आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

भगवान राम–सीताको विवाहमा यहिँको बाँसले मण्डप बनाइएको थियो

सुजीतकुमार झा
3 weeks ago
27/11/2019

जनकपुरधाम । मिथिलाञ्चलमा अहिले विवाहपञ्चमी महोत्सव धूमधामका साथ मनाइँदै छ । विवाहपञ्चमीमा पूरै मिथिलाञ्चलवासी झुमिरहेको समयमा माता जानकीको विवाहसँग सम्बन्धित अनेकौं ऐतिहासिक स्थलहरू अहिले ओझेलमा परेका छन् ।

तिनै स्थलहरूमध्ये एक हो बसहिया । स्थानीयका अनुसार सीता र भगवान् रामको त्रेतायुगमा विवाह हुँदा मण्डप निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिका–२४ मा रहेको बसहियाबाट बाँस काटेर लगिएको थियो । यो क्षेत्र प्राचीन समयमा बाँसैबाँसले भरिएको स्थल भएकाले कालान्तरमा यो क्षेत्रको नाम नै बसहिया रहन गएको हुन सक्ने अवकाश प्राप्त स्थानीय मुकेश झा बताउँछन् । प्राचीन समयमा बाँसैबाँसले भरिएको गाउँमा बस्ती विस्तार भएसँगै बाँससमेत नष्ट हुँदै गएको बताइन्छ ।

स्थानीयका अनुसार सीता र भगवान् रामको त्रेतायुगमा विवाह हुँदा मण्डप निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिका–२४ मा रहेको बसहियाबाट बाँस काटेर लगिएको थियो

अहिले त्यहाँ प्राचीन समयको केही तथ्य नरहे पनि बसहियामा अत्यधिक संख्यामा बाँसको रूख भने पाइन्छ । भगवान् रामले शिरध्वज जनकले राखेको शिवजीको धनुष भाँचेपछि माता सीतासँग विवाह भएको थियो । भगवान् रामसँगै उनका तीन भाइको विवाहसमेत राजर्षि जनकका अन्य तीन छोरीसँग भएको थियो । चारवटै युगल जोडीका लागि विवाह मण्डप निर्माणका लागि अत्यधिक मात्रामा बाँस आवश्यक परेपछि यहीँबाट बाँस काटेर लगिएको हुन सक्ने र सोही कारणले कालान्तरमा यो गाउँको नाम बसहिया रहन गएको कर्ण बताउँछन् ।

उनले भगवान् राम–जानकीको विवाहको अवसरमा खुसियाली मनाइरहँदा सोही विवाहसँग जोडिएको स्थल बसहियाको ऐतिहासिकता उजागर हुन नसकेकोमा दुःख व्यक्त गरे । बसहिया गाउँमा अहिले पनि माता सीताको मटकोरपछि बनाइएको वेदीस्थल सुरक्षित रहेको स्थानीय विजयशंकर शर्मा बताउँछन् ।

झट्ट हेर्दा खुला चौरजस्तै देखिने सो स्थलमा वेदी बनाइएको हुन सक्ने आधार त प्रमाणित हुँदैन, तर त्यहाँ माटो खन्दा अहिले पनि रातो माटो निस्कने गरेको दाबी गर्नेहरुको कमी छैन । शर्माका अनुसार सो स्थल सिन्दुरले रंगिएकाले माटो नै रातो भएको जनश्रुति रहेको पाइन्छ । जनकपुरधाम उपमहानगरपालिकामै माता जानकीको विवाहसँग जोडिएको स्थल बसहिया रहे पनि पर्यटकीय दृष्टिकोणले यस क्षेत्रको विकास गर्नका लागि कुनै निकायले गम्भीरता देखाउन नसकेको स्थानीयको आरोप छ ।

यस ठाउँमा सयौं वर्ष प्राचीन नरसिंह मन्दिर रहेको छ भने भगवान् राममाथि अनुसन्धान गरिरहेका भारतीय विद्वान् डा. रामावतारले आफ्नो ‘जहँ जहँ राम चरण चली जाहीँ’ नामक पुस्तकमा समेत बसहियाको चर्चा गरेको पाइन्छ । यो पुस्तकले भगवान् रामको चरण यो स्थलमा समेत परेको दाबी गरेको छ । डा. रामवतार शर्माको नेतृत्वमा रहेको शोधकर्ताहरूको टिमले भगवान् रामको चरण जहाँ जहाँ परेको थियो ती स्थलहरूको माटो संकलन गरेर बसहियास्थित नरसिंह मन्दिरमा भगवान् रामको प्रतीक पदचिह्न राखिएको छ । बसहिया सेनवंशी राजासँग जोडिएको स्थलसमेत रहेको पाइन्छ । मकवानी सेनवंशी राजा माणिक सेन बसहियामा बास बस्दै आएका एक साधुको शक्तिले प्रभावित भएर ७ सय ५० बिघा जग्गा बिर्तामा प्रदान गरेको जनश्रुति पनि छ ।

(Visited 58 times, 1 visits today)
Loading comments...