आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

१३औं साग र स्वर्णपदकको अपेक्षा

राजधानी समाचारदाता
2 weeks ago
02/12/2019

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आइतबार अपराह्न दशरथ रंगशालमा रंगीन र भव्य समारोहबीच १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को समुद्घाटन भएपछि काठमाडौं सागमय भएको छ । आतसबाजीका साथ उद्घाटित कार्यक्रमले खेलाडी तथा दर्शकहरूमा अद्भूत रौनक ल्याएको छ । देशभरका खेलप्रेमीहरू यसको आकर्षणका साथ नेपालले जित्न सक्ने खेलको गणना गर्दै औंला भाँचेर पदक गणना गर्दै तर्कवितर्क गर्न थालेका छन् । आफ्नै घरेलु मैदानमा भइरहेको खेलमा धरै पदक हात पार्न नेपाली खेलाडीमाथि दबाब बढ्न थालेको छ । उद्घाटनको दिनबाट लगातार १० दिनसम्म चल्ने यो खेलमा सात सहभागी देशका ३ हजारभन्दा बढी खेलाडीले भाग लिँदै छन् । साग गेमका लागि ३२४ स्वर्ण र उत्तिकै संख्यामा रजतसहित ११ सयभन्दा बढी पदकको व्यवस्था गरिएको छ । खेलमा महिला तथा पुरुषका लागि भिन्नभिन्न विधामा प्रतिस्पर्धा गराइनेछ । यस प्रतियोगितामा आयोजक राष्ट्र नेपालका सबैभन्दा बढी ५९४ खेलाडीले भाग लिने भएका छन् ।

गेम सम्पन्न गर्नका लागि आवश्यक मैदान तथा भौतिक संरचना रातारात तयार गरी उद्घाटनका बखत दशरथ रंगशाला दुलहीझैं सिंगारिएको छ । यसका साथै खेलमा भाग लिने नेपाली खेलाडीतर्फबाट तयारी पनि अघिल्ला साग गेममा भन्दा राम्रो गरी गरिएको छ । विभिन्न विधामा प्रतिस्पर्धा गर्नका लागि आन्तरिक प्रतिस्पर्धाबाट छनोट गरिएका खेलाडीलाई चार महिना बन्द प्रशिक्षणमा राखेर कोचिङ गरिएको छ । खेलका २१ विभिन्न विधाहरूमा प्रतिस्पर्धामा उत्रने खेलाडीहरूलाई विदेशमा पठाएर प्रशिक्षणसमेत दिइएको छ । कतिपय खेलका लागि स्वदेशमै विदेशी प्रशिक्षक झिकाएर प्रशिक्षणसमेत दिलाइएकाले प्रतिस्पर्धा सोचेभन्दा उच्च रहने विश्वास पनि लिएको देखिन्छ । यी सबै कुरालाई हेर्दा नेपालले भाग लिने भनिएका सबै खेलको तयारी सन्तोषजनक रहेको महसुस हुन्छ । सरकारले पनि सबै प्रकारका तयारीलाई समयमा नै सम्पन्न गराएर ऐतिहासिक सफलता हासिल गरेको छ ।

विगतलाई हे¥यौं भने पनि नेपालले भाग लिएका खेलहरूमा स्वर्णपदक हात पार्दै आएको छ । सन् १९८४ मा पहिलोपटक साग गेमको आयोजक हुँदा जम्मा पाँच खेलमा मात्र भाग लिएको नेपालले चार स्वर्णपदक हात पारेको थियो । आठौं सागको आयोजक राष्ट्रका रूपमा सन् १९९९ मा फेरि पनि नेपालले मौका पाउँदा दोस्रो पदक तालिकामा रही नेपाली खेलाडीले आफ्नै घरेलु मैदानमा ३१ स्वर्ण हात पारेका थिए । त्यतिबेला नेपालले तेक्वान्दो र कराँतेमा १४÷१४ स्वर्ण हात पारेको थियो । अहिले नेपालले आयोजक राष्ट्रका रूपमा छनोट गर्न पाउने सुविधाअनुसार छनोट गरेको पाराग्लाइडिङ खेलमा नियमअनुसार संख्यात्मक हिसाबले चारवटा प्रतिस्पर्धी देश पुग्न नसक्नुका कारणले उक्त खेल प्रतिस्पर्धाबाट हटाइएको छ । तथापि, नेपालले यसपटक पाएको १३औं साग गेमको आयोजक राष्ट्रका हैयितले ५० भन्दा बढी स्वर्ण पदक हात पार्ने अपेक्षा गरेकोमा यसलाई अन्यथा लिन सकिँदैन ।

समयाभाव रहँदारहँदै पनि सबै तयारी गरिसकेको आयोजक राष्ट्र नेपालले गेमको सहजता र समयसीमालाई मध्यनजर गरी दशरथ रंगशाला, पोखरा रंगशाला र जनकपुर गरी तीन ठाउँमा साग गेम खेलाउने गरी व्यवस्थापन गरेको छ । २०७२ सालको महाभूकम्प गएका कारण दशरथरंगशाला जीर्ण नभएको भए नेपाली खेलाडीले आफ्नै खेल मैदानमा थुुप्रैपटक रिहर्सल गरी तयारीलाई भव्य बनाउने थिए । यो मौका गुमाए पनि नेपाली खेलाडीलाई साथ रहने हजारौं दर्शकको साथ, सहयोग र प्रेरणाले ठूलो सफलता हासिल गर्न मद्दत गर्नेमा दुविधा छैन । नेपाली खेलाडीलाई ठूलो आत्मविश्वास पलाउन सकोस् र सरकारले पनि निरन्तर त्यस्तो वातावरण बनाउँदै जान सक्नुपर्छ ।

(Visited 16 times, 1 visits today)
Loading comments...