आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

२० वर्षपछि नेपाल फर्केको साग

रामसूदन तिमल्सिना
2 weeks ago
01/12/2019

काठमाडौं, १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आइतबारबाट सुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दशरथ रंगशालमा रंगीन र भव्य समारोहबीच १३औं सागको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । प्रथम दक्षिण एसियाली गेम्स १९८४ मा पहिलोपटक काठमाडौंबाट सुरु भएको थियो । त्यसपछि नेपालले १९९९ मा आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना
गरेको थियो ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनारले सागको सम्पूर्ण तयारी पूरा भएको बताए । ‘रातभरि काम गरेर भए पनि हामीले सागका लागि सम्पूर्ण भौतिक पूर्वाधार तयार गरेका छौं,’ उनले भने ।

नेपालले तेस्रोपटक गर्न लागेको साग अघिल्लोभन्दा भव्य रूपमा सम्पन्न गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवालले बताए । ‘उद्घाटन समारोह रंगिन हुनेछ । यो १९९९ को भन्दा भव्य हुने छ,’ उनले भने, ‘१३औं सागको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल सहभागी देशहरूलाई स्वागत गर्न पाउँदा उत्साहित छ ।’

१३औं सागमा खेलाडी, प्रशिक्षक, म्यानेजर तथा खेलप्रेमी गरी ५ हजारको सहभागिता रहने सिलवालले बताए । बिच भलिबल र थ्री अन थ्री बास्केटबल गरी २८ खेलमा प्रतिस्पर्धा हुनेछ । काठमाडौं, पोखरा र जनकपुरका २९ खेलस्थलमा प्रतियोगिता हुनेछ । पोखरामा महिला फुटबल, महिला क्रिकेट, आर्चरी, ब्याडमिन्टन, ह्यान्डबल, ट्रायथल, बिच भलिबल भने जनकपुरमा कुस्ती मात्र हुनेछ । अन्य खेलहरू काठमाडौंमा सञ्चालन हुनेछ । भलिबल भने उद्घाटन समारोहअघि नै सुरु भइसकेको छ । जसमा पुरुषतर्फ नेपाल समूह चरणबाट नै बाहिरिसकेको छ । २० वर्ष अघि जम्मा १२ खेल समावेश गरी आठौं सागको आयोजना गरिएको थियो । कुल ३२४ स्वर्ण, ३ सय ३२४ रजत र ४ सय ८७ कांस्य गरी कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुने राखेपले जनाएको छ ।

पुनः २० वर्षपछि नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर पाएकाले यसलाई ऐतिहासिक बनाइने गरी सबै तयारी पूरा गरिएको सदस्य–सचिव सिलवालले बताए । उद्घाटन समारोहका लागि दशरथ रंगशालालाई बेहुलीझैं सिँगारिएको छ । ‘उद्घाटन समारोहमा १५ हजारले प्रदर्शनी गर्नेछन् । ३ घन्टा १४ मिनेटको उद्घाटन समारोह हुनेछ,’ सिलवालले भने । सागलाई नेपालले पर्यटन वर्ष २०२० को सफलताका लागि महŒवपूर्ण इभेन्टका रूपमा समेत हेरिएको बताइएको छ । सन् २०१५ को महाभूकम्पका कारण खेलकुदका संरचनामा क्षति भएका कारण नेपालले निर्धारित समयभन्दा केही ढिला सागको आयोजना गरेको हो । अब २०२२ मा श्रीलंकाको कोलम्बो र माल्दिभ्सको मालेमा १४औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आयोजना हुने निश्चित भएको छ । संयुक्त रूपमा प्रतियोगिता आयोजना पहिलोपटक हुन लागेको हो ।

(Visited 1,986 times, 1 visits today)
Loading comments...