा घर भित्रै हुन्छ । पानी कम खर्च गर्न मानिसहरू धेरै उपायहरू अपनाउन सक्छन् भाँडा माझ्ने डीशवाशर र लुगा धुने वाशिंगमेशिन जस्ता पानी खपत गर्ने उपकरणहरू पुरा भरेर मात्र चलाउने, घर भित्र बाहिर चुहावट छ भने तत्काल मर्मत गर्ने अनि सबैभन्दा महत्वपूर्ण र सजिलो भनेको चाहिँ नुहाउने अवधि घटाउने र अनावश्यक रूपमा ननुहाउने नै हो’ ह्याडफिल्डले भने।

अस्ट्रेलियाभर नै खडेरी र अनावृष्टिको स्थिति विद्यमान भएता पनि हाल न्यु साउथ वेल्स बाहेक वेस्टर्न अस्ट्रेलियामा मात्र जल प्रयोग माथि केही प्रतिबन्ध लागू छ ।

उक्त राज्यमा लागु आंशिक प्रतिबन्ध अनुसार पर्थ र मंडूराहका बासिन्दाहरूले हप्तामा दुई दिन मात्र ‘स्प्रिङ्क्लर’ प्रयोग गर्न सक्छन् । यस कार्यका लागि बोरिङ गरिएको पानी प्रयोग गर्नेहरूका लागि भने एक दिन थप प्रदान गरिएको छ ।

यस भन्दा अघि, अक्टोबर महिनामा जारी एक रिपोर्टले दुर्गम न्यु साउथ वेल्सका केही सहरहरूका सबै पानीका स्रोतहरू आउँदा दिनहरूमा सुक्न सक्ने सम्भावना रहेको बताइएको थियो ।

राज्यमा नदी व्यवस्थापन र पानी आपूर्ति गराउने सरकारी निकाय वाटर एनएसडब्ल्युद्वारा प्रकाशित उक्त रिपोर्टले सन् २०२२ को जनवरी महिनासम्ममा सिड्नीमा पनि पिउने पानीको सङ्कट हुने अनुमान गरेको छ ।

स्रोत : SBS सिड्नी

(Visited 265 times, 1 visits today)
Loading comments...