आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

निम्तो सूर्योदयको

युवराज गौतम
2 weeks ago
30/11/2019

हरियो, भरियो इलामलाई देख्दा मलाई नेपालभरि अलिअलि इलाम छर्न मन लाग्यो ।
– कवि भूपि शेरचन

इलाम नकुँदिएको हीरा हो, यसलाई कुद्न शिल्पी सीप र जाँगरको खाँचो छ ।
– इतिहासकार युद्धप्रसाद वैद्य

यी दुई स्रष्टाको हरफमा मात्र होइन दर्जनौं गीतमा इलाम गुन्जिन्छ । जो कोही साहित्यकार वा कलाकार चियाबारीको थुम्कोमा उभिएपछि डायरीमा सिर्जना उतारिहाल्छन् ।

वास्तवमा यो सुन्दर प्रकृति देखेर आममानिसको मन पग्लिन्छ । ‘ग्रिन कार्पेट’ अर्थात् डाँडाभरि सुन्दर चियाबारी, सुसाइरहेका सल्ला, नागबेली सडक, लाप्चाहरूको गर्भिलो इतिहास, स्वच्छ हावापानी र रमाइला गाउँलेसँग रमाउन इलामले सबैलाई तान्छ । त्यति मात्र होइन हनिमुन मनाउन र प्रेम जोडीहरू चियाबारीमा हराउन इलाम नै पुग्छन् । प्रकृतिप्रेमी सुस्केरा हाल्न हरिया डाँडातिर उक्लिन्छन् । नेपाललाई पहिलोपटक स्पर्स गर्ने सूर्योदयको दृश्य नियाल्न मानिस अन्तुडाँडातिर सोझिन्छन् ।

नेपाललाई प्रकृतिक रूपमा प्रसिद्धि दिलाउने यस्तै ठाउँमध्येको एक हो इलामको सूर्योदय नगरपालिका । जहाँ प्रेमिल जोडीदेखि, चिया पारखी र प्रकृतिप्रेमीहरू सूर्योदयका गन्तव्य फन्को लगाउँदा स्वर्गीय आनन्दको अनुभूति गर्छन् । वास्तवमा यही सुरम्य गन्तव्यले वार्षिक करिब ३ लाख पर्यटकलाई भुलाइरहेको छ ।

यस वर्ष प्रथम महोत्सवमार्फत विश्वभरका पर्यटकलाई निम्तो दिँदै छ । यही मंसिर १४ देखि १८ गतेसम्म महोत्सवको रमझम हुनेछ । नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन र नगरभित्र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिएका छन् ।

पश्चिम बंगालको दार्जिलिङ प्रवेशद्वार पनि हो सूर्योदय नगर । इलामका सबै पर्यटकीयस्थलको भ्रमण प्याकेज बनाउँदा सूर्योदयकै द्वारबाट प्रवेश गर्नुपर्छ । इलामको ‘आइटिनेरी’मा सूर्योदयका प्वाइन्ट नसमेटे प्याकेज अपूरो हुन्छ । कन्याम होस् वा श्रीअन्तु अनि माइपोखरी, सन्दकपुर नै होस् वा भारतको दार्जिलिङ र मिरिक नै किन नहोस् सबैको प्रवेशद्वार सूर्योदय नगरपालिका नै हो । सरकारले विकास गर्नुपर्ने सय पर्यटन गन्तव्यको सूचीमा सूर्योदय समेटिएको छ ।

समुद्री सतहबाट ६ सय ४० देखि १८ सय ४० मिटरको उचाइमा अवस्थित सूर्योदय नपा सदरमुकाम इलामबजारदेखि ३७ किलोमिटर दक्षिणमा छ । झापाको चारआलीबाट ४० किलोमिटर हुइँकिएपछि सूर्योदय नपाको मैदानमा टेक्न सकिन्छ । यहाँका करिब ९० प्रतिशतभन्दा बढी जनता कृषिमा आधारित छन् । त्यसमध्ये चियाखेती धेरैले रोजेका छन् । यसले कृषि पर्यटनका लागि यो क्षेत्र उत्कृष्ट मानिन्छ ।

