आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

अर्घाखाँचीमा बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो, आठ जनाको सनाखत

राजधानी समाचारदाता
2 weeks ago
27/11/2019

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृतकको संख्या १९ पुगेको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

मृतकमध्ये आठ जनाको सनाखत भएको छ । सनाखत हुनेमा बस चालक कपिलवस्तुका ओमबहादुर थापा र सशस्त्र प्रहरी बल ५ नम्बर बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत रहेका छन् ।

यसैगरी, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी, मुनिका खड्का, भूमिकास्थान नगरपालिका ९ का शैलेश थापा, सतगंगा नगरपालिका २ का शान्तबहादुर बस्नेत रहेका छन् ।

सन्धिखर्कबाट बुटवलका लागि दिउँसो साढे १ बजे छुटेकोे लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा १७ जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले जानकारी दिए । मृत्यु हुनेमा १२ पुरुष र सात महिला रहेका छन् ।

घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताए ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् । चिसो ठाउँ, पहिरो र जंगलमा दुर्घटना भएको तथा रात पनि परिसकेकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

बस सडकबाट झन्डै तीन सय मिटर तल खसेको छ । दाहिने मोड काट्ने क्रममा मोड नकटेर बस सडकबाट तल खसेर दुर्घटना भएको सहायक प्रमुख जिल्ला अधिकारी बेल्वासे बताए । चिप्लो बाटोमा मोड काट्ने क्रममका ब्रेक नलागेर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

(Visited 1,314 times, 1 visits today)
Loading comments...