आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

साइबेरियामा १८ हजार वर्ष पुरानो कुकुर

एजेन्सी
2 weeks ago
01/12/2019

मस्को । रुसको साइबेरियामा फेला परेको १८ हजार वर्ष पुरानो छाउरो कुकुर हो या ब्वाँसो भन्ने विषयमा अध्ययनकर्ताहरू नै अलमलमा परेका छन् । रूसको सबैभन्दा चिसो स्थानमा मृत्यु हुँदा दुई महिनाको रहेको छाउरोको शरीरमा रौं, नाक र दाँत अहिले पनि जस्ताको तस्तै देखिन्छ ।

सो छाउरोको डीएनए परीक्षणबाट समेत यसको प्रजाति छुट्याउन नसकिएको बताइएको छ । वैज्ञानिकहरूले हिउँका कारण नकुहिएको जीव ब्वाँसो र कुकुरबीचको सम्बन्धको प्रतिबिम्ब हुनसक्ने बताएका छन् ।

रेडिओकार्बन प्रविधिबाट छाउरोको मृत्यु हुँदाको उमेर र कति समय यो हिउँमा रह्यो भन्ने कुरा पत्ता लागेको हो । छाउरो भाले भएको पनि पत्ता लागेको छ । स्वीडेनका अध्ययनकर्ता डेभ स्टान्टनले सीएनएनलाई डीएनए परीक्षणमा देखिएको अन्यौलले यो छाउरो कुकुर र ब्वाँसो दुवै प्रजातिको साझा पुर्खा प्रजातिको हुनसक्ने बताएका छन् ।
अर्का अध्ययनकर्ता लभ डालेनले त्यो ब्वाँसोको छाउरो हो या हालसम्म भेटिएको सबैभन्दा बूढो कुकुर भन्ने प्रश्न गर्दै ट्वीट गरेका छन् । वैज्ञानिकहरूको सो जीव के थियो भन्ने पत्ता लगाउन डीएनएको परीक्षण जारी राख्ने बताएका छन् । त्यो मृत छाउरोलाई डगर नाम दिइएको छ जसको अर्थ स्थानीय भाषामा ‘साथी’ भन्ने हुन्छ ।

कुकुरहरू ब्वाँसोको पुस्ता भएको मानिएपनि कहिलेदेखि यसलाई घरपालुवा बनाइयो भन्ने विषयमा अनुसन्धानकर्ताहरुबीच नै एकमत छैन । सन् २०१७ मा प्रकाशित एक अध्ययनले २० देखि ४० हजार वर्ष पहिले ब्वाँसोलाई घरपालुवा बनाउन थालिएको दाबी गरेको छ ।

(Visited 42 times, 1 visits today)
Loading comments...