इलामलाई आकर्षक गन्तव्य बनाउन सूर्योदयको उल्लेख्य भूमिका छ । आठ ‘अ’ (अदुवा, अम्लिसो, ओलन, अर्थोडक्स चिया, अकबरे, आलु, अलैंची, अतिथि सत्कार)का अलावा अर्किड, अतिथि सत्कारका लागि मात्र नभई पर्यटन प्रवेशद्वारका रूपमा सूर्योदयले ख्याति कमाएको छ ।
सूर्योदय नगरपालिका प्रमुख नगरपालिकालाई प्रांगारिक कृषि, पर्यापर्यटन र आर्थिक समानताको अवधारणाका रूपमा विकास गर्दै लगिएकाले सूर्योदयले बेग्दै परिचय बनाएको बताउँछन् । घरि बादल, घरि घामको किरणले सूर्योदयका सबै डाँडा झलमल्ल देखिन्छन् । जाडोमा न त अत्यधिक जाडो हुन्छ न त गर्मीमा पसिना आउने गर्मी नै हुन्छ । त्यसैले तराई मधेसबाट गर्मी छल्न सूर्योदयतिर उक्लिनेहरू प्रशस्त भेटिन्छन् ।
सीमित संख्यामा रहेका नेवारी समुदायको संस्कार र संस्कृति यहाँको नौलो परिचय हो । सूर्योदय–९ का वडाध्यक्ष देवेन्द्र शर्माका अनुसार भुटान, बंगलादेश र भारतबाट एकैदिनभित्रमै सूर्योदयको भूमि टेक्न पाइने भएकाले छिमेकी देशका पर्यटकका लागि आकर्षक प्याकेज तयार गरिएको छ ।

सूर्योदयको भूमिमा पाइला टेकिसकेपछि समय बितेको पत्तो हुँदैन । फिक्कलको दक्षिणमा पर्ने कन्यामको चियाबारी पुगेपछि घुमन्तेहरू घुमेर अघाउँदैनन् । यहाँ पुगेपछि पर्यटक हर्कटे बजारमा पुगेर किनमेल गर्न र होटलमा बसेर गफिन सक्छन् । हुरहुरे भन्ञ्याङको पिकनिक स्पट, नजिकैको लभडाँडा, निर्माणाधीन शहीद स्मृति पार्क, चिया कारखाना यहाँका घुम्न लायक स्थान हुन् ।

यहाँका डाँडामा घन्टौं समय बिताउँदा पर्यटकलाई

पट्यार लाग्दैन । घोडचढी यहाँको प्रमुख आकर्षणका रूपमा विकास हुँदै गएको छ । जातीय पहिरन लगाएर चियाबारीमा फोटो खिच्न खुबै मजा आउँछ । घोडा चढेर तस्बिर कैद गर्दा पर्यटक आनन्द मान्छन् । मिर्मिरे डाँडामा उक्लिएर बिहानको झिसमिसेमा सूर्योदय हेर्न बेग्लै आनन्द आउँछ । अर्को गन्तव्य सुन्दरेपानी पनि हो । फिक्कल बजारबाट करिब २ किलोमिटर टाढा रहेको यस स्थानमा योल्मु तथा राई समुदायको संस्कृति हेर्न र घरेलु हातेचियाको स्वाद लिँदै पर्यटक रमाउन सक्छन् ।

उता, पञ्चकन्या देवी दर्शन र करफोक सल्लाघारीको फन्को लगाउन पाइन्छ । मन्दिरनजिकै रहेको पहाडमा खनिएको गहिरो इनारले पर्यटकलाई थप भुलाउन सहयोग पु¥याउँछ । स्वामी पार्कमा रमाउँदा बेग्लै आनन्द आउँछ । लाप्चा र योल्मु गुम्बा यहाँका धरोधर हुन् । यहाँ पुगेर शान्तसँग ध्यान गर्न खुबै मजा आउँछ । कृष्ण प्रणामी समुदाय प्रणामी मन्दिरको दर्शन गर्नेहरूका लागि फिक्कलमा दुई र मेहेलबोटेमा सुविधासम्पन्न मन्दिर छन् । प्रणामी समुदायका आस्थाका धरोहर मंगलदास गुरुजीको जन्मस्थल मेहेलबोटे पवित्रभूमि पनि हो ।

सूर्योदय नगरको डाक्टरखोलानजिकै पर्ने सिमपानी क्षेत्र खुबै मनोरम स्थलभित्र पर्छ । डाँडाभरि चियाबारी, रमाइलो खेलमैदान, सानो पोखरी सिमपानीको आकर्षण हो । यहाँ पुगेर पर्यटकले घन्टौं बिताउन सक्छन् । नजिकै रहेको चिया कारखानाको भ्रमण गरेर चिया प्रशोधनको प्रक्रिया बुझ्न पर्यटकलाई सजिलो हुन्छ ।

