बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

कूटनीतिक उपस्थितिमा अमेरिकाभन्दा चीन अगाडि

एजेन्सी
2 months ago
27/11/2019

बेइजिङ ।  चीन आर्थिक विकाससँगै कूटनीतिक उपस्थितिमा पनि अमेरिकालाई पछि पार्न सफल भएको एक अध्ययनले देखएको छ । एक अस्ट्रलियाली संस्थाले पहिलो पटक चीनको संसारमा सबैभन्दा धेरै कूटनीतिक उपस्थिति भएको जनाएको छ ।

लोयी इन्स्टिच्युटका अनुसार सन् २०१९ मा संसारभर चीनको राजदूतावास र अन्य कूटनीतिक कार्यालयहरूको संख्या २ सय ७६ पुगेको छ । यो संख्या अमेरिकाको भन्दा बढी हो । अमेरिकाको संसारभर २ सय ७३ वटा त्यस्ता कार्यालय छन् भने त्यसपछि क्रमशः फ्रान्स, जापान र रुस कूटनीतिक कार्यालय स्थापनामा अगाडि रहेका छन् । बेलायत भने कूनीतिक उपस्थितिका हिसाबले ११ औं स्थानमा पर्छ ।

सो प्रतिवेदनमा राजदूतावास, उच्च आयोग र वाणिज्य दूतावासहरू गणना गरिएका छन् । यसका अध्ययनकर्ताहरूले यो अंकले भूराजनीतिक पहुँचको शक्ति र कमजोरी देखाउने बताएका छन् । चीनको कूटनीतिक उपस्थिति हालैका वर्षहरूमा तीव्र गतिमा बढेको हो । सन् २०१६ मा अमेरिका र फ्रान्सपछि तेस्रो स्थानमा रहेको चीन सन् २०१७ मा दोस्रो स्थानमा पुगेको थियो ।

अमेरिकाको पनि सन् २०१६ यता दुई स्थानमा कूटनीतिक उपस्थिति थपिएको छ । बेलायतको भने यो अवधिमा कूटनीतिक उपस्थिति कम भएको छ । सन् २०१६ मा २ सय १६ स्थानमा कूटनीतिक उपस्थितिद रहेको बेलायतको अहिले २ सय ५ स्थानमा मात्रै उपस्थिति छ ।

दक्षिण एशियाली मुलुकहरूमा भने सबैभन्दा बढी कूटनीतिक उपस्थिति भारतको छ । उसका विश्वमा १८६ स्थानमा कुटनीति कार्यालय छन् । पाकिस्तानको ११७ स्थानमा, बंगलादेशको ७५ र श्रीलंकाको ६७ स्थानमा कूटनीतिक उपस्थिति छ । प्रतिवेदनअनुसार नेपालको ३९ स्थानमा कूटनीतिक उपस्थिति छ । सन् २०१६ पछि नेपालको तीन स्थानमा कूटनीतिक उपस्थिति थपिएको छ ।

(Visited 36 times, 1 visits today)
Loading comments...