करफोक स्वामी सोमेश्वरानन्दले तपस्या गरेको स्थान हो । स्वामीकै इतिहास बुझ्न धेरै विद्यार्थी करफोक पुग्ने गर्छन् । त्यसबाहेक यहाँको हावापानी र सल्लाघारीभित्र हाइकिङ गर्न खुबै मजा आउँछ । यहाँको वनमा यतिबेला स्वामी पार्कको अवधारणाअनुरूप पार्क निर्माण भइरहेको छ ।
ऐतिहासिक महŒव बोकेको गोर्खे बजार रेड पान्डा ट्रेलका रूपमा विकसित भइरहेको छ । मयुँ खोला तरेर बजार पुगेपछिका अग्ला पहाडमा फैलिएको जंगलमा विश्वकै दुर्लभ जन्तु रेडपान्डा अवलोकन गर्न विदेशीहरू पुगिरहन्छन् । खोलाछेउमा रहेको खोलेबाबाको कुटी जापानी नागरिकको आस्थाको केन्द्र पनि भएकाले जापानी नागरिक यहाँ आइरन्छन् ।

गोर्खेबाट नै पुग्न सकिने चित्रे गुम्बा, थामी जातीको भूमे थान, सिंहदेवी मन्दिर, थुम्केडाँडा नयाँ गन्तव्य हुन् । फिक्कल बजारबाट १५ किलोमिटर हुइँकिएपछि गोर्खे पुगिन्छ ।

हटिया र किनमेल

सूर्योदय नगरभित्रको प्रमुख व्यापारिक केन्द्रमा प्रत्येक बिहीबार लाग्ने हटिया पर्यटकलाई भुलाउने माध्यम हो । बजारमा किनमेल गर्न जोकोही पर्यटक एक पटक फन्को लगाउन रुचाउँछन् । त्यस बाहेक पाँचथर, ताप्लेजुङ, सिक्किम दार्जिलिङ घुम्न आउने पर्यटक फिक्कललाई सपिङको केन्द्रबिन्दु नै बनाउँछन् । त्यसैले फिक्ललबजार हटिया भर्न र कोसेली किनमेल गर्न पर्यटकका लागि भरपर्दो गन्तव्य हो ।
ललिपप, छुर्पी, बम्बइसन, चियापत्तीलगायतका खाद्य सामग्री सूर्योदय नगरको कोसेलीका रूपमा पर्यटकले किनमेल गर्न सक्छन् । पशुपतिनगर चाइना उत्पादनका सामग्री किनमेल गर्न अब्बल सपिङ गन्तव्य हो । दार्जिलिङ, सिक्किम, मिरिक घुम्न जान पशुपति नाका पार गर्नैपर्छ ।

बस्नेखाने सुविधा

सूर्योदय नगरभित्र लगभग सयवटा जति साना ठूला होटल सञ्चालित छन् । तीनवटा रिर्सोट खुलेका छन् । अन्तु, सुन्दरपानीलगायत स्थानमा होमस्टे छन् । एकदिनमा ३ हजार ८ सय पर्यटक बास बस्नलाई समस्या छैन । ५ सय रुपैयाँदेखि ४÷५ हजार रुपैयाँसम्मका कोठा होटल र रिर्सोटमा छन् । मौलिक परिकारको स्वाद लिनका लागि यहाँ अधिकांश रेस्टुरेन्टले मेनु तयार पारेका छन् ।

उत्सवमा अवसर
प्रदेश सरकारले घोषणा गरेको प्रदेश १ को एक मात्र पर्यटकीय नगर र संघीय सरकारले घोषणा गरेको सय प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने नगर हो सूर्योदय । यसपटकको महोत्सवमा कन्याम, श्रीअन्तु, फिक्कल, पञ्चकन्या, पशुपतिनगरलगायत स्थानमा मौलिक परिकारसहितको फुड फेस्टिबल, सांस्कृतिक कार्यक्रम, चंगाचेट, घोडाको सौन्दर्य प्रतियोगिता, एतिहासिक गोर्दे मेला, फोटो प्रर्दशनीजस्ता कार्यक्रम तय भएका छन् ।
टी टेस्टिङ, डम्फु नाच, लाप्चा दरबार अवलोकन, रेड पान्डा ट्रेल, देउराली हाइक, साइकल दौड महोत्सवका मुख्य आकर्षण रहेको वडाध्यक्ष देवेन्द्र शर्माको भनाइ छ ।

(Visited 30 times, 1 visits today)
Loading comments...